बर्दियाकाे भुरीगाउँमा सालीकाे हत्या आराेपमा भिनाजुसहित २ जना पक्राउ, लेनदेन र घरायसी दुस्मनीले हत्या भएको प्रहरीको भनाइ
झन्डै तीन साता अघिदेखि एक महिलाको हत्या प्रकरणमा अनुसन्धान गरिरहेकाे प्रहरीले बर्दियाको ठाकुरबाबा नगरपालिका १, भुरीगाउँबाट आफ्नै सालीको हत्या आरोपमा भिनाजु र भिनाजुका बुहारीलाई पक्राउ गरेको छ ।
ठाकुरबाबा १, भुरीगाउँकी राधा बोहोराको हत्या आरोपमा भुरीगाउँ मै बस्ने भिनाजु नाता पर्ने ६९ बर्षिय शान्त बहादुर खत्री र उनकी बुहारी २४ बर्षिया उमा कुमारी खत्री पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिनुभयो ।
फागुन ४ गते बर्दिया ठाकुरबाबा नगरपालिका १, भुरिगाउँमा बाहिरबाट ताल्चा लगाएको अवस्थामा आफू बस्दै आएको घरमा राधा बोहोराको शव फेला परेको थियो । प्रहरीले शव फेला पारेपछि तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो ।
हत्यामा संलग्न भएको पुष्टि भएपछि बर्दिया अदालतबाट पक्राउ पुर्जी जारी गरी उनीहरूलाई पक्राउ गरेको डिएसपी ऋषिराम घर्ती मगरले बताउनुभयो ।
हालसम्म लेनदेन र घरायसी दुस्मनीका कारणले हत्या भएको भन्ने अनुसन्धानमा खुल्न आएको छ, तर घटना कुन दिन र कसरी भएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरी नायब उपरीक्षक घर्ती मगरले बताउनुभयो ।
फागुन ४ गते विहान ११ बजेतिर मृतक बोहोराको शव घर भित्र बाँसको खामाेमा बाँधेको अवस्थामा फेला परेको थियो । प्रहरीले शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाएर अनुसन्धान सुरु गरेको थियो । मृतक बाेहाेरालाई खाेजिका लागि खबर गरेपछि फागुन ४ गते घरकाे ढाेकामा लगाइएको ताल्चा फाेडेर भित्र जाँदा शव फेला परेको हाे ।