बाँके प्रहरीले ठूलो परिणाममा लागुऔषध फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, जयसपुर प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक निरज सिंहको कमान्डमा खटिएको टोलीले शनिबार साँझ नेपालगन्ज–१६ भन्सार चोकबाट ५ हजार ट्याब्लेट प्रतिबन्धित औषधि ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा २४ वर्षीय नफिस कबडिया, ३८ वर्षीय जियाउल शेष र १८ वर्षीय सद्दाम सैयदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
भारतको रूपैडिहातर्फबाट नेपालगन्ज आउँदै गरेको अवस्थामा युपी ४० आर ७१४५ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरू तीनै जनालाई शंका लागेर चेकजाँच गर्ने क्रममा नायब निरीक्षकको टोलीले उक्त परिमाणमा ट्रामाडोल बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्ने नफिस नेपालगन्ज–१६ कै स्थानीय हुन् भने जियाउल र सद्दाम भारतको कलकत्ता र सदाम भारतको जागोर घर भएर हाल नेपालगन्ज–१० स्थित ट्राफिक चोकमा बस्दै आएका थिए ।