बाँके लागुऔषध प्रयोग, कारोबार र जोखिमका हिसाबले निकै चुनौतिपूर्ण जिल्ला भएको बिहीबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सामाजिक विकास मन्त्रालयले बिहीबार नेपालगन्जमा आयोजना गरेको लागुऔषध दुव्र्यसन लगायतका कुलतमा लागेका उच्च जोखिममा रहेका युवाहरूको सचेचना सम्बन्धी अभिमूखिकरण कार्यक्रमका वक्ताहरूले बाँकेमा लागुऔषधको चुनौतिबारे बोलेका थिए ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री रत्न खत्रीले विद्यालय स्तरदेखि नै बालबालिकालाई लागुऔषध विरुद्ध सचेतना सिकाइनु पर्ने बताएका थिए । उनले दुव्र्यसनीको कुलत सबैको प्रयासले मात्रै न्यूनीकरण गर्न सकिने बताए । ‘प्रदेश सरकारले विद्यालयबाट कुलत विरुद्ध विद्यार्थीलाई सचेत बनाउने योजना बनाएको छ’, सामाजिक विकास मन्त्री खत्रीले भने, ‘लागुऔषध नियन्त्रण विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, नागरिक समाज, प्रहरी, प्रशासन, लागुऔषध विरुद्ध क्रियाशिल सबैको हालेमालोले सम्भव छ ।’
मन्त्री खत्रीले कुलतमा फँसेकालाई सुधार गर्ने र बालबालिकालाई सचेत बनाउनुले नै लागुऔषध विरुद्धको अभियान सफल हुने बताए ।
सामाजिक विकास डिभिजन कार्यालय बाँकेका उद्दव श्रेष्ठले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा बोल्दै मन्त्रालयका दिवाकर भण्डारीले लागुऔषधले पारेका नकारात्मक प्रभाव र त्यसविरुद्ध खेल्नुपर्ने भूमिका बारे बालेको थिए ।
कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले लहैलहै, रमाइलोमा लागुऔषध सेवन गर्नेहरू पछि त्यसलाई त्याग्न नसक्ने अवस्थामा पुग्ने गरेको बताए । उनले प्रहरीले जिल्लामा लागुऔषध विरुद्ध सुधारात्मक र मागमा कमी ल्याउन कार्यक्रम गरिरहेको तथा लागुऔषध विरुद्ध कानुनी कारवाही पनि गरिरहेको जानकारी दिए ।