सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्जले पशुपति शाह स्मृति पुरस्कारबाट दुई जना साहित्यकारलाई पुरस्कृत गरेको छ ।
शनिवार नेपालगन्जमा भएको साहित्यिक कार्यक्रममा पशुपति शाह स्मृति पुरस्कारबाट साहित्यकार पुष्कर रिजाल र चरित्रा शाहलाई पुरस्कृत गरिएको हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष रिजाल र ज्ञानोदय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शाहलाई जनही १० हजार राशीको उक्त पुरस्कार अर्पण गरिएको प्रतिष्ठानले जनाएको छ ।
पुरस्कार संस्थापक जितबहादुर शाहले वि.स.२०७८ बाट प्रदान गर्न थालिएको पशुपति शाह स्मृति पुरस्कार पछिल्लो दुई वर्षको यसैवर्ष एक साथ प्रदान गरिएको हो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शशिराम कार्कीको ‘रूकुमका लोककथा’, पुरस्कार संस्थापक जित बहादुर शाहको लघुकथा सङ्ग्रह ‘ध्यानाकर्षण’ र पुरस्कृत व्यक्तित्व गणेशा कार्कीको मुक्तक सङ्ग्रह ‘अभिलाषा’ विमोचन भएका छन् ।
वरिष्ठ कथाकार सनत रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रूकुमका लोककथाको समीक्षा लेख प्याकुरेल र ध्यानाकर्षण लघुकथाको समीक्षा हरि सुवेदीले गरेका थिए भने, सुर्खेतका गजलकार ऋषि शर्मा सुदामा, भुपेन्द्र शर्मा र प्रकाश मरासिनीले रचना वाचन गरेका थिए ।
