गोल्डेन एबिसी एकेडेमी बाँके हाई स्कुलले मनायो १६औं बार्षिकोत्सव

गोल्डेन एबिसी एकेडेमी बाँके हाई स्कुलका प्रिन्सिपल मधु सिंह खत्रीले आफ्नो विद्यालयमा विद्यार्थीहरूलाई पढाई र सिकाईको ज्ञान अवसरका रूपमा रूपान्तरण गर्न प्रेरित गरिरहेको बताएकी छन् ।

शनिबार विद्यालयको १६औं बार्षिकोत्सव समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा बार्षिकोत्सवका आमन्त्रित अतिथिहरू बीच प्रिन्सिपल खत्रीले भनिन्, ‘विद्यार्थीलाई आएर सिकाउन पढाउन सजिलो छ । तर, उनीहरूलाई जीवनमा केही गर्न प्रेरित गर्न साँच्चै गाह्रो छ ।’ प्रिन्सिपल खत्रीले गोल्डेन एबिसी एकेडेमीको शिक्षण सिकाई विधी र यसलाई व्यवहारिक रूपान्तरणमा आफुले गरिरहेको प्रयासप्रति अभिभावकहरूलाई जानकारी दिंदै भनिन्, ‘यहाँ, हामीले हाम्रा विद्यार्थीहरूलाई विद्यालयमा गतिविधि र जीवन अवसरमा प्रेरित गर्यौं, जसले उनीहरूलाई स्थानीय रूपमा मात्र होइन विश्वव्यापी रूपमा पनि बढ्न मद्दत गर्यो ।’

प्रिन्सिपल खत्रीको भनाइलाई पुष्टि गर्दै विद्यालयका प्रबन्ध निर्देशक विकास बहादुर सिंहले गोल्डेन एबिसीले १६औं बार्षिकोत्सव मनाइरहँदा हजारौं पूर्व विद्यार्थीहरूले आर्जित ज्ञानलाई उच्चतम तहमा उपयोग गर्दै ग्लोबली प्रतिस्पर्धा गर्दै अगाडि बढिरहेको जानकारी दिए । ‘हाम्रा पूर्व विद्यार्थीहरू विश्वका धेरै देश पुगेर महत्वपूर्ण जिम्मेवारी कार्यसम्पादन गरिरहेका छन्’, प्रबन्ध निर्देशक सिंहले दैनिक नेपालगन्जसँग भने, ‘उनीहरूको तथ्यांक हामीसँग छ, जुन विद्यार्थीहरू नेपालमै पनि राष्ट्रसेवादेखि उद्यम तथा निजी क्षेत्रमा राम्रो प्रगति गरिरहेका छन् ।’ उनको भनाइलाई पुष्टि गर्दै अभिभावक समेत रहेका नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले गोल्डेन एबिसीले उत्पादन गरेका विद्यार्थी उच्च शिक्षामा महत्वपूर्ण ढंगले अगाडि बढिरहेको धारणा राखे ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा रहेको गोल्डेन एबिसी एकेडेमी बाँके हाइस्कुलले आफ्नो १६औं बार्षिकोत्सव शनिबार औपचारिक कार्यक्रम बीच मनाएको छ ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै विद्यालयकी प्रिन्सिपल मधु सिंह खत्रीले विद्यालयको लक्ष्य थप उचाईमा पुर्याउने रहेको बताएकी छिन् । उनले विद्यालय क वर्गमा सूचिकृत भएको जानकारी दिंदै त्यसका लागि भूमिका निर्वाह गर्ने सरोकारवाला सबैप्रति शुभकामना व्यक्त गरिन् । ‘उत्कृष्ट व्यवस्थापन, शिक्षक, कर्मचारी, विद्यार्थी अभिभावकको मेहनतले विद्यालय क वर्गमा पर्न सफल भएको हो’, उनले विद्यालयलाई थप उचाईमा पुर्याउन उत्कृष्ट टिम रहेको धारणा राख्दै भनिन् ।

