नेपालगन्ज भन्सार कार्यालय एकीकृत जाँच चौकी (आइसीपी) अन्तर्गत सञ्चालन भएपछि भन्सार असुली बढ्ने अपेक्षा गरिएको थियो । सुविधा सम्पन्न आइसीपी सञ्चालन भएपछि आयात, निर्यात नेपालगन्जबाट बढ्ने अपेक्षा गरिएपनि असुलीको तथ्यांक उत्साहजनक छैन । बार्षिक असुलीको लक्ष्य हेर्ने हो भने असुली निराशाजनक देखिन्छ ।
नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत पूर्ण प्रसाद लम्सालले आयात, निर्यात बढेमात्रै भन्सार राजश्व असुली बढ्ने बताए ।
नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आ.व.को ६ महिनामा लक्ष्यको आधा भन्दा निकै कम भन्सार राजश्व असुली भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले चालु आ.व.का लागि कुल २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार लक्ष्य निर्धारण गरेकोमा आधा समय बित्दा ३४.२८ प्रतिशत अर्थात् ९ अर्ब ३१ करोड ६१ लाख ६६ हजार मात्रै असुली गर्न सफल भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको मासिक लक्ष्य समेत कुनै महिना हासिल गरेको छैन । गत साउन महिनामा नेपालगन्ज भन्सार कार्यालयले २ अर्ब ४ करोड १४ लाख ६६ हजार लक्ष्य निर्धारण गरेकोमा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार, भाद्रमा २ अर्ब २३ करोड ७४ लाख ४० हजार लक्ष्य निर्धारण भएकोमा १ अर्ब ४९ करोड ५ लाख २० हजार, असोजमा २ अर्ब ११ करोड १७ लाख ९३ हजार लक्ष्य निर्धारण भएकोमा १ अर्ब ४१ करोड २९ लाख ४२ हजार, कार्तिकमा २ अर्ब १८ करोड २५ लाख ६२ हजार लक्ष्य निर्धारण भएकोमा असुली १ अर्ब ६६ करोड ८३ लाख ७ हजार असुली भएको छ ।
त्यस्तै, मंसिरमा २ अर्ब १५ करोड ८० लाख २५ हजार लक्ष्य निर्धारण भएकोमा १ अर्ब ६४ करोड ५८ लाख ३० हजार र पुस महिनामा २ अर्ब २४ करोड १५ लाख ६२ हजार लक्ष्य निर्धारण भएकोमा १ अर्ब ५९ करोड ४७ लाख ३३ हजार असुली भएको छ ।
नेपालगन्ज भन्सारले साउनमा लक्ष्यको ७३.७७, भदौमा ६६.६२, असोजमा ६६.९१, कार्तिकमा ७६.४४, मंसिरमा ७६.२७ र पुसमा ७१.१५ प्रतिशत मात्रै लक्ष्य अनुसार राजश्व असुली गरेको हो । नेपालगन्ज भन्सार कार्यालयले पुस मसान्तसम्म गत आर्थिक बर्षको मासिक लक्ष्यको तुलनामा असोज महिना बाहेक तुलनात्मक असुली बढी गरेको छ ।
नेपालगन्ज भन्सार कार्यालयबाट हुने आयात निर्यात घाटा ९६.७ प्रतिशत रहेको छ । नेपालगन्ज भन्सारबाट पुस मसान्तसम्म कुल ३५ अर्ब २७ करोड ६५ लाख ८ हजारको आयात हुँदा निर्यात भने १ अर्ब १६ करोड ३९ लाख १२ हजार मात्रै भएको छ ।
नेपालगन्ज भन्सार कार्यालय भारतसँग सीमा जोडिएको नेपालगन्ज–१६ जयसपुरमा रहेको छ । वि.सं.२०१३ सालमा स्थापना भएको नेपालगन्ज भन्सारबाट पैठारी हुने मुख्य बस्तुहरूमा पेट्रेलियम पदार्थ, सिमेन्ट, तोरी, चिनी, चामल, पत्थरकोइला, कपडा, मोटर पाटर्स आदि पर्दछन् भने तेस्रो मुलुकवाट अल्मोनियम स्के्रप, कपर स्क्रेप, प्लाष्टिक दाना लगायतका बस्तुहरू पैठारी हुन्छन् । भारत निकासी हुने बस्तुहरूमा खयर कत्था, कच्छ, जडिबुटि, अदुवा, सुठो आदि पर्दछन् भने तेश्रो मुलुक निकासी हुने बस्तुहरू गहुँको पीठो, टिमुर, रिठा, जटामसी मार्क आदि रहेका छन् ।
छोटी भन्सार नहुँदा राजश्व छली मौलाउँदै
जिल्ला प्रहरी कार्यालय बाँकेले गत पुसमा १२ लाख ९४ हजार १ सय ५८ हजार मूल्य बराबरको मालसामान भन्सार छलेर ल्याएपछि नियन्त्रणमा लिई भन्सार दाखिला गर्यो ।
गत मंसिरमा पनि प्रहरीले ९ लाख ३३ हजार ७ सय ६० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरी भन्सार बुझाएको थियो । सशस्त्र प्रहरीले पनि भन्सार छलीको सामान बरामद गर्दै भन्सार दाखिला गर्दै आएको छ ।
मुख्य नाकामा फितलो नियमन र खुला सीमाका कारण भित्री नाकाबाट निर्वाध भित्रिने मालसामानले ठूलो मात्रामा संकलन हुन सक्ने भन्सार राजश्व संकलन हुन सकिरहेको छैन । त्यसको कारण सीमामा निगरानी कमजोर हुनु र जिल्लामा रहेका छोटी भन्सार बन्द हुनु हो ।
नेपालगन्ज भन्सार कार्यालय अन्तर्गत ७ वटा छोटी भन्सार कार्यालयहरू रहेका थिए । विभिन्न कारणले हटाइएका छोटी भन्सारहरू अझै पुनस्र्थापित हुन सकेका
छैनन् । जसले गर्दा अवैध रूपमा मालसामान निर्बाध भित्रिने
गरेका छन् । खुला सीमा भएकाले भित्री नाकाहरूमा छोटी भन्सार आवश्यकताको महसुस व्यवसायी र भन्सार सम्बद्ध अधिकारीहरूले नै गर्दै आएपनि बन्द भएको बर्षौसम्म सञ्चालनको ठोस पहल भएको पाइँदैन ।
छोटी भन्सारबाट ठूलो परिणाममा राजश्व असुलीको व्यवस्था नभएकाले ठूला सामानहरू मुख्य नाकाबाट आउने भन्सार अधिकारीहरू
बताउँछन् । तर, अन्य नाकाहरूबाट दैनिक स–सानो परिणाममा ठूलो परिणाममा मालसामा भित्रिने गरेका छन् ।