नेपालमा गणतन्त्रको उमेर हिजो अठार बर्षको भयो । यो अठार बर्षमा देश र जनताको अवस्थामा सकारात्मक सुधारको कुनै पत्यारिलो संकेत नदेखिएता पनि एउटा न्यारेटिभ भने स्थापित भएको छ । त्यो हो राज्य सञ्चालकसँग प्रश्न गर्न हुँदैन गरे गणतन्त्र खतरामा परिहाल्छ । यहाँ भीडबाद, राजा र भीडभित्रको राष्ट्रबाद भए पुग्छ । यहाँ त भीड छ, जनमतको जुगाडु संख्या र त्यसले जन्माएको सत्ता समिकरणको यात्रा मात्रै छ । यसै यात्रामा जात्रा गरेर देशलाई कब्जा गरेको, मुठ्ठीमा राखेको, अहंकार भरिएको सरकार छ । यसैको नाम हो गणतन्त्र । करोडौको जनसंख्या र दर्बिलो राष्ट्रबादलाई केहि हजार चटेकेहरूको भीडले हाइज्याक गरेको छ । यहि भीडलाई देखाएर राष्ट्रबादलाई तर्साउने, घुर्की लगाउने र देशलाई बन्धक बनाउने काम भैरहेको छ । कहिले संसदमा मार्शल लगाएर, कहिले जनताको आवाजलाई प्रतिबन्ध लगाएर, कहिले जनताले जमाहुने ठाउँ पार्टीका कार्यकर्ता लगाएर कब्जा गरेर देशमा गणतन्त्र टिकाउने काम भएको छ । पार्टीका जात्रावालहरूको भीडबादको यो उन्मादमा देशको प्रधानमन्त्री समेतले कानून मान्दैन । देशमा सुशासनको काम गर्दैन । राष्ट्र र राष्ट्रवादको कुरै के गर्ने ? आफुलाई भीडबादको मुखिया स्थापित गरेर संविधान र कानून भन्दा माथि बस्ने नियतले देशको यो दुर्दशा हुँदै गैरहेको छ ।
नेपाली जनता राष्ट्रवादी छन् । आफुले आफ्नो गास काटेर खुवाएको, लुकाएर राखेको, आफ्नै छोरीसँग खोपी पस्दा पनि हाइसन्चो मानेको नेतालाई विश्वास नगरेको पनि होइन । आज होला भोलि होला, गर्ला नि भन्दा भन्दा तीन चार दशक र दुई पुस्ता बिताएको जनताले आजपनि राष्ट्रवादको सपना यिनीहरूका गफमा देखेको छ । तर यति विश्वास गरेका पात्रहरूले आफु र आफ्ना सन्तानको भकारी भर्न लागि रहँदा पनि दरबिलो विकल्पको लागि अर्को आन्दोलन गर्न डराएको छ ।
निकै धेरै सपनाहरू सँगालेर बसेको नेपाली मनभित्र जबजब विगतका आश्वासनहरूले पोल्न थाल्छ अनि फेरिपनि नेता भन्दा पनि व्यवस्था माथि दोष दिएर राजा आउनुपर्छ भन्ने चिया गफ गर्न थाल्छ । पार्टीका कार्यकर्ताहरूको कुरा सुन्दा पनि देशमा एउटा दरिलो अभिभावक त चाहिने रहेछ भन्ने सुनिन्छ तर त्यत्तिकैमा राजा आइहाल्ने र जनताले सोंचेजस्तो अभिभावक बनि हाल्ने अवस्था भने तत्कालै देखिँदैन ।
भलै बहुसंख्यक जनताले अस्वीकार गरेको संविधान होस् तर देशमा एउटा संविधान नामको पोथ्रो छ । जस्तोसुकै जालझेल गरेर बैमानीबाट जारी गरेको भए पनि वर्तमानको वैधानिक कानून यहि हो । यसले राजा आउने वैधानिक बाटो दिएको छैन । संविधानको धारा २७४ मा संविधान संशोधनको व्यवस्था छ । यसमा चारवटा कुराहरू नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ता बाहेक सबैकुरा संशोधन हुनसक्ने भनेको छ भने धारा २७५ मा जनमतसंग्रहको व्यवस्था छ । यसैमा टेकेर यदि जनमत संग्रह भएमा र बहुमत आएमा या राष्ट्रिय सहमतिमा वैधानिक बाटोबाट राजसंस्था स्थापित हुनसक्छ । यसका लागि तीन ठुला दलहरूले आफ्नो विधानमा संवैधानिक राजा राख्ने व्यवस्था गर्नुपर्छ । अर्को बाटो भनेको जनबिद्रोहबाट तख्तापलट हो । यी दुबैकुरा तत्काल सम्भव देखिँदैनन् ।
