लागुऔषधी विरुद्ध विद्यार्थी जागृत गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले ‘स्कुल अभियान’ चलाउने भएको छ । त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रशासनले गृह मन्त्रालयको योजना अनुसार विद्यालय स्तरमा दक्ष जनशक्ति परिचालन गर्ने भएको हो ।
‘प्रहरीले यसअघि नै आफ्नो निरन्तर अभियान चलाइरहेको छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले दैनिक नेपालगन्ज भने, ‘सचेतनासँगै प्रहरी कारवाहीले पनि तिव्रता पाएको छ ।’
प्रजिअ जोशीले बालबालिकालाई लागुऔषधको दुव्र्यसनबाट जोगाउन आवश्यक भएको भन्दै त्यसका लागि बाँके प्रशासन विद्यालयमै पुगेर सचेतना अभियान चलाउने बताए ।
ब्राउनसुगरसहित चार पक्राउ
लागु औषधविरुद्ध बाँके र बर्दियाका दुई फरक कारबाहीमा चार जना पक्राउ परेका छन् । नेपालगन्जमा ब्राउनसुगरसहित दुई जना र छिमेकी जिल्ला बर्दियाको बढैयातालमा दुई जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ उदयपुरुवाका ५८ बर्षीय सुरत खटिक र सोही ठाउँका १८ बर्षीय सुनिल खटिक १०३ ग्राम ९०० मिलिग्राम खैरो हेरोइनसहित बुधवार पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, दुबै जनालाई विशेष सुराकीको आधारमा फेला पारी कानुन बमोजिम खानतलासी गर्दा सुनिलले लगाएको कालो जिन्स पाइन्टको दाहिने खल्तीभित्र लुकाई राखेको अवस्थामा उक्त लागुऔषध भेटिएको हो । उनीहरूबाट एक थान मोबाइल समेत बरामद गरिएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी सहायक निरीक्षक नविन कुमार शाहीको कामाण्डमा टोली खटिएको थियो । उनीहलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।
त्यस्तै, बर्दिया, बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–८ बस्ने २५ वर्षीय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षीय राजितराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५० प ७७३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।