बाँकेमा भन्सार कडाईको समाचार प्रकाशमा आएपछि धेरैले आशंका गरे, ‘दैनिक उपभोगका लागि ल्याउने, गुजारा चलाउनेहरूलाई सास्ती दिएर जनविरोधी काम गरिंदैछ, ठूलो मात्रामा हुने क्यारिङ्ग र सेटिङ्गका अवैध तस्करी रोकिंदैनन् ।’ त्यही प्रश्न हामीले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई सोझ्यायौं । ‘तपाईसँग कुरा गरिरहँदा म दुई जना सहायक प्रमुख जिल्ला अधिकारीहरूसँग कार्यालयमा काम गरिरहेको छु, हिजो राती ११ बजेसम्म सीमा नाका क्षेत्रमै सक्रिय थिएँ’, दैनिक नेपालगन्जसँग प्रजिअ जोशीले प्रजिअ जोशीले कुरा गरिरहँदा बुधबार राती ९ बजिरहेको थियो ।
बुधबार मात्रै जिल्ला प्रशासन कार्यालय बाँकेले बजारसँग प्रत्यक्ष सरोकारसँग राख्ने भन्सार, आन्तरिक राजश्व कार्यालय, गुणस्तर तथा नापतौल, घरेलु कार्यालय, वाणिज्य कार्यालय, पशु क्वारेन्टाइन, प्लान्ट क्वारेन्टाइन लगायतका कार्यालय प्रमुखसँग विशेष बैठकको आयोजना गर्यो । ‘हामीलाई उहाँहरूलाई भनेका छौं, सीमा नाका कडाई गरिएपछि हुनसक्ने तस्करी, कालोबजारी लगायतका उपभोक्ता हित विपरितका कुनैपनि गतिविधि हुन नदिन थप चनाखो अवस्थामा बस्नुपर्छ’, आकस्मिक बैठकबारे दैनिक नेपालगन्जको चासोमा प्रजिअ जोशीले भने, ‘हामीले केही न केही सुधार गर्ने प्रणका साथ यो सुरुवात गरेका हौं, सबैको साथ र सहयोग आवश्यक हुन्छ ।’
प्रजिअ जोशीका अनुसार, कालोबजारी नियन्त्रणका लागि प्रशासनले मुख्यतः दुई वटा रणनीति अख्तियार गरेको छ । पहिलो, ‘इन्ट्री प्वाइन्टमै कन्ट्रोल’ । दोस्रो, ‘कुनै अवैधबाटो बजार प्रवेश गरेका मालसामानलाई अनुगमनको माध्यमबाट नियमन, नियन्त्रण र कारवाही ।’ प्रजिअ जोशी भन्छन्, ‘आशंका गरिएजस्तो इन्ट्री प्वाइन्ट भन्दा बाहिरबाट आएका मालसामानलाई अनुगमनका क्रममा बिलको खोजी हुन्छ, बिल नभएका मालसामान तत्काल जफत गरेर थप कारवाही प्रक्रिया अगाडि बढ्छ ।’
सम्बद्ध स्रोतका अनुसार, भन्सार कडाईको निर्देशन गरेका प्रजिअ जोशी आफ्नो टोली सहित नियमित भन्सार क्षेत्रको अनुगमनमा जान थालेका छन् । ‘मंगलबार राती ११ बजेमात्रै एक जना भारतीय नागरिकलाई साढे चार लाख नगद सहित प्रजिअ जोशीको टोली नियन्त्रणमा लिएर थप कारवाहीका लागि पठाएको छ’, सम्बद्ध स्रोत भन्छ, ‘बुधबार पनि एक जना महिलालाई प्रजिअकै टोलीले एक लाख ५२ हजारको मालसामान सहित कारवाहीका लागि निर्देशन दिइएको थियो ।’
प्रजिअ जोशीले उपभोक्ता हित र सुशासनका लागि आफुले अघि सारेको प्रयासप्रति आशंका नगर्न आग्रह गरे ।
‘प्रत्येक दिन बजारसँग सरोकार राख्ने क्षेत्रहरूसँग छुट्टाछुट्टै छलफल, अन्तरक्रिया गरेर सुधारका लागि समय दिइँदैछ’, बिहीबार मात्रै होटल व्यवसायीहरूसँग छलफल राखिएको जानकारी दिंदै प्रजिअ जोशीले भने, ‘उहाँहरूका समस्या सुन्ने, सक्दो समन्वयात्मक भूमिका खेल्ने र कानुन विपरितका कुनैपनि काम नगर्न चेतावनी दिएर अगाडि बढ्ने हाम्रो सोंच हो ।’ त्यसपछि पनि सुधार नगरिए कानुनी कारवाहीलाई कडाईका साथ अगाडि बढाउने चेतावनी बाँके प्रशासनले दिएको छ ।
बुधबार बजारसँग सरोकार राख्ने कार्यालयका प्रमुखहरूसँगको बैठकमा पनि प्रजिअ जोशीले सेवा प्रवाहको गुणस्तरलाई सुधार गरेर लैजान निर्देशन दिएका छन् ।






























