राष्ट्रवादी जनशक्ति उत्पादनमा जोड

पशुपति इङ्गलिस मिडियम माध्यमिक विद्यालय आफ्नो स्थापनाको रजत जयन्ती तथा ३१ औं बार्षिक दिवस आयोजना गरेको छ । शुक्रबार उत्कृष्ट विद्यार्थी, उच्च ओहदामा पुगेका पूर्व विद्यार्थी, निरन्तरका अभिभावक, उत्कृष्ट कर्मचारीदेखि स्थापनाकालका विद्यार्थीहरू समेतलाई सम्मानका लागि आयोजना गरिएको रजत जयन्तीमा वक्ताहरूले जनशक्ति उत्पादनमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. राजेश केशर खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला विकास तथा समन्वय इकाइ बाँकेका निमित्त प्रमुख लोक बहादुर शाहीले मातृ भाषाबाट शैक्षिक विकास गर्दै राष्ट्रवादी जनशक्ति उत्पादन गर्न सुझाव दिए ।

संस्थागत विद्यालयले उत्पादन गरेको जनशक्ति प्राविधिक क्षेत्रमा बढी भएको औंल्याउँदै शाहीले राष्ट्र सेवक कर्मचारी पनि आकर्षण बढ्ने गरी शैक्षिक विधिको विकास गर्न जोड दिए । ‘तपाई पहिले मातृ भाषा, त्यसपछि नेपाली र अनिमात्रै अंग्रेजीलाई प्राथमिकता दिएर पढाई, सिकाई विधि बनाउनुस्’, अधिकांस जनशक्ति विदेश पलायन भैरहेको तर्फ इंगित गर्दै प्रमुख शाहीले भने, ‘बरु नेपाली र अंग्रेजी दुवैलाई प्राथमिकता दिएर अगाडि बढ्नुस् ।’ उनले मातृभाषाबाट बालबालिकाको पढाई शुभारम्भ गर्न विद्यालयलाई सुझाव दिए ।

कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले भने पढाईको स्तर अब ‘ग्लोबली’ हुनुपर्ने बताए । ‘हामीले उत्पादन गरेका जनशक्ति विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ’, शिक्षण विधिलाई प्रविधिसँग जोडेर अगाडि बढ्न सुझाव दिंदै बज्राचार्यले भने, ‘संस्थागत विद्यालयले आफुलाई त्यस ढंगले तयार गरिरहेका छन् ।’

नेपालगन्ज–२० का वडाध्यक्ष कौशल कुमार धोबीले संस्थागत विद्यालयहरूलाई नेपालगन्ज उपमहानगरपालिकाले नियमन गरिरहेको बताए । वडाध्यक्ष धोबीले सरकारले सुनिश्चित गरेको छात्रवृत्तिलाई पशुपतिले पालना गरेको जानकारी दिंदै ‘अटेरी गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउन लागिएको’ पनि सुनाए । विद्यालयका पूर्व विद्यार्थी जानकीका वडाध्यक्ष टिका यादव, नेपाल सरकारका पूर्व सहसचिव रामसुरेश यादव, रेडक्रस मनिकापुर उपशाखाका सभापति नमराज सापकोटा, मनिकापुर गाविसका पूर्व अध्यक्ष पदम अर्याल, पूर्व विद्यार्थी लगायतले कार्यक्रममा बोलेका थिए ।

विद्यालयका प्रिन्सिपल देवराज चौधरीले सञ्चालन गरेको कार्यक्रममा इन्जिनियरहरू विरेन्द्र बर्मा, अनिल कुमार बर्मा, सन्तोष रावल, गिता श्रेष्ठ, सन्दिप श्रेष्ठ, विवेक देव, राजकुमार भण्डारी, सिर्जन भण्डारी, अर्पण केशर खनाल, केशव शाही, आशा बोहरा, आकाश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

पशुपतिबाट शिक्षा आर्जन गरी उच्च शिक्षामा जाने डा. विवेक यादव, डा. अवदेश बर्मा, डा. लक्ष्मण यादव, डा. रिता श्रेष्ठ, डा. निकिता शाह, डा. अरूण कुमार बर्मा, डा. सीमा बर्मा, डा. नविना श्रेष्ठ, डा. ऋतुराज कुशवाह र भौतिकशास्त्रमा अमेरिका बसेर विधावारिधी गरिरहेकी नेपालगन्ज–१८ की आकांशा मिश्रा र उनका अभिभावकलाई विद्यालयले सम्मान गरेको थियो । पहिलो ब्याचका विद्यार्थी इन्जिनियर विजय केशर खनालले आफ्नो शैक्षिक केरियरमा पशुपतिको योगदानबारे खुलेर प्रशंसा गरेका थिए ।

विद्यालयको निर्देशक डा. अवनिन्द्र मिश्रले २०५१ सालमा ग्रामीण क्षेत्रमा पनि स्तरीय शिक्षा दिन आवश्यकता महसुस भैरहेका बेला स्थानीयबासी समेतको माग र आकर्षणका आधारमा आफुहरूले राँझामा पशुपति इङ्गलिस मिडियम स्कुल सञ्चालनमा ल्याएको जानकारी दिंदै अभिभावकको आग्रह र संस्थापकहरूको उद्देश्यलाई विद्यालयले परिपूर्ति गरेको बताए ।

‘तपाईले यहाँबाट उच्च शिक्षाका लागि गएका विद्यार्थी बालबालिकाका उपलब्धी र उचाई हेर्नुभयो भने त्यो कुरा पुष्टि हुन्छ’, डा. मिश्रले भने, ‘हामीले सोचे जस्तै नतिजा ल्याउन सफल भएका छौं ।

Exit mobile version