‘व्यवसायी कठिन मोडमा’

नेपालगन्जका व्यवसायीहरूले आर्थिक क्षेत्र संकटमा रहेको धारणा राखेका छन् । प्रजातान्त्रिक उद्योगी व्यसवायी संघ बाँकेले शुक्रबार नेपालगन्ज आयोजना गरेको एउटा कार्यक्रममा व्यवसायीहरूले व्यवसायिक रूपमा राष्ट्र अत्यन्तै गम्भीर र कठिन मोडमा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले शुक्रबार आयोजना गरेको स्वागत, सम्मान तथा उत्प्रेरणा कार्यक्रममा सहभागी वक्ताहरूले कार्यक्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाले भने, ‘व्यवसायिक रूपले राष्ट्र अत्यन्तै गम्भीर र कठिन मोडमा उभिएको छ । विशेष गरेर आर्थिक अवस्था, आर्थिक क्रियाकलाप राष्ट्रिय स्तरमा मात्रै नभएर तल्लो तह, गाउँगाउँसम्म इकोनोमिक डिप्रेसनको अवस्थाबाट गुज्रिरहेको छ ।’ अध्यक्ष थापाले भने, ‘यो अवस्थामा राष्ट्रका नीतिहरू जसमा आर्थिक अथवा मौद्रिक पर्न सक्छन, जुन समय सुहाउँदो हँुदैन त्यसलाई संशोधन गर्न जरुरी छ ।’

नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति तथा कार्यक्रमका प्रमुख अतिथि नारायण प्रसाद गौडेलले नेपालगन्ज सहर सम्भावना नै सम्भावनाले भरिएको सहर भएको हुँदा यहाँको सम्भावनालाई पहिचान गर्न तर्फ सम्पूर्ण व्यवसायका नेतृत्व गर्ने संघहरू लाग्नु पर्ने बताउँदै भने, ‘नेपालगन्जलाई औद्योगिक सहरका रूपमा विकास गर्नका लागि यहाँका सम्भावनाहरूको पहिचान गर्दै अगाडि बढ्नु पर्दछ ।’

‘प्रदेशको प्रशासनिक अंगहरू नेपालगन्जबाट जाँदैमा सबै सकिने भन्ने हुँदैन, नेपालगन्ज पश्चिमको पुरानो र प्रशस्त सम्भावनाहरू बोकेको सहर भएको हँुदा निर्वाचन केन्द्रित मात्रै नभै सम्पूर्ण व्यवसायीहरूको हितका नीतिहरू निर्माण गरिनु पर्दछ’, सभापति गौडेलले भने, ‘व्यवसायीका समस्याहरूको समधानका लागि जस्तोसुकै निर्णय लिनु परेमा बाँके नेपाली कांग्रेस पछि हट्ने छैन ।’

यसैगरी नेपाली कांग्रेस बाँकेका जिल्ला उपसभापति तथा प्रजातान्त्रिक उद्यागी व्यवसायी संघ बाँकेका सल्लाहकार समेत रहेका गोपाल प्रसाद अधिकारीले व्यवसाय गर्नका लागि नेपालका कतिपय ऐन कानुनहरू बाधक भएको हँुदा व्यवसाय गर्नका लागि निम्ति निकै कठिनाईको सामना गर्नु परेको बताउँदै भने, ‘सरकारका अमिल्दा व्यवसायिक नीतिहरूका कारणले कतिपय व्यवसाय गर्न निकै अप्ठयारो परेको देखिन्छ अतः नेपाल सरकारकाले बाधक बनेको नीति तथा कानुनहरूलाई संशोधन गरेर व्यवसाय गर्न सक्ने वातावरण सृजना गर्नु पर्दछ ।’

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले वर्तमान अवस्थामा देशको आर्थिक अवस्था निकै चिन्ताजनक भएको अवस्थामा यस्ता समस्याको समाधान गर्नका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले नेतृत्व लिनु पर्ने बताउँदै भने, ‘देशको आर्थिक अवस्था निकै चिन्ताजनक छ, सबै व्यवसायीहरूको अवस्था निकै दुख लाग्दो रहेको छ, हामी नेतृत्वमा छौ तर पनि केही गर्न सकिरहेको छैन, यस्ता समस्याहरूको समाधानका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले नेतृत्वदायी भुमिका खेलोस,सहयोग गर्न हामी तयार छौ ।’

कार्यक्रममा वरिष्ठ उद्योगपति प्रदिप छाजेडले भने, ‘नेपालगन्जलाई औद्योगिक नगरीका रूपमा विकास गर्न सकिने भएता पनि भारतमा चल्ने रेललाई नेपालगन्जसम्म जोड्न पर्छ, यसमा सरकारलाई दबाव दिन सकियो उद्योगी व्यवसायीहरू मिलेर यसमा आवाज उठाउन सकियो भने सम्भावना रहन्छ । वरिष्ठ उद्योगपछि छाछेडले भने, ‘खुल्ला सिमा नाकालाई दोष दिंदै अवैध व्यापारको हामीले कुरा गर्दछौ तर यसमा नियमन भएको हामीले पाउँदैनौ ।’ उनले अति आवश्यक, आवश्यक र व्यवसायिक भ्याट एकै प्रकृतिको रहेकोमा असन्तुष्टि व्यक्त गरे । ‘जसले गर्दा दैनिक उपभोग्य सामान र व्यवसायिक प्रयोजनका लागि आउने समानमा समान कर लाग्छ यसले अवैध व्यपारलाई सहयोग गरिरहेको हुन्छ’, उनले भने ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आयोजना गरेको कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारी कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ बाँकेका पदाधिकारी तथा कार्यसमिति सदस्य, नेपाल प्रेस युनियनका तर्फबाट नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य र लुम्बिनी प्रदेश परिषद् सदस्यहरूलाई बधाई तथा स्वागत कार्यक्रममा प्रशिक्षक रवि किरण श्रेष्ठले उद्योग व्यापारमा सकारात्मक सोच ल्याउँदा सफलता प्राप्त गर्न सकिने बताउँदै प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकका अध्यक्ष नविन गिरी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका उपाध्यक्ष प्रदिप गुप्ता, नेपाल कानुन व्यवसायी परिषद सदस्य ईश्वरी ज्ञवाली, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका प्रवक्ता मख्खन धामी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष शिव प्रसाद दाहाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष गोपाल गिरी लगायतले शुभकामना व्यक्त गरेको कार्यक्रमको सहजीकरण संघ सचिव हिमनाथ पौडेलले गरेको थिए ।

Exit mobile version