पार्टी नेता कार्यकर्ताहरूले जे जसरी सत्ताको चास्नीमा डुबुल्की मारेर बेरोकटोक लूटको धन्दा चलाउन पाइरहेका छन् त्यति सजिलो गरि संविधान नै संशोधन वा राष्ट्रिय सहमतिमा गएर राजसंस्था मानिहाल्छन् भन्न सकिन्न । अर्कोतिर राजसंस्थाको वकालत गर्ने व्यक्ति, पार्टी र संस्थाहरूको एजेण्डा नै प्रष्ट छैन । कोहि भन्छ ‘राजतन्त्र’, कोहि भन्छ ‘संवैधानिक राजसंस्था र बहुदलिय प्रजातन्त्र’, कोहि भन्छ ‘हिन्दु अधिराज्य’, कोहि भन्छ ‘हिन्दुराष्ट्र’ कोहि भन्छ ‘हिन्दू गणतन्त्र’ । अब कसको ऐजेण्डा ठिक र कुन बेठिक ? जनता कसको कुरामा लागेर बिद्रोहमा जाने ? सबैतिर एजेण्डागत अन्योल छ ।
वर्तमानमा देशको राष्ट्रवाद इतिहास मै सबैभन्दा कमजोर र खतरामा नै परिरहेको छ । तर यसलाई जोगाउन केहि राजा ल्याउँछौं भन्नेहरूले भनेजस्तो शितलनिवासको पात्र मात्रै फेरेर हुँदै हुँदैन । यदि यस्तो भयो भने तीन महिना पछि जनताले फेरि भन्ने छन् ‘जुन जोगि आए पनि कानै चिरेको’ ।
कुनैपनि कुराको गुणात्मक परिवर्तनको लागि पात्र फेरेर होइन पात्रता फेरिनुुपर्छ । नेपालको आफ्नो शक्ति तन्त्र र मन्त्रको रक्षा हुनुपर्छ । नेपालको मुल कुल धर्म सँस्कृति भाषा सभ्यताको रक्षाको ग्यारेन्टी हुनुपर्छ । नेपाली मौलिकतामा आधारित राज्य व्यवस्था र राज्यसञ्चालनको नीतिले मात्रै देशमा राष्ट्रवादको जर्गेना हुनसक्छ । यो शर्तमा आउने जुनसुकै व्यवस्थाले दिगोपना पाउने सम्भावना रहन्छ ।
हरेक राष्ट्रमा हरेक युगमा राष्ट्रबाद जाग्छ । त्यहाँ भीड होस या नहोस् । अहिले नेपालमा कुनै न कुनै रूपमा राष्ट्रवाद जागेको पक्कै हो । यो कुरा तीनसय बर्ष अघि नेपाल एकिकरणको बेला बडामहाराजघिराज पृथ्वी नारायण शाहको पालामा होस् या सत्तरी बर्ष अगाडी नेपाली राजा महेन्द्रको पालामा नेपाली राष्ट्रबाद जुरुक्क उठेको अवस्था थियो । त्यहाँ भीडबाद होइन वास्तविक राष्ट्रबाद थियो । जसले एकाकार नेपाल बनायो । जसले एकाकार नेपालको सार्वैभौमिकता र अस्तित्वलाई जोगायो । त्यसयता नेपालमा राष्ट्रबाद अझै जागेको छैन, मात्रै भीडबाद मौलाएको छ । जो आजपनि आफ्नो अपराध लुकाउन, आफ्ना अपराधी मित्रहरूलाई जोगाउन, छुटाउन, देश लुट्न र लुटाउन सडक र सदनबाट भीडको दम्भमा कानूनको खास्टो ओढाइरहेको छ उसैले जगाएको भीडले राष्ट्रवाद जगाउँदैन र जोगाउँँदैन ।
