कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन् । बुधबार लेकवेशी नगरपालिका–३ सुर्खेत काप्रीखोला नजिक मदन भण्डारी राजमार्गमा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको हो । लेकवेशी नगरपालिका–४ दशरथपुरबाट लेखफर्सातर्फ जाँदै गरेको मधेस प्रदेश ०३००१ क २४९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको भे१ह ६६७५ नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट अटो चालक ४८ वर्षीया डिलबहादुर डडालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलबाट ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।
वीरेन्द्रनगर नगरपालिका–८ इत्राम खोलामा विद्यार्थी बोकेर हिँडेको डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर दुर्घटनामा हुँदा ११ जना विद्यार्थी घाइते भएका छन् । घाइते एक जनाको अवस्था गम्भीर रहेको प्रवक्ता विश्वकर्माले बताउनुभयो ।