नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकार र सञ्चार संस्थालाई विभिन्न विधागत पुरस्कार प्रदान गरेको छ । शनिबार नेपालगन्जमा भएको शाखाको १५औं वार्षिक साधारणसभाका अवसरमा स्वास्थ्य, शिक्षा तथा खोजमूलक पत्रकारितामा योगदान पु¥याएका पत्रकारलाई सम्मान गरिएको हो ।
दैनिक नेपालगन्जका सह–सम्पादक देवेन्द्रराज पौडेल बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । यही पुरस्कार मिसन टुडेका संवाददाता गणेश रावतले पनि प्राप्त गरेका छन् । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयलाई निरन्तर रूपमा उठाउँदै आएको योगदानको कदर गर्दै उनीहरूलाई पुरस्कृत गरिएको महासंघले जनाएको छ । पुरस्कार संस्थापक डा. जीवन शर्माले स्वाथ्य सचेतनामा कलम चलाउने प्रोत्साहनका लागि पुरस्कार स्थापना गरेको भन्दै त्यसमा सकारात्मक अभियानको अपेक्षा गरे ।

राम आधार–रामप्यारी पत्रकारिता पुरस्कार पवित्रा परियार र सजल गैरेलाई प्रदान गरिएको छ । रेडियो प्रतिबोधमा कार्यरत पवित्रा संञ्चारिका समूहकी जिल्ला अध्यक्ष हुन्, क्रियाशील महिला पत्रकार बाँकेकी कार्यसमिति सदस्य सजल दैनिक नेपालगन्जको मल्टिमिडिया संयोजन गर्छिन् । पत्रकारितामार्फत सामाजिक विषयलाई प्रभावकारी रूपमा उजागर गरेको योगदानका आधारमा उनीहरू छनोट भएको जनाइएको छ ।
साधारणसभाको भव्य मञ्चमा पुरस्कार संस्थापक, वरिष्ठ समाजसेवी माधबराम बर्मा, प्रमुख अतिथि महासंघका केन्द्रीय सचिव सविन प्रियासन र बाँके अध्यक्ष नविन गिरीले उनीहरुलाई पुरस्कार प्रदान गरे ।
त्यस्तै, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार प्रियास्मृति ढकाललाई प्रदान गरिएको छ । स्वास्थ्य पत्रकारितामा सक्रिय भूमिका निर्वाह गरेको मूल्यांकन गर्दै ढकाललाई उक्त पुरस्कारका लागि छनोट गरिएको हो ।
शिक्षा पत्रकारितातर्फ डिल्ली शाही छनोट भएका छन् । उनलाई रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । महासंघले शिक्षा क्षेत्रका सवाललाई निरन्तर रूपमा समाचार र रिपोर्टमार्फत उठाएको योगदानको मूल्यांकन गर्दै शाहीलाई सम्मान गरेको जनाएको छ ।
संस्थागततर्फ आँखा स्वास्थ्य शिक्षा पत्रकारिता पुरस्कार स्वास्थ्य पेज डटकमलाई प्रदान गरियो । पुरस्कार संस्थापक फत्तेवाल आँखा अस्पतालका प्रवन्ध निर्देशक डा.कौशल कुमार बर्माले त्यसको महत्व र आवश्यकतामाथि प्रकाश पारे ।
सूर्यनाथ गौतम स्वास्थ्य पत्रकारिता पुरस्कारअन्तर्गत मुटुरोगसम्बन्धी पत्रकारिताका लागि मधु पौडेल पुरस्कृत भए । दैनिक नेपालगन्ज प्रतिनिधि पौडेल मुटुरोगका विषयमा निरन्तर समाचार र सामग्री उत्पादन गर्दै आएको मूल्यांकनका आधारमा पुरस्कृत भएका हुन् ।
पुरस्कार घोषणा गर्दै महासंघले ‘सत्य, तथ्य र जिम्मेवार पत्रकारितालाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मानलाई निरन्तरता दिइने’ जनाएको छ । साधारणसभामा सहभागी पत्रकारहरूले स्थानीय पत्रकारिताको संरक्षण, श्रमजीवी पत्रकारको हकहित र गुणस्तरीय पत्रकारिताको प्रवद्र्धनमा यस्ता पुरस्कारले थप ऊर्जा दिने बताएका थिए । उनीहरुले पुरस्कारको राशी वृद्धिमा दिएको जोडलाई सकारात्मक लिंदै अध्यक्ष गिरीले सोही अनुरुप गर्ने प्रतिबद्धता जनाए ।