नेपालगन्ज म्याराथन आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले म्यारमथनलाई सुरुवातदेखि निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थाहरूलाई शनिबार दशक रत्न सम्मानले सम्मान गरेको छ । म्याराथन दश वर्षमा पुगेका अवसरमा उक्त सम्मान अर्पण गरिएको अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।
म्याराथनलाई निरन्तर मुख्य प्रायोजन गर्दै आएको केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, एञ्जल्स स्कुलका प्रिन्सिपल ७५ बर्षीया बीना मल्ल, ब्राइटल्याण्ड कलेजका प्रिन्सिपल विजय लामा, कान्तिपुर टिभीका सिईओ शिशिर पछाई, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, प्याब्सन बाँके, दैनिक नेपालन्जका प्रधान सम्पादक झलक गैरेलगायतलाई प्रदान गरिएको हो ।
म्याराथन समपान कार्यक्रममै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन पत्र पनि अर्पण गरिएको थियो ।
बाँकेको संस्थागत विद्यालय मार्फत शैक्षिक क्षेत्रमा योगदान पुर्याएकी एञ्जल माविकी प्रिन्सिपल मल्लले अहिले पनि शिक्षा क्षेत्रमा सक्रिय योगदान दिइरहेकाले सम्मान अर्पण गरिएको अध्यक्ष ठकुरीको भनाइ छ । ‘उहाँको योगदान र अहिले पनि सक्रिय जीवन साँच्चिकै अनुकरणीय छ’, अध्यक्ष ठकुरीले भने, ‘नेपालगन्ज म्याराथनप्रति सधै सकारात्मक भाव छ ।’
केएल दुगड समूहले मुख्य प्रायोजक रहेर नेपालगन्ज म्याराथन मार्फत खेलकुद क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै महाप्रबन्धक छाजेडलाई सम्मान अर्पण गरिएको अध्यक्ष ठकुरीको भनाइ छ । ‘खेलकुदको समग्र विकासमा केएल दुगड समूहले संस्थागत योगदान दिएको छ, महाप्रबन्धक छाजेडले सधै खेलकुदको विकासका लागि सकारात्मक भूमिका खेलिरहनु भएको छ’, नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष ठकुरीले भने ।
नेपालगन्ज म्याराथनलाई १० बर्षसम्म निरन्तर सहयोग गर्नेदेखि खेलकुदका क्षेत्रमा योगदान पुर्याउने संस्था तथा व्यक्तिलाई प्रतिनिधिमूलक ढंगले सम्मान गरिएको आयोजक क्रियटिभ ह्याण्डसले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, अध्यक्ष ठकुरी, वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ लगायतले संयुक्त रूपमा सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र अर्पण गरेका थिए ।