- नेकपा एमालेले मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलब्न गरेको जानकारी गराएको छ ।
- सिरहा कारागारका मुख्य नाइके धनुषाका विजय महतो र उनको साथी सिरहाकै इन्द्रजित यादवले कारगार भित्रै मादक पदार्थ सेवन गर्ने गरेको भिडियो बाहिरिएको छ । कर्तव्य ज्यान मुद्दामा जेल सजाय काटिरहे दुवै कैदीले मदिरा पिउँदै मोबाइल चलाइरहेको भिडियो देखिन्छ ।
- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासका लागि सरकार र राजनीतिक दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसर शनिबार आयोजित कार्यक्रममा उनले सुशासन र आर्थिक विकासका माध्यमबाट सरकार र राजनीति दलप्रति नागरिकको विश्वास बढाउनुपर्ने बताए ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समग्र समृद्धिका लागि दौड आवश्यक रहेको बताए । तेस्रो ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’को उद्घाटन गर्दै उनले यस प्रतियोगिताले नेपाल र चीनबीचको सम्बन्ध झन प्रगाढ हुने बताए ।
- काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको छात्रावास (होस्टेल) को अभिलेखीकरण सुरु गरेको छ । महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइने छ ।
- आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ ।
दुबईमा भइरहेको प्रतियोगितामा १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । - प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन भएको छ ।
शुक्रबार दैलेख र सुर्खेतको सिमाना रातानाग्ला गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरेका हुन् । - राजस्व चुहावट नियन्त्रण गर्ने बारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले ८ वटा निर्णयहरू पनि गरेको हो । राजस्व चुहावट नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयमा राजस्व हेर्ने सम्बन्धित महाशाखा प्रमुखको संयोजकत्वमा सुरक्षा निकायका प्रहरी नायव महानिरीक्षकहरू समेत सदस्य रहने गरी दुई बेग्लाबेग्लै अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ ।
देशमा आजः ८ बजे ८ खबर
