नेपालगन्जका शिक्षा अभियन्ता मंगलप्रसाद गुप्ता शास्त्री अर्थात् मंगल माडसावको १२१औँ जन्मजयन्ती आज सोमवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
उनैले स्थापना गरेको, मंगल प्रसाद माविले आज शिक्षा, अनुशासन, दानशीलता र सामाजिक चेतनाको क्षेत्रमा मंगल माडसावले पु¥याएको योगदानको स्मरण गर्दै पूर्वविद्यार्थी र स्थानीय समुदायको सहभागितामा श्रद्धापूर्वक ‘विद्यार्थी सम्मान’ आयोजना गरेको हो ।
विद्यालयका प्राचार्य सन्ध्या गुप्ताका अनुसार, मंगल माडसावको १२१औँ जन्मजयन्तीसंगै पछिल्लो एसइइमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम आयोजना गरिएको छ ।
मंगल माडसावलाई नेपालगन्ज र मध्य तथा पश्चिम नेपालकै शिक्षा चेतनाका अगुवा व्यक्तित्वका रूपमा लिने गरिन्छ । शिक्षालाई केवल पढाइमा सीमित नराखी समाज रूपान्तरणको माध्यम बनाउने व्यक्तिका रूपमा उनको योगदान स्मरणीय रहेको वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरको भनाइ छ । दैनिक नेपालगन्जको यसै अंकमा प्रकाशित लेखमा उनले मंगल माडसावलाई ‘ज्ञान, आशा र मानवीय संवेदनाको दियो बाल्ने व्यक्तित्व’का रूपमा चित्रण गरेका छन् ।
१९६२ साल जेठ ११ गते जन्मिएका मंगलप्रसाद गुप्ता शास्त्री २०४५ साल जेठ १० गते स्मृतिशेष भएका थिए । उनले घसियारटोलस्थित आफ्नै घरबाट हिन्दी, मुडिया र गणित विषय पढाउन सुरु गरेका थिए । पछि त्यही प्रयासले विद्यालयको रूप लियो । उनी मंगलप्रसाद माविका संस्थापकका रूपमा रहे ।
मंगल स्कूलबाट २४ जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा उत्पादन भएको विद्यालयका प्राचार्य गुप्ता बताउँछिन् ।
स्थानीयवासीका अनुसार मंगल माडसावको जीवनले एउटा प्रश्न अझै समाजसामु उभ्याइरहेको छ— शिक्षा केवल व्यापार हो कि समाज निर्माणको आधार ? यही प्रश्नसँगै नेपालगन्जले आज आफ्ना एक ऐतिहासिक शिक्षागुरु मंगल माडसावलाई सम्झिरहेको छ ।






























