मंगल माविले मनायो ‘मंगल माडसाव’को १२१औँ जन्मजयन्ती

मंगल प्रसाद माविले नेपालगन्जका शिक्षा अभियन्ता मंगलप्रसाद शास्त्री अर्थात् मंगल माडसावको १२१औँ जन्मजयन्ती सोमवार औपचारिक कार्यक्रम बीच मनाएको छ ।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरुले शिक्षा, अनुशासन, दानशीलता र सामाजिक चेतनाको क्षेत्रमा मंगल माडसावले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

आफ्नो विद्यालयका संस्थापक मंगल प्रसादको जन्मजयन्तीका अवसरमा विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । विद्यालयका प्राचार्य सन्ध्या गुप्ताका अनुसार, मंगल माडसावको १२१औँ जन्मजयन्तीसंगै पछिल्लो एसइइमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

मंगल माडसावलाई नेपालगन्ज र मध्य तथा पश्चिम नेपालकै शिक्षा चेतनाका अगुवा व्यक्तित्वका रूपमा लिने गरिन्छ । शिक्षालाई केवल पढाइमा सीमित नराखी समाज रूपान्तरणको माध्यम बनाउने व्यक्तिका रूपमा उनको योगदान स्मरणीय रहेको वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरको भनाइ छ ।

१९६२ साल जेठ ११ गते जन्मिएका मंगलप्रसाद शास्त्री २०४५ साल जेठ १० गते स्मृतिशेष भएका थिए । उनले घसियारटोलस्थित आफ्नै घरबाट हिन्दी, मुडिया र गणित विषय पढाउन सुरु गरेका थिए । पछि त्यही प्रयासले विद्यालयको रूप लियो । उनी मंगलप्रसाद माविका संस्थापकका रूपमा रहे ।

मंगल स्कूलबाट २४ जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा उत्पादन भएको विद्यालयका प्राचार्य गुप्ता बताउँछिन् ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांग, शैक्षिक, साहित्यिक क्षेत्रका अगुवा, राजनीतिक दल, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

पुरस्कृत विद्यार्थीहरुले व्यक्तिगत रुपमा प्रअ गुप्ताले ५० हजार पुरस्कारको व्यवस्था गरेकी थिइन् ।

कार्यक्रममा विद्यार्थीका पूर्व विद्यार्थी पूर्व मेयर विजय गुप्ता, पूर्व मन्त्री गजेन्द्र हमाल लगायतले बोलेको कार्यक्रममा प्रअ गुप्ताले विद्यालयको बार्षिक प्रगति विवरण प्रस्तुत गरिन् ।

Exit mobile version