नेपालगन्जको कान्तितालमा जलिय जैविकता संरक्षणसहितको विकल्प अपनाउन संरक्षणकर्मीहरूले सुझाव दिएका छन् ।
नेपालगन्जको कान्तितालमा अवलोकलनका लागि बर्दिया र कैलालीबाट आइपुगेका चरा विज्ञ लगायतको टोलीले मोटरबोटरको विकल्पमा प्राकृतिक चरापार्क बनाएर आम्दानी गर्न सकिने विकल्प बताएका छन् । नेपालमा चराको खोज, अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको नेपाल पंक्षि संघका प्रोजेक्ट फिल्ड अफिसर हिरू डगौँराले कान्तितालमा बुधबार करिब डेढ घण्टाको अवलोकनमा ३२ प्रजातिका चरा देखिएको बताउदै भने ‘तालमा ३ प्रजातिको कमलको फूल छ, सबैभन्दा बढी जलअप्सरा जातका पंक्षिहरू छन् । विश्वको दुर्लभ चरा सारसको प्रजनन गर्ने ठाँउका रूपमा कान्तिताल छ ।’ सिमसार क्षेत्रमा मात्र प्रजनन् गर्ने नेपालको स्थानीय चरा जलअप्सराले निश्चित सिमसार क्षेत्र मात्र छनौट गर्ने गरेको बताउदै डगौँराले बाँकेमा कान्तिताल, बर्दियामा बढैयाताल, कैलालीमा घोडाघोडी र कन्चनपुरको पुरैनी ताल छनौट गरेको अनुभव सुनाए ।
जलवायु परिवर्तन र मानविय व्यवहारले नेपालका सिमसार क्षेत्रमा चराहरू खतरामा छन् । बाक्लो बस्ती भएको नेपालगन्ज सहरको पर्यावरणका लागि पनि कान्तिताल महत्वपुर्ण रहेको बताउदै डगौँराले भौतिक निर्माण मात्र विकास नभई, जैविक विविधताको संरक्षण गर्ने सोच पनि यस परिभाषामा अटाउनुपर्ने बताए । ‘पर्यावरण स्वच्छ हुनु भनेको यहाँका मानीसको स्वास्थ्य पनि स्वच्छ हुनु हो’ उनले भने ।
बाघ, हात्ति, वन संरक्षणको कुरा हुने तर जलिय जैविक विविधताकोे कुरा कम हुने गरेको उनले दुःखेसो गरे । स्थानीय सरकारले यस्ता सिमसार क्षेत्रहरूमा दिगो विकासको अवधारणा अनुसार विकास गर्नुपर्ने उनको भनाई छ । प्रकृतिसंग रमाउन चाहिरहेका सहरका मानीसहरूलाई चरा देखाउन, यहाँका स्कुल, कलेजहरूलाई लक्षित गरि जैविक विविधता सिकाई सेन्टरका रूपमा पनि तालको विकास गरेर आम्दानी गर्न सकिने उनको सुझाव छ ।
पंक्षि विशेषज्ञ रामबहादुर शाहीले ताल अवलोकन पछि बाँके बर्दियामा भएका सिमसार मध्य राम्रो अवस्थाको तालका रूपमा कान्तिताल देखिएको बताए । नेपालमा संरक्षणको सुचिमा ९ प्रकारका सारस रहेकोमा ती मध्य ६ वटा तराईमा देखिने र ३ वटा कान्तितालमा देखिएको बताए । जाडोयाममा साइबेरिया, श्रीलंका लगायतका देशबाट आउने चरा यहाँ आराम गरेर भारत जाने र त्यहाँबाट फेरी यहाँ आएर फर्कने गरेकोले यो ताल महत्वपुर्ण रहेको उनको भनाई छ ।
