देश अहिले चरम संकटमा पुगेको अवस्था छ । नागरिकहरूमा इतिहासमा नै सबैभन्दा निराशा छाएको छ । युवा, पढेलेखेका देखि पाखुरामा बल भएकासम्म कोहि पनि यो देशमा बस्न चाहिरहेको छैन । पार्टी नेताले राष्ट्रको ढुकुटीबाट चारो हालेर थमौती गरेका वा ठेकापट्टाको मेलोमेशो मिलाइदिएर राखेकाहरू अल्पकालिन रूपमा बसेका छन् । अलिकति हुनेखाने भएका वा राजनीतिमा पहुँच भएकाहरूका सन्तान सबै विदेशतिर बस्ने उतैको नागरिक बन्ने सामान्य बनेको छ । राज्यको शासन नीतिमा देश र देशबासी कहिँकतै भेटिँदैनन् । देशको मुलकुल धर्म सँस्कृति सबै मासेर देशको भूगोल, इतिहास विदेशी धर्मसँस्कृति भाषा सभ्यतालाई नेपाली समाजको र देशको शासनको मुख्य आधार बनाएर क्रान्तिकारी र प्रगतिशील बन्ने होड राजनीतिक पार्टी, व्यक्ति, लेखक आदिमा चलेको छ । प्रायोजित ऐजेण्डामा विदेशी लगानीको शुली चढेर देश बनाउँछौ. भन्नेहरूको शरिरको नशानशामा बगेको रगत नेपाल निरपेक्ष बन्दै गएको छ ।
हालसम्म भएका बहुदलीय व्यवस्था अन्तर्गतका आठवटा संसदीय निर्वाचन (संविधान सभामा समेत ) मा उत्रेका र संसदमा उपस्थिति जनाउन सक्षम भएका सबैखाले पार्टीहरूको आर्दश विचार सिद्धान्त र वादको जरो नेपालभित्र भएको देखिन्न । कसैले नेपालसँग कहिल्यै कुनै साइनोसम्म नभएका र नेपालको लागि कहिल्यै कुनै योगदान नै नगरेका रुस जर्मनीका मरेका लाशहरूको फोटो आफ्नो पार्टीको नाम झण्डामा राखेर नेपाल सापेक्षता कसरी कुन कार्यकर्ताको मनमस्तिष्कमा पलाउँछ त्यो पनि कसैले भन्न सकिरहेको र्छैन । आफ्नै देशमा माओले गरेको साँस्कृतिक क्रान्ति उसैको देशलाई अभिशाप भएपछि त्यो क्रान्तिलाई नै इतिहासको गल्ती भनिसकेको चीनको लाश बोकेर नेपालमा कस्तो नेपाल सापेक्षता ल्याउन खोजिएको हो ? त्यसको जवाफ पनि यिनीहरूसँग छैन ।
समाजवादको नाउँमा समाजभित्र जातियता क्षेत्रियता र समाजिक कित्ताकाट र घृणावादको खतिउपति गर्नेहरूले नेपाली मौलिकतालाई रातोदिन सत्तोरसाप गरेर थाक्दैनन् तर पनि यिनैका मुखबाट निस्किन्छ देशभक्ति र नेपालको समृद्धिका कुरा ? नेपाल कुनै विदेशी लाशहरूले बनाइदिएको देश होइन । यहाँको माटोको बास्नामा नेपाली मौलिकता भरिएको छ । नेपालका विर सुपुत्रहरू जसले नेपालको भूमिको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गरेका थिए उनहरूको गाथामा उभिएको नेपाललाई नेपाल निरपेक्ष शासनको वैचारिक जालमा पारेर कुशासनको जग मज्जाले बसालिएको छ ।
