यसै चैत्र १५ र १६ गते नेपालगन्जमा आयोजना हुने ‘रोजगार मेला’लाई ‘रोजगारीका लागि पुल’ का रुपमा विकास गर्न खोजिएको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
बाँके स्थित स्थानीय तहहरुसँगको साझेदारीमा आयोजना भइरहेको रोजगार मेला आफैमा रोजगारदाता र रोजगारीको खोजी गरिरहेकाहरुबीचको ‘पुल’ बनाउन खोजिएको संघका कार्यवाहक अध्यक्ष चिरन्जीवी ओलीको भनाइ छ । ‘त्यसैअनुसार आयोजक समिति सक्रिय रुपमा रोजगारदाताहरुसँग अन्तक्र्रिया, छलफल र भेटघाटमा सक्रिय छ,’ कार्यबाहक अध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने ।
संघका महासचिव भीम रानाभाटको संयोजकत्वमा जिल्लाका सात पालिकाका रोजगार संयोजक सम्मिलित रोजगार मेला समितिले पालिका तहमै पुगेर प्रचार प्रसारदेखि सहभागिताका लागि उत्प्रेरित गरिरहेको रोजगा मेला विज्ञ सरोज चौधरीले जानकारी दिए । ‘सबै पालिकाले साझेदारी गरिरहेकाले आयोजनालाई लक्ष्य प्राप्तीका लागि उत्साह मिलिरहेको छ,’ रोजगार मेलाका लागि विज्ञका रुपमा परामर्शदाताको जिम्मेवारीमा रहेका चौधरीले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, नेपालगन्जका झण्डै एक दर्जन उद्योगी व्यवसायीसँग रोजगारीका लागि आवश्यक संख्या, आवश्यकताका आधार लगायतबारे परामर्श गरिसकिएको छ ।
‘अझै केही उद्योगी व्यवसायीहरुसँग छलफल, परामर्श बाँकी छ,’ मेला संयोजक रानाभाटका अनुसार, त्यसक्रममा नेपाली जनशक्तिलाई रोजगारीमा लगाउँदाका मनोविज्ञानबारेसमेत यसबीच धेरै कुरा बुझ्न पाइएको छ । ‘केही नीतिगत समस्या, केही व्यक्तिगत स्वाभाव त कतिपय चरित्रगत अवस्थाले पनि रोजगारी दिने र लिनेबीच असमञ्जस सिर्जना गरेको पाइएको छ,’ रानाभाटले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि संघले पुलका रुपमा काम त गर्छनै समस्या र सम्भावनाका बीच सहजीकरण पनि गरिदिनेछ ।’ यसखालको आयोजनालाई तीन तहकै सरकारसँगको सहकार्यमा संघले निरन्तरता दिनेबारे पनि आफुले योजना बनाइरहेको महासचिव रानाभाटको भनाइ छ ।
संघका कोषाध्यक्ष मख्खन धामी रोजगार मेलालाई कसरी प्रभावकारी र परिणाममुखी बनाउने भन्नेबारे सबैको चासो र सहभागिताको आवश्यकता औल्याउँछन् । ‘संघले पहल लिने हो, यो सरकारले जिम्मेवारीबोध गर्नुपर्ने महत्वपूर्ण सवाल हो,’ कोषाध्यक्ष धामीले दैनिक नेपालगन्जसँग भने ।
नेपालगन्ज उपमहानगरपालिकाका रोजगार महाशाखा प्रमुख मञ्जु ज्ञवालीले रोजगारीका लागि स्थानीय सरकारले पनि गरिरहेको पहलकदमीमा निजी क्षेत्रको साझेदारीले थप प्रभावकारी बनाउने विश्वास गरिएको बताइन् । ‘रोजगारीका लागि हामीले निरन्तर सहजीकरण, सहयोग गरिनैरहेका छौं,’ ज्ञवालीले दैनिक नेपालगन्जसँग भनिन्, ‘रोजगार मेलाको यो आयोजनाले थप प्रभावकारी र परिणाममुखी उपलब्धी हासिल हुनेमा आशावादी छौं ।’
नेपालगन्ज उपमहानगरपालिकासँगै रोजगार मेला–२०८१ को आयोजनामा कोहलपुर नगरपालिका, खजुरा, जानकी, राप्तीसोनारी, नरैनापुर र बैजनाथ गाउँपालिकाले सहकार्य गरिरहेको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
‘विभिन्न कारणले यस पटक डुडुवालाई जोड्न सकिएन,’ मेला संयोजक रानाभाटले भने, ‘हामी ढुक्क छौं, आगामी वर्षको आयोजनामा डुडुवा हामीसँगै हुनेछ ।’ यद्दपी रोजगारीका लागि आवश्यक जनशक्ति र रोजगारदाता कम्पनी, संघसंस्था, व्यवसायी सबैजसो पालिकाबाट सहभागिता जनाउनेमा आफु विश्वस्त रहेको संयोजक रानाभाटको भनाइ छ । मेला अवलोकन, रोजगारीका लागि आवश्यक परामर्श, दुई पक्षका वार्ता सहजीकरण लगायतमा कुनैपनि शुल्क नलाग्ने मेला आयोजक, नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
रोजगार मेलाको पहिलो दिन, चैत्र १५ गते शुक्रवार मेला उद्घाटन समारोहसँगै ‘रोजगार संवाद’ गरिंदैछ । त्यससँगै रोजगारदाताले राखेका स्टलहरुमा रोजगारीको अवसरका लागि छलफल, परामर्शको निःशुल्क व्यवस्था गरिएको, मेला संयोजक रानाभाटले जानकारी दिए । ‘दोस्रो दिन शनिवार पनि स्टलहरुमा दुई पक्षबीचको छलफल, परामर्शदेखि सेवाशर्तलगायतको टुंगोबाट नियुक्तीसम्मका निर्णय रोजगारी खोज्ने र रोजगारदाताले गर्नसक्नु हुनेछ,’ संघका महासचिव रानाभाटले भने, ‘अघिल्लो दिन एउटा र दुई छुट्टाछुट्टै प्यानल डिस्कसनपनि दोस्रो दिन आयोजना गरिने कार्यक्रम बनाइएको छ ।’ कुनैपनि कार्यक्रममा सहभागिताका लागि कुनै शुल्क नलाग्ने मेला आयोजक समितिले प्रष्ट पारेको छ ।