भेरी अस्पतालमा मङ्गलवारदेखि मृगौला प्रत्यारोपण सेवा सुरु भएको छ । मृगौला पीडित ४० र ३७ वर्षका दुई जना पुरुषको मृगौला प्रत्यारोपण गरेर सेवा सुरु गरिएको हो । यो सँगै भेरी अस्पताल मृगौला प्रत्यारोपण गर्ने लुम्बिनी प्रदेशकै पहिलो अस्पताल बनेको छ ।
“हामी आम नागरिकलाई गुणस्तरीय र विशिष्टकृत स्वास्थ्य सेवा कसरी प्रवाह गर्न सकिन्छ भनेर गम्भीर छौँ, हाम्रो सम्पूर्ण शक्ति आम नागरिकले सहज र सरल रुपमा सम्पूर्ण स्वास्थ्य सेवा पाउनुपर्छ भनेर चिन्तित छौँ ।” अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले भन्नुभयो, “आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि नयाँ नयाँ सेवाहरु थप गर्दै लगेका छौँ, वैशाख ९ गतेबाट लुम्बिनी प्रदेशमै पहिलोपटक मृगौला प्रत्यारोपण सेवा सुरु गरेका छौँ, अब यस क्षेत्रका मृगौला रोगीले धेरै रकम खर्च गरेर काठमाडौँ या भारततिर धाउन पर्दैन ।”
मेसु डा. सुवेदीले सेवा सुरु भएसँगै अब महिनामा एक जना बिरामीको मृगौला प्रत्यारोपण गरिने बताउनु भयो । ‘भेरी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ, अब यो सेवा निरन्तर चल्छ, केही समयसम्म महिनामा एक पटक मृगौला प्रत्यारोपण गर्ने योजना बनाएका छौँ,’ उहाँले भन्नुभयो ‘यो सेवालाई निरन्तरता दिनको लागि स्रोत साधन पनि खर्च हुन्छ ।’