बर्दिया जिल्लाको राजापुर र मधुवन नगरपालिकाका प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूकालागि चारदिने तालिम मधुवन नगरपालिकाको डल्लामा सुरु भएको छ ।
बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा सञ्चालित ‘सुरक्षा परियोजना’ अन्तर्गत मधुवन नगरपालिकाको आयोजना र राजापुर नगरपालिकाको सहकार्यमा ‘स्थानीय शैक्षिक सामाग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन’ तालिम सञ्चालन गरिएको हो ।
कम लागत वा शून्य लागतमा शिक्षण सिकाइ सामग्री निर्माण गर्ने तरिका र समावेशी कक्षा व्यवस्थापन प्रविधिको विकासमार्फत शिक्षण अभ्यासमा सुधार ल्याउन शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले उक्त तालिमको सञ्चालन गरिएको सुरक्षा परियोजनाका संयोजक ईश्वर बिकले बताउनुभयो ।
जेठ १८ गतेसम्म सञ्चालन हुने सो तालिमबाट प्रारम्भिक कक्षाको सिकाइ वातावरणमा सुधार आउने, सहभागी शिक्षकहरूले स्थानीय स्रोतहरू प्रयोग गरी सजिलो र प्रभावकारी सिकाइ सामग्री बनाउने व्यावहारिक विधिहरू सिक्नुकासाथै विविध सिकाइ आवश्यकताहरू भएका बालबालिकालाई लक्षित गर्दै समावेशी सिकाइ वातावरण निर्माण गर्ने उपायहरूबारे समेत जानकारी पाउने परियोजना संयोजक बिकले बताउनुभयो ।
प्राथमिक शिक्षाको गुणस्तरमा सुधार ल्याउन तथा सबै बालबालिकालाई आकर्षक र प्रभावकारी सिकाइ अनुभव प्रदान गर्न यो तालिम अतिनै सहयोगी हुने तालिमका प्रशिक्षक झल कुमारी कार्कीले बताउनुभयो । प्रशिक्षक कार्की प्रारम्भिक कक्षाका शिक्षण रणनीति र समावेशी शिक्षण अभ्यासमा विज्ञ मानिनु हुन्छ ।
सो अवसरमा परियोजनाको दीर्घकालीन उद्देश्य र अपेक्षित परिणामहरूबारे पनि सहभागिहरुलाई जानकारी गराईएको थियो ।
तालिममा राजापुर नगरपालिकाका १० र मधुवन नगरपालिकाका २९ जना गरेर ३९ जना शिक्षकहरुको सहभागिता रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।
तालिममा अन्तरक्रियात्मक शेसन, समूहगत कार्य र व्यवहारिक अभ्यासहरू सहित सञ्चालन भइरहेको छ ।
तालिममा सहभागी शिक्षकहरूले कक्षा कोठामा प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिने नयाँ सीपहरू सिक्न पाउँदा उत्साह व्यक्त गर्नुभएको छ । तालिमले शिक्षक र विद्यार्थी दुवैलाई शिक्षालाई पहुँचयोग्य, आकर्षक र समावेशी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको मधुवन नगरपालिकाको शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले बताउनुभयो ।
तालिमको व्यवस्थापनमा बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर सबित्रा भाटको पनि सक्रिय सहभागिता रहेको छ ।