भेरी अस्पताल नेपालगन्जमा गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । लुम्बिनी प्रदेशमै पहिलो पटक भेरी अस्पतालमा दुई जनाको मृर्गौला प्रत्यारोपण भएको थियो ।
‘मृर्गौला प्रत्यारोपरण गरिएका दुवै जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ’, भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले भने, ‘अस्पतालमा गरिएको पहिलो दुई जनाको मृर्गौला प्रत्यारोपण सफल भएको छ, मृर्गौला दाता दुई जना र बिरामी दुई जनालाई डिस्चार्ज गरिएको हो ।’
भेरी अस्पताल नेपालगन्जमा महोत्तरीका ४० वर्षीय पुरुष र बर्दियाका ३७ वर्षीय पुरुषको गएको मंगलबार मिर्गाैला प्रत्यारोपण गरिएको थियो । महोत्तरीका पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले मिर्गाैला दान दिएकी हुन् भने बर्दियाका पुरुषलाई पनि उनकी २६ वर्षीया श्रीमतीले मिर्गाैला दान दिएको अस्पतालका प्रमुख डा. निराजन सुवेदीले बताए । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा दुई जनाको मिर्गाैला प्रत्यारोपण भएको थियो ।
केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रत्यारोपण केन्द्रको टिम र भेरी अस्पतालको टिमले मिर्गाैला प्रत्यारोपण गरेको थियो । केन्द्रबाट डा. दिपेश श्रेष्ठ, डा.हरि बराल, एनेस्थेसियोलोजिस्ट डा. सोभित थापा, डा.शिवसुन्दर राजचल, नेफ्रोलोजिस्ट डा.विक्रम वीर बज्राचार्यको सहभागिता थियो ।
त्यसैगरी केन्द्रबाट डा. गौरव पन्थ र शाखा अधिकृत हरिहर पोखरेट्रान्सप्लान्ट कोर्डिनेटर सरु कोजु, ओटी नर्स सयिबा नागा, केलिना के.सी, आईसीयू नर्स अपर्ना सेन, दीपा के.सी, अनु बज्राचार्य लगायतको सहभागिता रहेको थियो ।
भेरी अस्पतालका यूरोलोजी विशेषज्ञ डा. दिपेश गुप्ता, नेफ्रोलोजीतर्फ डा. शौरभ हमाल, एनेस्थेसियोलोजिस्ट डा.पारस पाण्डे, यूरोलोजीका डा. अञ्जित फुयाँल, डायलासिस इन्चार्ज डा. पारस श्रेष्ठलगायतको टोली मिर्गौला प्रत्यारोपणमा सहभागी थियो ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले महिनामा कम्तिमा १ जनाको मृर्गौला प्रत्यारोपण गर्ने योजना रहेको बताएका छन् । ‘पूर्वाधार, जनशक्ति, उपकरण थप भएपछि प्रत्यारोपणको संख्या बढाउँदै लैजान सकिन्छ’, उनले भने ।