बाँके निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणा अझै १५ दिन थुनामै बस्ने भएका छन् । तीनकुनेको आन्दोलनलाई भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं महामन्त्री डा. राणालाई अदालतले तेस्रोपटक म्याद थपसहित १५ दिन थुनामै राख्ने अनुमति दिएको हो ।
डा. राणा र मिश्रसहित २० जनालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले राज्यविरूद्धको कसुरमा १५ दिनको म्याद थप आदेश भएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
सोही घटनामा ५३ जनामाथि भने आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ । उनीहरूलाई भने २० दिनको हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।
सांसद डा. राणासहितका पक्राउ सबैलाई रिहाइको दबाब दिंदै बाँकेमा दैनिक जसो विरोधका विभिन्न कार्यक्रम भइरहेका छन् । राप्रपाले विरोध प्रदर्शनको संयोजन गरिरहेको छ ।