आगलागीबाट एक करोडको क्षति

शनिबार एकाविहानै आगलागीबाट क्षतिग्रस्त भएको सुर्खेतरोड धम्बोझी स्थित रोयल क्याफे तत्कालैबाट पुनर्निर्माण सुरु गरिएको छ । शनिबार एकाबिहानै विद्युत सट् हुँदा आगलागी भएपछि नजिकैको भवनमा सुरक्षा गार्डले थाहा पाएर धम्बोझी चोकमा तैनाथ प्रहरीलाई सूचना दिएका
थिए ।

‘मैले साढे चार बजेतिर धुँवाको मुस्लो देखेपछि प्रहरीलाई सूचना गरे’, प्रत्यक्षदर्शी ती सुरक्षा गार्डले दैनिक नेपालगन्जसँग भने, ‘त्यसपछि मात्रै क्याफे पछाडि रहेका कर्मचारीलाई उठाउन गएँ ।’ बाँके प्रहरीका अनुसार विहान साढे ६ बजे मात्रै दमकलले प्रहरीहरूको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको थियो । ‘सूचना साथ प्रहरीले दमकल बोलाएर आगो नियन्त्रण प्रयास गरेको हो’, बाँके प्रहरीका डिएसपी दिपक पातलीले दैनिक नेपालगन्जसँग भने, ‘६.४० बजे आगो नियन्त्रणमा लिइसकिएको थियो ।’

प्रारम्भिक विवरण अनुसार, विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

क्याफे सञ्चालक कमल शाहीले आफुले सूचना पाएर आउँदा दमकल आइसकेको बताए । ‘म आइपुग्दा प्रहरी, स्थानीयबासी र दमकलकर्मीहरू आगो नियन्त्रणका लागि खटिइसक्नु भएको थियो’, क्याफे पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिंदै शाहीले दैनिक नेपालगन्जसँग भने, ‘एक करोड बढीको नोक्सानी भएको छ ।’ उनले क्षतिभन्दा तत्काल कसरी क्याफे सञ्चालनमा ल्याउने भन्ने कुरामा आफु केन्द्रित भएको बताए । सञ्चालक शाहीले त्यसो भनिरहँदा अबेर रातीसम्म ७ जना श्रमिक सरसफाई तथा पुनर्निर्माणको काममा सक्रिय भैसकेका थिए ।

‘एकसाता भित्रै क्याफेलाई आंशिक रूपमा सञ्चालनमा ल्याइसक्ने गरी काम अगाडि बढाइसकेको छु’, युवा उद्यमी शाहीले प्राविधिक कारणले भएको आगलागी नदोहोरिन आवश्यक विधिबारे पनि आफुले अध्ययन गरिरहेको बताउँदै भने, ‘मेरो पहिलो प्राथमिकता तत्काल रोयल क्याफेका पारखी कष्टमरलाई नियमित सेवा प्रवाह गर्ने नै हो ।’

Exit mobile version