स्थानीय पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएको टुर दि ठाकुरद्वारालाई नेपालगन्ज साइकल फेष्टिबलका रूपमा आयोजना गरिरहेको नेपालगन्ज साइक्लिङ्ग क्लबले सातौं संस्करणलाई भव्यता दिन परामर्श सुरु गरेको छ ।
त्यसका लागि पर्यटन बोर्डका उच्च अधिकारीसँग छलफल गरेको क्लबले शुक्रबार बर्दियाका जनप्रतिनिधिहरूसँग परामर्श गरेको जनाएको छ । ‘सांसद सञ्जय गौतमदेखि स्थानीय तहका जनप्रतिनिधि समेतसँग छलफल गरिएको छ’, क्लब अध्यक्ष प्रदिप सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘बाँके, बर्दियाको पर्यटन प्रवद्र्धनलाई योगदान दिने उद्देश्यका साथ आयोजना गरिएको आयोजनामा स्थानीय सरकारको सहकार्यमा हाम्रो जोड छ ।’
आगामी माघ २४ गतेदेखि २६ गतेसम्म नेपालगन्जमा नेपालगन्ज साइकल फेष्टिबल आयोजना गरिंदैछ । त्यसक्रममा टुर दि ठाकुरद्वारा मुख्य इभेन्टका रूपमा रहेको आयोजकले जनाएको छ ।
‘यसबर्ष राइडर सहभागिता बढाउने कसरतमा हामी लागेका छौं’, अध्यक्ष सापकोटाले भने, ‘गत बर्ष २ सय ६४ जना सहभागी रहेकोमा यो बर्ष कम्तिमा ३ सय राइडरले टुर दि ठाकुरद्वारामा भाग लिंदैछन् ।’