२०७९ को निर्वाचनमा भाग लिएका ४८ वटा पार्टीहरू मध्ये सबैभन्दा एकाध बाहेक सबै पार्टीहरूका राजनीतिक सिद्धान्त वाद र प्रतिमान सबै नेपाल निरपेक्षतामा आधारित थिए । विदेशी वादको पर्दाले नेपाल सापेक्षता जाग्न नसकेको अवस्थामा शासन सत्तामा पुग्ने भनेका तिनै समाजवादी वामपन्थी पार्टी नै थिए । उनीहरू नै सत्तामा पुगे र विगतका तीस बर्षमा झन भन्दा झन बढि कुशासनको पराकाष्टाको शासन दिइरहेका छन् ।
संसारमा रहेका बिभिन्न मुख्य धर्म सँस्कृतिहरू मध्ये हिन्दु, इसाई, मुस्लिम, बौद्ध र यहुदी रहेका छन् । यसमा सबैभन्दा ठूलो जनसंख्या इसाईहरूको रहेको छ । यसैले संसारका ७१ व्टा बढि देशहरूमा इसाई धर्म सापेक्ष शासन चलिरहेको छ । यसपछि धेरै जनसंख्या रहेको मुस्लिमहरूको पनि ५७ बढि देशहरूमा कतै सरिया कानून सहित त कतै इस्लामिक धर्म सँस्कृति सापेक्षताका देशहरू रहेका छन् । त्यसपछि चौथो धेरै जनसंख्या रहेको बौद्धहरूको पनि १० बढि देशहरू रहेका छन् । जम्माजम्मी एक करोडको आसपास जनसंख्या रहेको यहुदीहरूको पनि आफ्नो धर्मसँस्कृति सापेक्ष देश इजरायल रहेको छ । तर तेश्रो धेरै जनसंख्या रहेको हिन्दुहरूको न कुनै पहिचान बाँकी रहेको छ न सनातन धर्म सापेक्षताको देश छ । २०६३ सालसम्म नेपाल मात्रै एउटा देश थियो तर नेपालमा चलाइएको नेपाली मु्लकुल धर्मसँस्कृति निरपेक्षतको प्रायोजित आन्दोलनबाट जन्मे हुर्केका राजनीतिक पार्टीहरूले हिन्दूराष्ट्रको पहिचान नै सिध्याए ।
आज संसारमा सबैले आफ्नो देश प्रथम, देशको मुलकुल धर्म सँस्कृति प्रथम भनिरहेको अवस्था छ । तर नेपालका शासकहरू भने उल्टो बाटो चलिरहेका छन । दुनियाँमा मक्किइसकेको चालचलनलाई ल्याएर समाजिक आर्दश बनाउन खोज्दा नेपालको यो दुर्गति भएको हो । आफ्नो सीपको रक्षा यो व्यवस्थाको राज्यले गर्न सकेन । आफ्नो शिक्षाको खाका बनाउन चाहेन । आफ्नो कृषिको ज्ञानलाई मासेर विदेशीको भरिया बन्ने बाटोमा गयो । आफ्ना नागरिकमा भएको मौलिक प्रविधि र सीपलाई दासत्वको उपमा दिएर उनीहरूलाई आइएनजिओको भत्ताभरियामा भुल्ने बाटोमा लगियो । यहि बिन्दुबाट नेपालको आफ्नो सर्वश्व सकिँदै गयो ।
वितेका साढेतीन दशकदेखि आजसम्म जसरी नेपाली सत्ताले नेपालीत्वको चीरहरण गरिरहेको थियो त्यसको नमूना हो आजको शासन सत्ता । आज देशको सर्वोच्व पदमा बसेको मान्छेका सन्तानहरू विदेशी नागरिक छन् तर पनि उनिहरूलाई देशको मुख्यालयभित्र सहजै प्रवेश छ । क्रान्तिका नाउँमा भ्रान्ति छर्दै भाइभाइलाई छिमेकी छिमेकीलाई लडाउने र काटाकाट गराउनेहरूका सन्तान आज कोहि तस्करका नाइके छन त कोहि विदेशतिरै घरजम गरेर बसेका छन । तैपनि अझै उनीहरू नै यो देशका मसिहा भन्ने भ्रमको खेतप् गर्न छोडेका छैनन् ।
