मोटरसाइकल चोरीको श्रृंखलाबद्ध घटनामा संलग्न भएको भन्दै सीमावर्ती भारतीय सहर रूपैडिहाबाट दुई नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बहराइच जिल्ला रूपैडिहा थाना प्रहरीले ‘मोटरसाइकल चोरीको अन्तर्राष्ट्रिय गिरोहका दुई सदस्यलाई पक्राउ गरेको’ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
भारतीय पत्रकार सन्तोष कुमार शुक्लका अनुसार, पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका उनीहरूसँगै १५ वटा भारतीय र नेपाली नम्बर प्लेटका मोटरसाइकल पनि बरामद गरिएको जनाइएको छ । प्रहरी अधिक्षक दुर्गा प्रसाद तिवारीले मोटरसाइकल चोरीका घटना बढेपछि त्यसको खोजी र अनुसन्धानमा तिव्रता दिने क्रममा पचपकडी तिरहा बर्डर रोड रूपैडिहा थाना क्षेत्रमा मोटरसाइकल चढेर आएका दुई जनाको सोधखोज गर्दा उक्त कुराको खुलासा भएको बताए ।
‘मोटरसाइकलमा आएका दुई जनाको सोधखोज गर्दा दुवै मोटरसाइकलका कागजपत्र भेटिएनन्’, पक्राउ तथा अनुसन्धानबारे पत्रकारलाई जानकारी दिंदै प्रहरी अधिक्षक तिवारीले भने, ‘केरकार गर्दै जाँदा मोटरसाइकल चोरी गर्ने र जंगलमा लुकाउने गरेको फेला पर्यो ।’ त्यसलगत्तै पक्राउ उनीहरूले नेपाल–भारत सीमानाको शिवपुरा जंगलका झाडीमा लुकाइराखेको अवस्थामा नेपाली र भारतीय नम्बरका १३ वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
भे १३ प ३२९०, भे ७ प ९६२५, भे ६ प ५९८९ को नेपाली नम्बर प्लेट लगायतका १५ वटा चोरीका मोटरसाइकल बरामद गरिएकोमा फेला परेका मध्ये ६ मोटरसाइकल चोरीका उजुरी यसअघि नै बहराइच प्रहरीमा रहेको प्रहरी अधिक्षक तिवारीले जानकारी दिए । पक्राउ परेका यी दुवै जना मोटरसाइकल चोरी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य हुन् भन्ने अनुसन्धानबाट खुलेको जानकारी दिंदै प्रहरी अधिक्षक तिवारीले भने, ‘यसबीच सुरक्षा व्यवस्था कडा भएकाले नेपाल लगेर बेच्न नसकेर लुकाइएको हुनसक्छ ।’ प्रहरीका अनुमान छ, नेपालबाट चोरी गरेको मोटरसाइकल भारतमा बेच्ने र भारतबाट चोरी गरेर नेपालमा कारोबार गर्ने कार्यमा यिनीहरूको संलग्नता छ ।
भारतीय प्रहरीका अनुसार, पक्राउ पर्नेमा जानकी गाउँपालिका १ बढैयाका गुल्जार खाँ र वसिम उर्फ छोटकउ पक्राउ परेका हुन् । क्रमशः ३० र ३२ बर्षका ती युवालाई प्रहरीले आवश्यक कानुनी कारवाहीका लागि अगाडि बढाएको जनाएको छ । ‘सुनसान वा भीडभाडका ठाउँमा माष्टर चाबीको प्रयोग गरेर उनीहरू मोटरसाइकल चोरी गर्ने गरेको पाइयोÞ, प्रहरीले अनुसन्धानपछि पक्राउ परेकाहरूको बयानका आधारमा भनेको छ, ‘चोरी गरिएका मोटरसाइकललाई केही समय लुकाएर नेपालबाट चोरी गरेका मोटरसाइकललाई भारतका विभिन्न ठाउँमा लगेर बेच्ने, भारतमा चोरी गरेका मोटरसाइकल नेपालका विभिन्न ठाउँ लगेर बेचेपछि प्राप्त पैसा आपसमा बाँढेर लेनदेन गर्ने गरेको पाइयो ।’
यसखालको गिरोहमा अन्य संलग्न सदस्यहरूको खोजी कार्यका लागि भारतीय प्रहरीले लागि परेको जनाएको छ । बहराइच प्रहरीको मिडिया सेलका अनुसार, प्रहरी निरीक्षक ददन सिंह सहित १० जना रूपैडिहा जनपद थानाका प्रहरीले मोटरसाइकल चोरीको घटनामा संलग्न गिरोहको खोजी तथा अनुसन्धानका लागि अपरेशन चलाएको हुन् ।