नेपाली राष्ट्रबाद अहिले पुरै भीडबादको बन्धक बनेको छ । यसलाई मुक्त गराउन जरुरी छ । देशको अस्तित्व रह्यो भने नेपालीको अस्तित्व रहने हो भन्ने कुरा बुझ्न बुझाउन जरुरी छ । राज्यबिहिनताको अवस्था कस्तो हुन्छ भन्ने कुरा नेपालीले बुझेका छैनन् । यसैले यहाँ भीडबाद हावी छ । समृद्धिको खोक्रा कथाहरू राज्यविहिनताको अवस्थामा सबै अर्थहीन हुनेछन् । मुल कुल धर्म भाषा सँस्कृतिको बिनासमा त्यो भीड गोली खाएर रगतमा लतपतिँदै भएपनि निरिह एउटा पाउरोटीको लागि दौडेको प्यालिस्टाइनी जस्तो हुनेछ ।
राजा नहुँदा दाम्लो चुँडालेका साँढेजस्ता पार्टीका नेताहरू पक्कै भएका हुन । जनता पनि उदारता र स्वतन्त्रताको नाउँमा उन्मत्त र नैतिकता सक्किएका नभएका होइनन् । अर्काको कलोमा बिक्नेले न आफ्नो भलो गर्छ न देशको भलो गर्छ । सुध्र्रिन त सबैले परेको छ । नेता मात्रै कहाँ हो र पहिला त त्यस्तालाई भोट हाल्ने जनता नै सुध्रिन जरुरी छ । चम्चावाद, ढोकेचौकेवाद, चापलुसीवाद झोलेवाद बाट जनता मुक्त हुनैपर्छ ।
देश बचाउन त आफ्नो मुल कुल धर्म सँस्कृति भाषा सभ्यता नेपाली मौलिकताको जरो बचाउन जरुरी छ । त्यो त राष्ट्रबादको उच्चतम् चेतनाले मात्रै बच्दछ कुनै भीडबादको उन्मादले बच्दैन । चिया पसलमा राष्ट्रबादका गफ गरेर सीमापारि गएर चामल र साग किनेर ल्याएर पनि राष्ट्रबाद बच्दैन । स्वास्नी छोराछोरिलाई विदेशमा राखेर छ छ महिना ओहोर दोहोर गर्ने र सञ्जालमा राष्ट्रबाद राष्ट्रबाद भनेर पनि राष्ट्रबाद बच्दैन । सत्य दबाएर, खुलेआम डकैती भएको, राष्ट्रको चीरहरण भएको देख्दा देख्दै पनि ‘मेरो व्यक्तिगत के गाको छ र ?’ भनेर आँखा चिम्लेर पनि राष्ट्रवाद बच्दैन । बाटो तय नगरि, किन कस्तो राजा भन्ने निक्र्यौल नगरि राजा राजा भनेर पनि देश र राष्ट्रवाद बच्दैन । कुनैपनि किसिमको दम्भ र भीडको भरमा कुनै निर्णय गर्दा अर्को भीडले त्यसलाई उल्ट्याउन सक्दैन भन्ने हुँदैन । भीडवादले ल्याएको शासन र व्यवस्थाको हविगत के कस्ता भए र भैरहेको छ त्यो नेपाली जनताले देखे भोगिरहेका छन् । अब अर्को भीडले राजा ल्याएर कहिलेसम्म चल्ने ? के हुने ? कस्तो प्रकारको हुने ? प्रश्न यहाँ हो । के आज ७–१० लाखको भीडले राजा ल्याउँदा भोलि १५ लाखको अर्को भीडले फाल्दैन र ? राजसंस्थाको आवश्यकता होला, जनताले पनि चाहेका होलान, तर त्यसको अर्थ जसरी पनि ल्याउने भन्ने हुनुहुँदैन । थितिबीना आउने जुनसुकै कुराले भोली निम्त्याउने बेथिति नै हो । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता चोर बाटोबाट आयो भन्दैगर्दा फेरि अर्को अवैधानिक बाटोबाट राजा ल्याउने प्रयासले राष्ट्र राष्ट्रियता र राष्ट्रवाद दिगो र बलियो हुन्छ त ? यसैले पनि राष्ट्रिय सहमति या जनमतसंग्रह जस्तो वैधानिक बाटो मात्रै उपयुक्त हुन्छ । कसै कसैका अभिष्ट पुरा गर्न र त्यसैमा बहकिएको लहड मात्रै हो भने सबैले बेलैमा सच्चिनुपर्छ । साँच्चिकै देशको चिन्ता हो भने तनमनैदेखि काम कर्म र ब्यवहारले राष्ट्रवादको रक्षामा लाग्नुपर्छ सत्ता र सडक कतैतिरको पनि धाकधम्कीको भीडमा उफ्रेर राष्ट्र मजबुत हुँदैन ।