चुरोटको खोलमा नाम लेखेर पठाएको भरमा आफ्ना जागीर खुवाएकाहरूले आज देशमा शिक्षाको दशा र दिशा के बनाए जताततै छताछुल्ल नै छ । दशथरी शिक्षक भर्ती गर्ने बेला न नेतालmे सोंच्यो न जागीर खान नेताको ढोके बनेकाले सोंच्यो । लाखौं घुष टक्रयाएर हुन्छ कि नेताका गोडा मोलेर हुन्छ कि पार्टीको झोले बनेर हुन्छ जे जसरी भएपनि शिक्षक कर्मचारीको जागीरमा घुसेकाहरू आज त्यहि राज्यलाई त्यहि नेतालाई टाउको दुखाइ भएका छन् । अधिकार खोज्दै सडकमा पुग्दै गर्दा कर्तव्य प्रति बेखबर कसैले पनि हुनुहुँदैन तर नेपाल हो यहाँ जे पनि हुन्छ । राज्यको ढुृकुटीबाट पोषिएकाहरूले राज्यका शिक्षालयहरूमा ताला लगाउन लगाएर घटिया राजनीति मात्रै गरेका छैनन् आफ्ना आफन्तका नाउँमा छ््ट्टै लगानी गरेर नीजि शिक्षालय चलाउने र वालुवाटार शीतलनिवास र सिंहदरबारका साखुल्य बन्ने गरेका छन् । राज्यलाई २७ खर्ब कर्जा बोकाएर आफ्ना ऐशोआरामलाई जल्जलाएमान बनाइरहेका छन् ।
देशको कृषि जमीन बाँझो राखेर, उब्जाउ जमीनमा कँक्रिटका संरचना बनाएर विकास र समृद्धिका झाँसा दिएका छन् । आत्मनिर्भर कृषिलाई गाली गरेर परनिर्भर बनाउँदै विदेशीका कृषि उपज किनेर खानैका लागि विदेशीको गुलामी गर्न य्ुवा पठाएका छन् ।
उसैपनि क्रान्तिका मसिहा हौं भन्नेहरूले आजभन्दा १८ बर्ष पहिला नै यो देशको नाम फेर्ने, झण्डा फेर्ने, देशै विघटन गर्ने जस्ता नारा र कुरा नगरेका होइनन् । यस्तालाई देश रहँदा या नरहँदा के को चिन्ता ? अनि अझ देशको मुलकुल धर्म सँस्कृति भाषा सभ्यता नेपालको भूगोल र इतिहास अनि नेपाली मौलिकताको के चिन्ता ? यिनीहरूबाट देशको मौलिकतामा आधारिक आधारशीलाहरूको अपेक्षा दुर्लभै छ भने शासनमा नेपाल सापेक्षता खोज्न झन सकिने कुरै भएन । नेपाललाई सिँगापुर बनाउने भनेको त्यतातिर गएर भ्रष्टाचारका डिलिङ गर्ने भनेको रहेछ यो बुझ्न जनताले सकेनन् ।
देशलाई स्वटर्जलैण्ड बनाउने भनेको त नेपालको ढुकुटी चोरेर स्वीर्जलैण्डमा राख्ने र त्यो देश बनाउने भनेको रहेछ त्यो पनि बुझेनन् जनताले । समयको धारसँगै यिनिहरूको ब्यवहार सँगै नेपाली जनताले पनि अब बिस्तारै बुझ्दै गएका छन् । यसैले त सिराहाबाट सभा बहिष्कार शुरु भएको छ । अब देशैभरि बहिष्कार गर्नुपर्छ भ्रष्टहरूलाई । ताकि फेरि लाउडा धमिजा नहोस् । यति ओम्नी नहोस् । पञ्चेश्वर र बु्ढिगण्डकी काण्ड नहोस् । राहतका त्रिपाल देखि चामल सम्म नखोसियोस् । वाइडबडी न्यारोबडी र चाइनीज जहाज काण्ड नहोस् ।
भूटानी शरणार्थी देखि क्यान्टोन्मेन्टसम्मका घोटाला नहोस् । देशमा फेरि जनताका गोठका गाइर्भैसी बाख्रा नकाटिउन् । देशको इतिहास मेटाउन बम नपड्कुन । एनसेल करछूट देखि नक्कली भ्याट बिल मिलाएर नखाइयोस् । संसारका डेढ अर्ब सनातनी हिन्दूको पहिचान सहितको राष्ट्र नेपाल बन्दै पूर्ण नेपाली मौलिकतामा आधारित नेपाल सापेक्ष शासनको बिहानी देख्न पाइयोस् ।