‘युवा पलायन रोक्न उद्यमशीलता’

oplus_0

युवा पलायन रोक्नका लागि देश भित्रै सम्भावना देखाउनु पर्ने बताइएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले आगामी मंगलबारदेखि नेपालगन्जमा आयोजना गर्न लागेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघका तर्फबाट उक्त धारणा राखिएको हो ।

कार्यक्रममा बोल्दै महिला उद्यमी संघ नेपाल बाँकेकी अध्यक्ष सावित्रा पोखरेल बस्नेतले पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेकाले प्रदर्शनीका क्रममा उनीहरूलाई उद्यमशीलता र रोजागरीसँग जोड्न सकिन्छ भन्ने विषय केन्द्रित बहस पछि गर्न लागिएको जानकारी दिइन् । अध्यक्ष पोखरेलले आफुहरूले बाँकेका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा बिहीबार युवा उद्यमशिलता र स्वरोजगार उत्प्रेरणा कार्यक्रम गर्न लागेको बताइन् ।

महिला उद्यमीसँगै स्थानीय मौलिक उत्पादन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको प्रदर्शनीमा बुधबार महिला उद्यमी उत्प्रेरणा कार्यक्रम पनि गरिने अध्यक्ष बस्नेतले बताइन् । ‘महिला उद्यमीका चुनौति र सम्भावनाहरू बारे अन्तरक्रियात्मक बहस गर्न लागेका हौैं’, उनले भनिन् ।

साथै, प्रदर्शनीमा सफल महिला उद्यमी तथा रोजगारीमा रहेकाको अनुभव आदानप्रदान तथा सफल उद्यमीलाई नगद सहित सम्मान कार्यक्रम शुक्रबार गरिने अध्यक्ष बस्नेतले बताइन् ।

फागुन ६ देखि १० गतेसम्म नेपालगन्जस्थित बागेश्वरी मन्दिर पूर्वमा रहेको पार्कमा प्रदर्शनी आयोजना हुने कार्यक्रम संयोजक समेत रहेकी संघकी उपाध्यक्ष रेवती सिंहले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

केएल दुगड ग्रपको मुख्य प्रायोजनमा हुने प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्व रुकुम, सल्यान लगायतका जिल्लाहरूबाट आउने महिला उद्यमीहरूले आफनो उत्पादन प्रदर्शनीमा राख्नेछन् । प्रदर्शनीमा रहने करीब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरूले आफ्नो उत्पादनको बिक्री तथा प्रचारप्रसार गर्नेछन् ।

‘हामीले सहयोग जुटाएर प्रदर्शनी आयोजना गर्न लागेको हौं, स्टक शुल्क लिने छैनौं, दर्ता शुल्क पनि जिल्ला बाहिरबाट आउने उद्यमीसँग लिइनेछैन’, अध्यक्ष बस्नेतले भनिन् ।

प्रदर्शनीस्थलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाङ, स्थानीय उत्पादन बेसार, अचार, मह, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीको तेल, अण्डा लगायतका बस्तुहरू रहनेछन् ।

प्रदर्शनीको अर्को महत्वपूर्ण आकर्षणको रूपमा नेपालगन्जको परम्परागत तथा रैथाने परिकारहरूलाई प्रवद्र्धन गर्नको लागि स्टलहरू राखिने भएको छ । जहाँ नेपालगन्जको विभिन्न समुदायका महिलाहरूले बनाएका परिकारहरू बिक्रीको लागि राखिनेछ ।

प्रदर्शनी सम्पन्न गर्न अनुमानित १५ लाख रूपैयाँ बजेट खर्च हुने बताइएको छ । नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले प्रदर्शनीको उद्घाटन गर्नेछन् ।

Exit mobile version