मातृ मृत्युदरमा उल्लेखनीय सुधार भएको जनाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा प्रतिलाख जीवित जन्ममा हुने मातृमृत्युदर एक सय ५१ मा झरेको छ । नेपाल परिवार स्वास्थ्य सर्वेक्षणअनुसार सन् १९९६ मा मातृमृत्युदर (प्रतिलाख जीवित जन्ममा) पाँच सय ३९ रहेकामा हाल एक सय ५१ मा झरेको हो ।
यस्तै, आर्थिक सूचाङ्कमा प्रतिहजार जीवित जन्ममा हुने शिशु मृत्युदर २७ मा झरेको छ । सन् २०११ मा शिशु मृत्युदर ४६ (प्रतिहजार जीवित जन्ममा) रहेको थियो । यस्तै, पाँच वर्षमुनिका बाल मृत्युदर ५४ बाट ३१ (प्रतिहजार जीवित जन्ममा) घटेको छ ।
आर्थिक सर्वेक्षणमा नेपालमा १३ हजार ५९४ प्रकारका स्वदेशी ‘ब्रान्ड’का औषधि स्वदेशमा नै उत्पादन हुने गरेको उल्लेख छ । चालु आवको फागुन मसान्तसम्म पाँच सय २९ स्वदेशी र एक सय ३८ विदेशी ‘ब्रान्ड’ का औषधि दर्ता भएका छन् ।
गत आवमा ५३ हजार ७१३ विपन्न नागरिकले निःशुल्क औषधिसहितको स्वास्थ्य सेवा प्राप्त गरेको उल्लेख छ । तीमध्ये २८ हजार ६७८ क्यान्सर, आठ हजार ४१० मुटु र तीन सय ४६ जनाले मिर्गौला प्रत्यारोपणसहित १२ हजार ४५२ जनाले मिर्गाैलासम्बन्धी सेवा पाएका छन् । चालु आवको फागुनसम्म ३३ हजार ५८१ जना विपन्न नागरिकले उपचार सेवा पाएको उल्लेख छ ।
अङ्ग प्रत्यारोपण गराउनेको सङ्ख्या बढ्यो
यस्तै, आर्थिक सर्वेक्षणमा अङ्ग प्रत्यारोपणसमेत बढेको पाइएको छ । आव २०८२÷८३ मा दुई सय ९५ जना बिरामीको मिर्गौला र १५ जना बिरामीको कलेजो प्रत्यारोपण भएको छ । अघिल्लो आवमा भने एक सय ८६ बिरामीको मिर्गाैला र आठ जनाको कलेजो प्रत्यारोपण गरिएको थियो ।
चिकित्सक र नर्सको सङ्ख्या वृद्धि
प्रतिहजार जनसङ्ख्यामा चिकित्सक र नर्सको सङ्ख्या वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आवको फागुनसम्म नेपाल मेडिकल काउन्सिल तथा नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीबमोजिम नेपालमा प्रतिहजार जनसङ्ख्यामा एक दशमलव ८६ चिकित्सक र चार दशमलव ४२ अनुपात नर्स गरेका छन् । अघिल्लो आवमा भने चिकित्सक एक दशमलव एक र नर्सको अनुपात दुई दशमलव ८६ रहेको थियो ।
