भारत–नेपाल सीमावर्ती क्षेत्र कोहलपुरस्थित गायत्री शक्तिपीठ चन्हवामा आयोजित श्रीमद्भागवत कथा सप्ताह तथा गायत्री महायज्ञ समापन समारोहमा वक्ताहरूले अवैध लागूऔषध कारोबार नियन्त्रणदेखि सामाजिक सद्भाव र सनातन संस्कृतिको संरक्षणसम्मका विषय उठाएका छन् ।
कार्यक्रममा सहभागी सयौं थारू समुदायका महिला तथा पुरुषले अवैध नशा कारोबार, उत्पादन, खरिद–बिक्री र उपभोगबाट टाढा रहने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
समापन समारोहलाई सम्बोधन गर्दै नैमिषारण्यका पीठाधीश्वर व्यास सुरेश जी महाराजले सनातन समाजलाई मानवतामूलक सभ्यताको आधार भएको बताए । उनले सनातन समाजमा जातीय विभेद, छुवाछुत र सामाजिक भेदभावलाई स्थान नभएको उल्लेख गर्दै विश्वलाई शान्ति, एकता र सहअस्तित्वको सन्देश सनातन परम्पराले आदिकालदेखि दिँदै आएको धारणा राखे । उनले भने, ‘सनातन समाज आदि र अनन्त छ । यहाँ जातपात, छुवाछुत र विभेदको कुनै स्थान छैन । मानव मात्रलाई सुखी बनाउन सनातन शिक्षालाई व्यवहारमा लागू गर्नुपर्छ ।’
कार्यक्रममा प्रज्ञा पुराण कथावाचनका क्रममा व्यासपीठ सुरेश अवस्थीले भगवान राम र भगवान कृष्णको जीवनबाट समाजले अनुशासन, साहस र धर्मरक्षाको शिक्षा लिनुपर्ने बताए । उनले मर्यादा पुरुषोत्तम राम र कृष्णको जीवनचरित्रले अन्याय तथा अत्याचारविरुद्ध उभिन प्रेरणा दिने उल्लेख गरे । उनले भने, ‘राम र कृष्णको जीवनबाट प्रेरणा लिएर रामराज्य स्थापनाको अभियानमा सबैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।’
महामना मालवीय मिसन अवधका अध्यक्ष संजीव श्रीवास्तवले सीमावर्ती क्षेत्रमा बढ्दो अवैध नशा कारोबारप्रति चिन्ता व्यक्त गर्दै त्यसविरुद्ध व्यापक जनजागरण अभियान आवश्यक रहेको बताए । उनले लागूऔषधको असरले सयौं युवाको भविष्य अन्धकारतर्फ धकेलिएको उल्लेख गरे । उनले भने, ‘सीमावर्ती क्षेत्रमा अवैध नशाको प्रभाव गम्भीर बन्दै गएको छ । यसलाई नियन्त्रण गर्न सकिएन भने अवस्था भयावह बन्न सक्छ ।’
समारोहमा सहभागीहरूले अवैध नशा कारोबार, उत्पादन, प्रयोग तथा खरिद–बिक्रीविरुद्ध सामूहिक संकल्पसमेत गरेका थिए । कार्यक्रममा सहभागी थारू समुदायका धेरै महिला तथा पुरुष सनातन समाजमा दीक्षित भएका आयोजकले जनाएको छ ।
कार्यक्रममा सनातन समाजका नेता रोहित गुप्ता, कथावाचक श्रीधर शुक्ल, शिव चरण, कार्तिकेय, गायत्री परिवारका पदम चौधरी, रामकृष्ण थारू, राधे कृष्ण थारू, जीत बहादुर थारू, शिक्षाविद् मनोज राजा श्रीवास्तव, मनोज कुमार वर्मा, राधेश्याम गुप्ता तथा शान्तिकुञ्ज प्रतिनिधि डा विष्णु अर्याललगायत सयौं गायत्री परिजनको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन गायत्री शक्तिपीठ कोहलपुर महिला गायत्री परिवारकी कमला पौडेलले गरेकी थिइन् भने धन्यवाद ज्ञापन कार्यक्रम संयोजक सिद्धनाथ चौधरीले गरेका थिए ।
