दशौं धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खडक बहादुर खड्काले जितेका छन् । ४२.१९५ किलोमिटर दुरीको दौडमा उपाधिसंगै खड्काले दुई लाख रुपैयाँ पुरस्कार हात पारेका छन् । खड्का आठौं संस्करणका पनि विजेता हुन् । गत वर्ष एपीएफका गोपीचन्द्र पार्कीले उपाधि जितेका थिए ।
नेपाली सेनाकै राजन रोकाया द्वितीय र सेनाकै सुशील कुमार शाही तृतीय भएका छन् । द्वितीय भएका रोकायले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने तेश्रो स्थान प्राप्त गरेका शाहीले ५० हजार रुपैयाँ पाए । उपाधि जित्ने क्रममा खड्काले निर्धारित दूरी २ घण्टा १७ मिनेट ४८ सेकेन्डमा पूरा गरेका थिए । दोस्रो भएका रोकायाले निर्धारित दूरी २ घण्टा १७ मिनेट ५३ सेकेन्डमा पूरा गरे । रोकाया खड्का भन्दा पाँच सेकेन्डले पछि परेका हुन् । यस्तै, तेस्रो भएका सुशीलकुमार शाहीले २ घण्टा २१ मिनेट ४५ सेकेन्डमा दूरी पार गरे ।
२१ किलोमिटर हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । उनले लगातार चौथोपटक उपाधि जितेकी हुन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै सागकी स्वर्णपदकधारी श्रेष्ठले फेरि उपाधि जितेकी हुन् । सुर्खेतकी विमला कार्की तृतीय भइन् । प्रथम भएकी सन्तोषीले ७५ हजार, द्वितीय भएकी पुष्पाले ५० हजार र तृतीय स्थान हासिल गरेकी विमलाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
महिलातर्फ हाफ म्याराथनको उपाधि जितेकी सन्तोषीले निर्धारित दूरी १ घण्टा १७ मिनेट ३० सेकेन्डमा पूरा गरेकी थिइन् । दोस्रो भएकी पुष्पा भण्डारीले निर्धारित दूरी १ घण्टा १९ मिनेट १२ सेकेन्डमा पूरा गरिन् । यस्तै, तेस्रो भएकी विमला कार्कीले १ घण्टा ४९ मिनेट १५ सेकेन्ड र चौथो भएकी थिइन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पूरा हुन्छ । नेपालगञ्ज म्याराथनको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए । दशौं धारा नेपालगन्ज म्याराथनको उद्घाटन गर्दै प्रमुख विष्टले यो इभेन्टले नेपालगञ्जलाई म्याराथनको सहरका रुपमा चिनाएको बताए ।
सरकार र तत्कालीन विद्रोही माओवादीबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष मंसिर २२ गते आयोजना गरिएको हो । क्रियटिभ ह्याण्ड्सले नेपालगञ्ज म्याराथन आयोजना गर्दै आएको छ ।