बर्दियाको बढैयाताल ठेक्कामा गएपछि वातावरणमैत्री व्यवहार नहुँदा ताल सुक्दै गएको उदाहरण दिदैँ यहाँको अवस्था पनि त्यसो हुन नदिन स्थानीय समुदाय पनि जागरूप हुनुपर्नेमा उनको जोड छ । मोटरबोट चलाउनका लागि तालभित्रको चराको प्राकृतिक वासस्थान नास हुने, भ्यागुता, सर्प लगायत पानीमा आश्रीत असंख्य सुक्ष्म प्राणीलाई मोटरबोटको वातावरण र हलचलले असर गर्ने भएकाले मोटरबोटको सट्टामा काठको डुंगा प्रयोग गर्न सकिने उनको पनि सुझाव छ ।
तालको झारलाई चराले बासस्थानका रूपमा प्रयोग गर्ने मात्र नभई झारले पानी जम्मा गर्ने काम गर्छ । यस्ता तालबाट जमिन पुर्नभरण हुने बताउदै शाहीले भने ‘झार भएन भने ताल छिटो सुक्छ । तालले चराहरूको मात्र नभई यहाँको पर्यावरणको पनि सुरक्षा गर्छ’। यहाँ हरेक वर्ष सुख्खायाममा हातेपम्पहरूमा पानी सुक्ने समस्या देखिने गरेको छ ।
नेपालमा कम भएकाले यस्ता सिमसार क्षेत्रको संरक्षण गर्ने दायित्व जिल्ला वन कार्यालयको भएको उनी बताउछन् । यता डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाही कार्यालयले तालमा वृक्षारोपण लगायतका कार्यक्रम गरेको बताउदै उनी यसको संरक्षणको अपनत्व स्थानीय सरकारले लिनुपर्ने बताउछन् ।
स्थानीय एवम् संरक्षणकर्मी आशिष कुमार चौधरीले नेपालगन्ज क्षेत्रमा आगन्तुक चरा आउने अरू सिमसार नभएको बताए । यस क्षेत्रमा हरेक वर्ष हुने चरा गणना कार्यमा सहभागी भइसकेका उनी भन्छन् ‘जिल्लामा यहाँजस्तो ठुलो र चरामैत्री ठाँउ छैन ।’
चैधरीका अनुसार कोहलपुर भन्दा माथी सुतैँया ताल भएपनि सानो क्षेत्रफलमा छ । फुल्टेक्रा तालमा पनि क्रिक्रेट मैदान वा संरक्षण बनाउने भन्ने विषयमा विवाद छ ।
२ वर्ष अगाडी धम्बोझीमा रहेको वाटरपार्कमा सयौँ चराहरू गणना गरिएको भएपनि मोटरबोट चले यता चरा नदेखिएको उनले बताए । यहाँको जस्तो अवस्था हुन नदिन आफुहरूले निरन्तर खबरदारी गरिरहेको अर्का स्थानीय संरक्षणकर्मी डा. विनोद कर्ण बताउछन् । आफुहरू कसैको रोजगारी मास्ने पक्षमा नभएको भन्दै डा. कर्णले सिमसार जोगाउदै आम्दानी गर्नेतर्फ व्यवसायीले सोच्नुपर्ने बताए ।
नेपालगन्ज उपमहानगर–पालिकाको वडा नम्बर २१ र २२ अन्तर्गत २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त तालमा आर्थिक क्रियाकलाप सन्चालन र व्यवस्थापनको ठेक्का लिएका ठेकेदारले मोटर बोट चलाउने तयारी गरेपछि स्थानीय संरक्षणकर्मीहरू सिमसारलाई प्राकृतिक रूपमै संरक्षण गरेर आयआर्जनका लागि विकल्प रोज्न आह्वान गरिरहेका छन् ।
तालमा मोटरबोट सन्चालन गर्नका लागि परीक्षण भइसकेको छ । नेपालगन्ज उपमहानगरपालिकाले वातवरणिय प्रभाव मुल्यांकन गरेर तालको विकासलाई अघि बढाउनुपर्ने स्थानीयको माग छ । विगत दुई वर्ष देखि उक्त तालमा चरा गणना सुरु गरिएकोमा पहिलो वर्ष तालमा २५ प्रजातिका चरा फेला परेका थिए । यस्तै दोस्रो वर्ष घटेर २२ प्रजातिका मात्रै चरा फेला परेका थिए ।






























