जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज बजार व्यवस्थापन प्रभावकारिताका लागि स्थानीय होटल व्यवसायीहरूसँग बिहीबार अन्तरक्रियात्मक छलफल आयोजना गरेको छ । होटल व्यवसायी संघ बाँके नेपालगन्जका पदाधिकारी, तारे होटलका प्रतिनिधि लगायतको सहभागितामा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले व्यवसायिक सवालहरूमा छलफल गरेका हुन् ।
‘हाम्रा समस्याहरू सुन्ने र सुनुवाईका लागि प्रतिबद्धता व्यक्त गर्ने काम भएको छ’, होटल व्यवसायी संघका अध्यक्ष रंग बहादुर खड्काले झण्डै साढे ३ घण्टा चलेको छलफलपछि पाँच बूंदे निर्णय गरिएको जानकारी दिंदै भने । बैठकमा व्यवसायीहरूका तर्फबाट संघले बजारमा व्याप्त अराजकता, गैर कानुनी रूपमा पर्यटक बसका रूपमा विभिन्न पहाडी जिल्लाबाट यात्रुहरूलाई सोझै भारतका विभिन्न सहरहरूमा लगिंदा परिरहेको नकारात्मक प्रभावबारे जानकारी गराइएको प्रवक्ता एकराज पाण्डेयले जानकारी दिए । ‘सरासर गैर कानुनी रूपमा भैरहेको अवैध बस सञ्चालन रोकिनु पर्छ’, व्यवसायीहरूका तर्फबाट राखिएको माग उपर प्रजिअ जोशीले आवश्यक कारवाही गर्ने प्रतिबद्धता जनाएको जानकारी दिंदै पाण्डेयले भने ।
छलफलमा प्रशासनका तर्फबाट कानुन विपरितका गतिविधिहरू तत्कालै रोक्न होटल सञ्चालकहरूलाई निर्देशन गर्न संघको ध्यानाकर्षण गराइएको थियो । अवैध रूपमा सञ्चालन भैरहेको यौन धन्दा बन्द नगरिए व्यापक रूपमा प्रहरी परिचालन गरी कारवाही चलाइने चेतावनी दिंदै प्रशासनले त्यसपूर्व नै त्यस्ता गतिविधि बन्द गर्न संघ मार्फत सचेतना फैलाउन अनुरोध गरेको थियो ।
‘कानुन बमोजिम निर्धक्कसँग १२ बजे रातीसम्म पनि होटल व्यवसाय सञ्चालन गर्न तपाईलाई कसैले बाधा पार्दैन’, सु्रक्षा सुनिश्चितता व्यक्त गर्दै बाँकेका प्रजिअ जोशीले व्यवसायीहरूलाई विश्वस्त बनाए । ‘तर, अवैध क्रियाकलापका लागि कुनै पनि बेला छुट छैन’, प्रजिअ जोशीले त्यस्ता क्रियाकलापहरू पूर्णत निषेध गर्न चेतावनी दिंदै भने ।
प्रशासनसँग व्यवसायीहरूको छलफलपछि मर्यादित व्यवसायका लागि विभिन्न पाँच बूंदे निर्णय गरिएको छ । होटल व्यवसायीका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका तथा जिम्मेवारी र राज्यका तर्फ गरिनुपर्ने सहजीकरणका सम्बन्धमा भएको विशेष छलफल र समीक्षापछि व्यवसायिक सुरक्षा र व्यवसायिक अनुशासनमा जोड दिइएको बताइएको छ ।
होटल व्यवसायका क्रममा कुनैपनि अवाञ्छित गतिविधि हुन नदिने अवैध क्रियाकलापहरू पूर्णत निरुत्साहित गर्ने निर्णय गरिएको उल्लेख छ ।