बाँकेका स्थानीय तहले चालु आ.व.को ८ महिनामा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त गरेको कुल बजेटको संघ तर्फ ६४ र प्रदेश तर्फ ४९.२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आ.व.का लागि संघीय सरकारले ४ अर्ब २३ करोड २७ लाख ७० हजार ५ सय रूपैयाँ बजेट विनियोजन गरेकोमा २ अर्ब ७१ करोड ९ लाख ६ हजार ४ सय ६ रूपैयाँ खर्च गरेको छ । त्यस्तै, प्रदेश सरकार तर्फ बाँकेका आठ स्थानीय तहलाई प्राप्त कुल बजेट २५ करोड ७७ लाख ४५ हजार रूपैयाँ मध्ये १२ करोड ८२ लाख ६९ हजार १ सय ३ रूपैयाँ खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले उपलब्ध गराएको तथ्यांक अनुसार संघ र प्रदेश तर्फको खर्च सन्तोषजनक रहेको छ । प्रत्येक आर्थिक बर्षको अन्त्यतिर बजेट खर्च बढ्ने भएकाले दुई चौमासिकमा संघ र प्रदेश उपलब्ध गराएको बजेट स्थानीय तहले सन्तोषजनक खर्च गरेका हुन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार, संघ तर्फको बजेट चालु आ.व.को ८ महिनामा सबैभन्दा बढी बजेट समयमै कार्यान्वयन गरी खर्च गर्ने स्थानीय तह बैजनाथ गाउँपालिका हो । बैजनाथ गाउँपालिकाले संघबाट प्राप्त बजेट मध्ये चालु आ.व.को ८ महिनामा ७४.९ प्रतिशत र प्रदेश तर्फ ५६.४ प्रतिशत बजेट खर्च गरिसकेको छ । बैजनाथ गाउँपालिकाले चालु आ.व.का लागि संघबाट ५३ करोड ५६ लाख ८६ हजार रूपैयाँ प्राप्त गरेकोमा ४० करोड १४ लाख ३४ हजार २ सय ९४ रूपैयाँ खर्च गरेको थियो । प्रदेश तर्फ २ करोड ९६ लाख १० हजार बजेट प्राप्त गरेकोमा १ करोड ५७ लाख ६६ हजार ९ सय ५० रूपैयाँ खर्च गरेको छ ।
त्यस्तै, नेपालगन्ज उपमहानगरपालिकाले चालु आ.व.को आठ महिनामा संघ तर्फको कुल बजेट मध्ये ६७.६ प्रतिशत र प्रदेश तर्फको ४८.७ प्रतिशत बजेट खर्च गरेको कोलेनिकाको तथ्यांक रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले संघ तर्फ ९१ करोड ६९ लाख ७७ हजार रूपैयाँ बजेट प्राप्त गरेकोमा ६१ करोड ९५ लाख २८ हजार ७८ रूपैयाँ र प्रदेश तर्फ ५ करोड ४९ लाख ८३ हजार बजेट प्राप्त गरेकोमा २ करोड ६७ लाख ६३ हजार २ सय १० रूपैयाँ खर्च गरेको छ ।
त्यस्तै, कोहलपुर नगरपालिकाले संघ तर्फको ६७.१ र प्रदेश तर्फको ५०.४ प्रतिशत बजेट खर्चको गरेको छ । खजुरा गाउँपालिकाले संघ तर्फको कुल बजेट मध्ये ७०.९ र प्रदेश तर्फको ५४.६ प्रतिशत बजेट खर्च गरेको छ ।
जानकी गाउँपालिकाले संघ तर्फको बजेटको ५७.२, प्रदेश तर्फको ४६.२ प्रतिशत, डुडुवा गाउँपालिकाले संघ तर्फको ५४.५ र प्रदेश तर्फको ४६.४ प्रतिशत, नरैनापुर गाउँपालिकाले संघ तर्फको ५५.२ र प्रदेश तर्फको ४६.३ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाले संघ तर्फको ५५.६ प्रतिशत र प्रदेश तर्फको ४८.९ प्रतिशत चालु आ.व.को आठ महिनामा खर्च भएको कोलेनिकाको तथ्यांक रहेको छ ।
