चैत्र १५ र १६ गते बाँकेका स्थानीय तहहरूसँगको साझेदारीमा नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्ने ‘रोजगार मेला २०८१’ प्रचारप्रसारलाई स्थानीय तहसम्म व्यापकता दिइएको मेला संयोजक भीम बहादुर रानाभाटले जानकारी दिएका छन् । त्यसक्रममा पालिका प्रमुखहरूसँग भेटघाट र अन्तरक्रिया गरेको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले रोजगार मेलाको दीर्घकालीन प्रभाव पर्ने गरी व्यापकता दिन चाहेको संघका महासचिव समेत रहेका संयोजक रानाभाटको भनाइ छ ।
नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टसँग मेला तयारी र यसको प्रभावबारे संघका अध्यक्ष टंक धामीको नेतृत्वमा गएको आयोजक समितिले छलफल गरेको छ । ‘बाँकेका स्थानीय तहहरू रोजगार मेलालाई लिएर निकै सकारात्मक हुनुहुन्छ’, स्थानीय सरकारसँगको साझेदारीमा आयोजना भैरहेको मेलाबारे जनप्रतिनिधिहरूको छलफलपछि संघ अध्यक्ष धामीले भने, ‘वास्तवमा यो दक्ष जनशक्तिको खोजी, तयारीसँगै बेरोजगारहरूको व्यवस्थापन गर्ने अभियान हो ।’
रोजगार मेलामा बाँकेका उद्योगहरूलाई आवश्यक जनशक्ति उपलब्धता गराइनेछ । ‘उद्योग कलकारखाना, व्यवसायीलाई कस्ता खालका जनशक्ति आवश्यकता छन् भन्ने कुराको अध्ययन भैरहेको छ’, रोजगार मेलाको प्रभावबारे दैनिक नेपालगन्जसँग अध्यक्ष धामीले भने, ‘त्यसका आधारमा उपलब्ध जनशक्ति नियुक्त गर्न संघले पहलकदमी लिनेछ भने अपुगका लागि बेरोजगारहरू मध्येबाट आवश्यक तालिम दिएर दक्ष जनशक्ति तयार गर्नेछ ।’ त्यसका लागि बाँकेका सबै स्थानीय तहसँग साझेदारी र सहकार्यको योजना बनाएको संघले रोजगारी सुनिश्चिततासँगै बेरोजगारहरूको तथ्यांक संकलन गरी उनीहरूको क्षमताका आधारमा व्यवस्थापन प्रयास गर्ने अध्यक्ष धामीको भनाइ छ ।
सोमबार नगर प्रमुख विष्टसँग रोजगार व्यवस्थापनका लागि आवश्यक तालिम लगायतका छलफल गरिएको जानकारी दिंदै अध्यक्ष धामीले सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे । छलफलमा उपमहानगरपालिकाका रोजगार महाशाखा प्रमुख मञ्जु ज्ञवालीले मेला तयारी विविध प्राविधिक पक्षबारे प्रकाश पारेकी थिइन् ।