बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले शिक्षक पदमा शर्मालाई मंगलबार सुनको तक्मासहित बिदाई गरेको छ । ३६ बर्षदेखि सोही विद्यालयमा अध्यापनरत् शिक्षक शर्मालाई मंगलबार भव्य कार्यक्रम गरी बिदाई गरेको हो ।
२०४५ साल भाद्र १२ गतेदेखि ज्ञानोदयमा अस्थायी शिक्षकका रूपमा सेवा प्रवेश गरकी शर्माले २०४८ मा स्थायी भई शर्माले २०८१ कार्तिक ३० गते सेवा निवृत्त भएकी थिइन् । ‘झण्डै चार दशक शिक्षकका रूपमा निरन्तर सेवारत् शर्माको बिदाईमा विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारी परिवारले गरेको यो सम्मानले शिक्षक वर्गकै गरिमा बढाएको छ’, कार्यक्रममा सहभागी शिक्षकहरू भन्दैथिए, ‘समाजमा शिक्षण पेशा प्रति बढ्दै गैरहेको निराशालाई पनि यसले उत्साहमा परिणत गर्न सहयोग पुर्याएको छ ।’
विद्यालय व्यवस्थापन समितिले सेवा निवृत्ति शिक्षक शर्मालाई एकलाख बराबरको सुनको तक्मा लगाएर कार्यक्रम बीच सम्मान गर्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसरा भण्डारीको अध्यक्षतामा भएको भव्य कार्यक्रम बीच प्रधानाध्यापक ऋषिराम सापकोटाले शर्माको शैक्षिक योगदानको चर्चा गरे ।
विद्यालयले शिक्षक शर्माको संक्षिप्त जीवन उल्लेखित ताम्रपत्र समेत प्रकाशन गरेको छ । ‘शिक्षक, कर्मचारीहरूको एकदिनको तलबबाट संकलित ६५ हजार बराबरको सुनको गहनाले शर्मालाई शिक्षक, कर्मचारी परिवारले सम्मान पनि गर्यो’, शिक्षक शर्माको जीवनी वाचन गरेका ज्ञानोदयका सहायक प्रधानाध्यापक यम नारायण महतराले दैनिक नेपालगन्जसँग भने, ‘भूतपूर्व विद्यार्थीहरूको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको छ ।’ खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिको प्रमुख आतिथ्यतामा भएको शिक्षक बिदाई कार्यक्रममा वडाध्यक्ष पूर्ण बहादुर भण्डारी, शिक्षक अभिभावक संघ अध्यक्ष मान बहादुर भण्डारी लगायतले बोलेका थिए ।