प्रिन्सिपल खत्रीले गोल्डेन एबिसी एकेडेमी बाँके हाइस्कुलका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेको बताउँदै स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिएको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्काले गोल्डेन एबिसीले शिक्षामा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । ‘विद्यालयले भविष्यका कर्णधार उत्पादन गरिरहेको छ’, उनले गोल्डेन एबिसीले दिइरहेको शिक्षा प्रति विश्वास व्यक्त गर्दै भने ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष गोपाल पुनले नेपालगन्जमा रहेका उत्कृष्ट विद्यालय मध्ये गोल्डेन एबिसी एकेडेमी बाँके हाइस्कुल पनि एउटा भएको बताए । ‘गोल्डेन एबिसीले विद्यार्थीलाई अध्यापन गर्ने मात्रै नभई समग्र विकास गरिरहेको छ’, अध्यक्ष पुनले भने ।

‘उत्कृष्ट व्यक्तित्व विकास गर्ने काम शिक्षाले गर्ने उल्लेख गर्र्दै वडाध्यक्ष पुनले त्यसका लागि शिक्षाको भूमिका महत्वपूर्ण रहेको र गोल्डेन एबिसीले त्यो गरिरहेको बताए । उनले शिक्षा परिवर्तनका लागि शक्तिशाली हतियार भएको बताउँदै वर्तमान समयमा समयानुकुल शिक्षा आवश्यक भएको बताएका थिए ।

कार्यक्रममा नेपालगन्ज वडा नं. 7 का वडाध्यक्ष प्रशान्त श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । गोल्डेन एबिसी एकेडेमीका विद्यार्थीहरूले सञ्चालन गरेको बार्षिकोत्सव कार्यक्रममा विद्यालयबाट सञ्चालन गरिएको खेलकुद तथा कक्षागत उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित र पुरस्कृत पनि गरिएको थियो ।

विद्यालयका संस्थापक प्रबन्ध निर्देशक विकास बहादुर सिंहले दैनिक नेपालगन्जसँग कुरा गर्दै आफुहरूले विद्यार्थीहरू भोलिका दिनमा देशका कर्णधार भएकाले उनीहरूलाई सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा पनि प्रदान गरिरहेको बताए । ‘अहिलेको समयमा विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै महत्वपूर्ण रहेको छ, त्यसै अनुसार विद्यालयले प्राथमिकता दिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ’, उनले भने ।

गोल्डेन एबिसी एकेडेमी बाँके हाइस्कुले अध्यापन बाहेक खेलकुद, विभिन्न अवसरमा विद्यार्थीहरूलाई त्यसको जानकारी गराउने र अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई उत्प्रेरित गर्दै आएको अनुभव बार्षिकोत्सव कार्यक्रममा सहभागी विद्यार्थीहरूले बताएका थिए । ‘विद्यालयको शैक्षिक वातावरण निकै राम्रो पाएका छौं’, बार्षिकोत्सव कार्यक्रममा सहभागी अभिभावकहरूले भने, ‘विद्यार्थीलाई पढाउने मात्रै नभई अनुशासन, नैतिकता, राष्ट्रभक्ति पनि विद्यालय सिकाइरहेको अनुभव गरेका छौं ।’

गोल्डेन एबिसी एकेडेमी बाँके हाइस्कुलमा विद्यार्थीहरू समावेशी पाइन्छ । विद्यालयका संस्थापक प्रबन्ध निर्देशक विकास बहादुर सिंह आफुहरूले समावेशी किसिमले शिक्षा दिने उद्देश्यले नै विद्यालय सञ्चालनमा ल्याएको बताउँछन् । ‘विद्यालयले गरेको मेहनत अनुसार राम्रो परिणाम दिएको छ’, विद्यालयका संस्थापक प्रबन्ध निर्देशक सिंह भन्छन्, ‘विद्यालयमा राम्रो टिम भएकाले विद्यालयले सफलता हासिल गर्दै यहाँसम्म आइपुगेको छ ।’

विद्यालयका संस्थापक प्रबन्ध निर्देशक सिंह पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा पनि आफुहरूको जोड रहेको बताउँछन् । ‘हाम्रो अनुभव, मेहनत, भौतिक लगानीले विद्यार्थीको भविष्य बनाउन कटिबद्ध छौं । भोलिका दिनमा प्लस टु हुन्छ होला, त्यो भन्दा माथि पनि होला । सबै किसिमले हामीले प्रयास गर्छौ । उच्च शिक्षा गोल्डेन एबिसीमै होस् भन्ने हामी प्रयासमा छौं’, उनी भन्छन् ।

Exit mobile version