पछिल्ला वर्षमा नेपालगन्ज रोजगारीका दृष्टिले पनि ‘ट्राजिट’मात्रै बन्दै गएको सम्बद्ध रोजगारदाताहरूले बताएका छन् ।
‘नेपालगन्ज आउने हामीकहाँ कामगरेर सिक्ने अनि सकेसम्म विदेश, नसके अन्यत्र जाने भइरहेको छ,’ नेपालगन्जमा बुधवार आयोजित छलफलमा रोजगारदाता विभिन्न कम्पनीका सञ्चालकहरूले भने । उनीहरूले त्यसको समाधानका लागि शैक्षिक प्रणालीमै सुधारको आवश्यकतामा जोड दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघले पहिलो पटक बाँकेका स्थानीय सरकारसँगको साझेदारीमा पहिलोपटक रोजगार मेलाको आयोजना गर्दैछ । भोलि शुक्रवार र पर्सी शनिवार आयोजना गरिन लागेको रोजगार मेला –२०८१ का लागि आयोजकले बुधवार सरोकारवालाहरूसँग गरेको छलफलमा सहभागीहरूले भने, ‘यस्तै अवस्था रहिरह्यो भने हाम्रा उद्योग व्यवसाय कामदारको अभावले बन्द हुन्छन् ।’
जनशक्ति नेपालमै टिक्न सकिरहेको छैन । ‘नेपालगन्जमा बस्नै मान्दैनन्, जनशक्ति अभावले काम प्रभावित भइरहेको छ,’ हस्पिटालिटी क्षेत्रमा फड्को मारिरहेका होटल स्वस्तिकका सञ्चालक सुरज भण्डारीले भने, ‘यसको निराकरणका लागि बेलैमा सोचिएन भने अकल्पनीय अवस्था आउँछ ।’ उनले तत्काल पढ्दै कमाउने व्यवस्थासहितको शैक्षिक प्रणालीको विकासमा जोड दिए ।
नेपालगन्ज उप–महानगरपालिकाका रोजगार शाखा प्रमुख मन्जु ज्ञवालीले पढ्दै कमाउने अभियानमा आफ्नो चासो रहेको औल्याउँदै त्यसका लागि पहल लिएको बताइन् । ‘यसै आर्थिक वर्षबाट पढ्दै कमाउँदै अवधारणालाई कार्यान्वयनमा ल्याउने सोंच हो,’ दुई वर्षयतामात्रै रोजगार शाखा सक्रिय भएको जानकारी दिंदै ज्ञवालीले भनिन्, ‘रोजगारीका क्षेत्रमा स्थानीय सरकारले प्राथमिकता बढाउँदै जानुपर्ने देखिन्छ ।’
हानका उपाध्यक्षसमेत रहेका सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपाने, होटल सोल्टीका प्रमुख राजविक्रम शाह, होटल स्टारलाइटका विनोद कुमार बुढाथोकी, होटल डायमण्ड प्यालेसका भरत मल्होत्रा, होटल वाटिकाका सत्यनारायण थारुलगायतले होटल तथा पर्यटनका क्षेत्रमा रोजगारीका सम्भावना पर्याप्त रहेको औल्याए । ‘तर, स्थायित्वका लाति निकै चुनौती छन्,’ उनीहरूले भने । रोजगारीका लागि एउटा केन्द्रको खाँचो औल्याएका उनीहरूले नेपालगन्ज उद्योग वाणिज्य संघले रोजगार केन्द्र स्थापना गरि रोजगारी खोज्नेहरूको सम्पर्क सूची अध्यावधिक राख्न सुझाव दिए ।
कार्यक्रममा सहभागी डल्फिन ग्रुपका विवेक शर्मा, शिखर ग्रुपका महेश गुप्ता, शिव कत्था उद्योगका प्रिन्सु जैन लगायतले रोजगारीका अवसर र सम्भावनाबारे आफ्ना धारणाहरू राखेका थिए । रोजगार मेलाले रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदाताबीच पुल बन्नेमा विश्वस्त रहेका उनीहरूले उद्योग क्षेत्रका समस्याबारे पनि बोलेका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओलीले रोजगारदाता र बेरोजगारहरूबीचको छलफलबाट दुबै पक्षको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने आयोजनाको चासो राखे । ‘रोजगारीका लागि आउने युवा जनशक्तिलाई आवश्यकताका आधारमा तालिम प्रदान गरि उपयोगी बनाउने सोंच छ,’ बजारमा आवश्यक जनशक्ति तयार गर्ने योजनाका आधारमा अगाडी बढिरहेको बताउँदै प्रथम उपाध्यक्ष ओलीले भने, ‘तीन तहकै सरकारसँगको सहकार्यमा हामी त्यो सोंचमा सफल हुनेमा ढुक्क छौं ।’
होटल व्यवसायी संघ बाँके, नेपालगन्जका अध्यक्ष रंग बहादुर खडकाले साना तथा मझौला होटलहरूमा जनशक्ति अभावले समस्या पारिरहेको बताए । ‘तारे होटलहरूमा जेनतेन जनशक्ति पुगेकै छ, साना तथा मझौला होटलहरूमा जनशक्तिको आवश्यकता छ,’ अध्यक्ष खड्काले भने, ‘रोजगार मेलामार्फत त्यो आवश्यकता परिपूर्ति हुन सक्ने आशा गरिएको छ ।’
ईंटा उद्योग व्यवसायी संघका अध्यक्ष देव बहादुर ओलीले मासिक १ लाख ५० हजारसम्म तलब खाने जनशक्ति भारतबाट ल्याउनु परिरहेको औल्याउँदै सरकारले दक्ष जनशक्तिका लागि तालिम दिन आवश्यक रहेको बताए । ‘९ लाखसम्म भारतीय रुपिया पेस्की दिएर कामदार भारतबाट ल्याइएको छ,’ नेपालमै रोजगारीका तमाम सम्भावना रहेको जानकारी दिंदै अध्यक्ष ओलीले भने ।
मेला संयोजकसमेत रहेका संघका महासचिव भिम बहादुर रानाभाटको अध्यक्षतामा भएको कायईक्रममा एसोसिएट सदस्य कमल कार्की, राजीव तलंगा, कार्यसमिति सदस्य विष्णु श्रेष्ठ, सन्तोष पौडेललगायतले रोजगार मेलाको आवश्यकता र औचित्वबारे धारणा राखेका थिए ।
मेला परामर्शदाता, विज्ञ सरोज चौधरीले सहजीकरण गरेको छलफलमा रोजगारका विविध पक्षमा अनुसन्धान गरिरहेका विज्ञ हरी सुवेदीले रोजगारीका क्षेत्रमा विभिन्न आयाम राखेका थिए । ‘रोजगारदाताहरूलाई एकै ठाउँ राखेर समस्या र सम्भावनाबारे छलफल गरिएको हो,’ मेला संयोजक रानाभाटले दैनिक नेपालगन्जसँग भने, ‘त्यसअघि उद्योग व्यवसायमै पुगेर छुट्टाछुट्टै छलफल पनि गरिरहेका छौं ।’