केही वर्ष पहिला सर्ने रोगहरूका बारेमा मात्रै हुने गन्थन पछिल्लो पटक नसर्ने रोगहरूमा सरेको छ । प्रविधिको विकास एवंम सर्ने रोगहरूका बारेमा मात्रै चर्चा हुदाँ समाजमा नसर्ने रोग व्याप्त भएको हो । बाँकेको नेपालगन्जमा मंगलबार आयोजित महेन्द्र बहुमूखि क्याम्पस नेपालगन्जका प्राध्यापकहरूको स्वास्थ परिक्षण तथा नसर्ने रोगका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सो कुरा उठान भएको हो ।
जनस्वास्थ्य कार्यालय बाँकेद्वारा आयोजना गरिएको नसर्ने रोगका बारेमा गरिएको अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यालय प्रमुख सुनिता पौडेलले भनिन्, ‘पछिल्लो समय नसर्ने रोगहरूको अवस्था निकै डरलाग्दो रहेको छ, नसर्ने रोगहरूलाई आजको भोली नै उपचार गर्ने सकिदैन, कतिपय नसर्ने रोगहरूका बारेमा जानकारी नभै अकालमा मृत्यु हुने गरेको समेत हामीले पाउँछौ ।’
प्रमुख पौडेलले भनिन्, ‘जसरी हामीले कोभिडलाई भयाभव रोग भनेर परिभाषित गरेका थियौ, नसर्ने रोगको अवस्था समेत यस्तै बन्दै आएको छ, एक सय जनामा ६६ जना नसर्ने रोगका कारण मृत्यु हुने गरेको हाम्रो तथ्याङकले देखाउँछ ।’ प्रमुख पौडेलले नसर्ने रोगका कारण मानिसहरूले मृत्युवरण गर्ने दर बढ्दै गएको तथ्यांकका बीच आफ्नो स्वास्थ्य बारेमा आफै सचेत हुन समेत आग्रह गरिन् ।
यसैगरी स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले बाँकेमा नसर्ने रोग पत्ता लगाउने क्रममा रहेको बताउँदै भने, ‘बाँकेका सबै स्थानीय तहका प्रत्येक वडामा १२५ जना, ३० वर्ष उमेर माथिलाई परिक्षण गर्ने अभियान सुरु भएको छ, यसरी हेर्दा बाँकेका करिब दश हजार बढीको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य हाम्रो रहेको छ ।’ जनस्वास्थ्य अधिकृत श्रेष्ठले भने, ‘अहिले बढी जोखिममा भएका व्यक्तिहरू छान्ने काम भैरहेको छ, नसर्ने रोगको अवस्था समुदायस्तरमा भयावह बन्दै गएको छ जसका निम्ती सचेतना जरुरी रहेको छ ।’
विश्वव्यापी समस्याको रूपमा उदाउँदै आएको नसर्ने रोगको अवस्थालाई शिक्षाका माध्यमबाट समेत जनचेतना जगाउन सकिने उपस्थित महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि डाक्टर लालमणी आचार्यले भने, ‘पहिला पहिला नसर्ने रोगहरूका बारेमा खासै चासो राखिदैथ्यो, मात्र सरुवा रोगहरूका बारेमा चेतना जगाउने गरेको पाइन्थ्यो, प्रविधिको बिकासका कारणले सर्ने रोगको उपचार तत्काल गर्न सकिने, सामान्यकरण हुँदै जाँदा नसर्ने रोगले समस्या निम्ताउन थालेका देखियो,अतः यसमा सबैलाई सचेतना गराउन जरुरी छ ।’
स्वास्थ्य कार्यालयको सहजीकरणमा बाँकेका स्थानिय तह मध्ये राप्ती सोनारी गाउँपालिका,कोहलपुर नगरपालिका, खजुरा गाउँपालिमा अभियान सुरु भैसकेको छ । विश्वमा निकै समस्याका रूपमा आइरहेको नसर्ने रोगहरूमा मुटु तथा रक्तनलीको रोग, मधुमेह, दिर्घ श्वाश्प्रश्वास सम्बन्धी रोग र क्यान्सर सँगै मानसिक रोग रहेका छन भने यसका कारणमा शारीरिक निस्क्रियता, धुम्रपान, मद्यपानको प्रयोग, अस्वस्थ खानपान र बातावरण प्रदुषणसमेलाई मानिएको छ ।
नसर्ने रोगहरू समाजमा प्रत्येक्ष रूपमा नदेखिने हँुदा समाज भित्र थाहा नभएर लुकेर बस्ने विरामीको सँख्या ठुलो रहेको तर उपचारको दायारामा नआएको देखिन्छ । कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका करिब ४० बढी प्राध्यापक तथा उप–प्राध्यापकहरूको सुगर, रक्त चाप लगायतको स्वाथ्य परिक्षण गरीएको थियो ।