बाँकेको राप्ती नदीमा तटबन्ध बनाउनका लागि भारतले दिने भनेको दश अर्ब रुपैयाँ ल्याउनका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले लबिङ गर्न सरकारलाई आग्रह गरेका छन् ।
जनतासँग माओबादी तराई मधेस जागरण अभियानअन्तर्गत बाँकेको फत्तेपुरमा आयोजित बृहत् जनसभालाई आइतवार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता गरेको रकम भारतले नदिए सरकारले त्यसबराबरको रकम व्यवस्था गर्न आग्रह गरे ।
त्यसअघि उनले विहान राप्ती तटका प्रभावित ठाउँको अनुगमन निरीक्षण गरेका थिए । राप्ती नदीले कटान गरेको ठाउँको अवलोकन गरेका प्रचण्डले राप्तीसोनारी वडा नम्बर ६ मा बनाइएको सहिद पार्कको शिलान्यास गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्ती नदीको बाँके खण्डमा नदीको दुवैतिर पक्की तटबन्ध बनाउनका लागि भारतले दस अर्व रुपैयाँ दिने भनेपनि अझै नदिएको कुरामा सरकारले लविङ गर्नुपर्ने कुरा उठाएका हुन् ।
निरीक्षणका क्रममा स्थानीयवासीले तत्काल तटबन्ध नबनाए ठूलो धनजनको क्षति हुन सक्ने जानकारी गराएपछि प्रचण्डले छिटो तटबन्ध बनाउन सरकारलाई सदनबाट दबाब दिने बताए । तटबन्ध बनाउन तत्काल ५० करोड रुपैयाँ चाहिने अवस्था छ ।
जनसभामा अध्यक्ष प्रचण्डले सरकार शिक्षकका समस्या समाधान गर्नेभन्दा समस्या बल्झाउने र झन् समस्या थोपार्नेतिर अगाडी बढेको आरोप लगाए । ‘सर्बोच्च अदालतले शिक्षकका समस्या तीन दिनभित्र समाधान गरेर बिद्यालय फर्किने बातावरण बनाउ भनेर सरकारका नाममा आदेश दिएको छ, सरकारले यसलाई ढिला नगरोस्, मैले सरकारमा सहभागी पार्टीका नेताहरुसँग कुरा गरेको छु,’ उनले भने, ’मन्त्रीसँग कुरा गरेको छु ।’
माओवादी केन्द्र २०८४ मा विजयी हुनैपर्ने अध्यक्ष प्रचण्डले बताए । ‘समाजवादी क्रान्तिको झण्डा गाडेर मात्र माथी जाने भनेर म दौडेको तपाईहरुले देखिराख्नु भएको छ, तपाईहरुले संकल्प गरिदिनु भयो भने ७ महिनामै नेपालको रुप बदलिदिन्छौं,’ पुर्वप्रधानमन्त्री दाहालले भने । माओवादीलाई २०८४ मा विजयी गराउन अहिलेदेखि नै जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।
नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र न्यौपाने जेम्सको अध्यक्षतामा भएको सभामा नेकपा माओवादी केन्द्र राप्ती सोनारी अध्यक्ष जनकबहादुर थारुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । नेकपा माओवादी केन्द्रकी नेतृ एवम् संविधान सभाका पुर्वउपाध्यक्ष पूर्णाकुमारी सुवेदीले सम्बोधन गरेकी थिइन् ।