नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुस्लिम समुदायको हित र सरोकारको सवाललाई एमालेले अगुवाई गरेको बताउनुभएको छ ।
शनिवार नेपालगञ्जमा आयोजित मुस्लिम इत्तेहाद संगठनको सातौं केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले मुस्लिम समुदायको हक अधिकारको लागि मुस्लिम आयोग बनाउने र मदरसा वोर्ड गठन गर्ने लगायतका काम एमालेको अगुवाईमा भएको बताउनुभयो ।
“नेकपा (एमाले) मुस्लिम समुदायको हित र सरोकारका सवालमा निरन्तर लागि परेको छ”, महासचिव पोखरेलले भन्नुभयो,“मुस्लिम समुदायलाई मधेशी आयोगमै समेट्न खोजिएको थियो,मुस्लिम इत्तेहादको दवावमा मुस्लिम आयोग गठन भएको हो ।”
मुस्लिम समुदायमा शिक्षाको अधिकार प्राप्तिको लागि आफु लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा मदरसा वोर्ड गठन गरेर मदरसा शिक्षालाई व्यवस्थित गरेको महासचिव पोखरेलले उल्लेख गर्नुभयो ।
राजनीतिक स्थायीत्व नहुँदासम्म देशको विकास हुन नसक्ने भएकोले आगामी निर्वाचनमा नेकपा
(एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गराउन मुस्लिम समुदायभित्र इत्तेहाद संगठनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।
मुलुकको विकास र समृद्धिका लागि एमालेले निरन्तर नेतृत्व गरिरहेको बताउँदै महासचिव पोखरेलले अलपत्र अवस्थामा पुगेका विकास निर्माणका योजना एमाले सरकारमा आएपछि अहिले धमाधम बनिरहेको दावी गर्नुभयो । एमाले मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा निरन्तर लागिरहेको उहाँको भनाइ थियो ।
नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सिराज अहमद फारुकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) सचिव एवम् लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्याल, जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतले मुस्लिम समुदायको हितका सवालमा एमालेले चासो देखाउदै आएको उल्लेख गर्नुभयो ।
शनिवारदेखि सुरु भएको नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशनले आईतवार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् मुस्लिम फाँट इञ्चार्ज मोहम्मद हारुन हलवाईले जानकारी दिनुभयो ।






























