नेपालगन्ज सुर्खेत रोड स्थित कोइराला निवाशमा मंगलवार नेपाली कांग्रेसका महामन्त्री गगन थापा आउने थाह पाएपछि कांग्रेस बाँकेकी पूर्व सभापति किरण कोइराला बराण्डामा प्रतिक्षारत थिईन्। केही शुभचिन्तक र सिमित कांग्रस कार्यकर्ता त्यहाँ थिए। पार्टीका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन पनि पुगिसकेका थिए। अनि साथमा थिए पार्टीका बाँके उपसभापति गोपाल अधिकारी र नेपालगन्ज उपमहानगरपालिकाकि पूर्व उपमेयर उमा थापा मगर।
केही वेर पछि कांग्रेस बाँकेका सभापति नारायण गौडेल लगायत सँगै महामन्त्री थापा कोइराला निवासको आँगनमा आइपुगे। शिष्टाचार भेट पछि छेउमै भएको बैठक कोठा भित्र जान कोइरालाले आग्रह गरेपछि सवैजना भित्र प्रवेश गरे।
केही वेरमा नेतृ किरणले सँगै सोफामा बसेका युवा नेता गगन थापालाई भनिन् – महामन्त्रीजी देशमा यसतो निराशा किन उत्पन्न भयो ? तपाईंहरुले केही त गरनुपर्यो नि !
`सिनियर नेताले गरेनन् भनेर मात्र भएन , तपाईहरुले त गर्नुपर्यो´ कोइरालाले आग्रह गरिन्।
महामन्त्री गगन गम्भीर देखिए । कुनै जवाफ दिएनन्। तपाईहरुवाट देशले कत्रो आशा र भरोशा गरेको छ , त्यसलाई त मेन्टेन गर्नुपर्यो ! ´कोइरालाले थापालाई भनिन् -जनतालाई निराशावाट बाहिर निकाल्नु पर्यो।´ गगन थापा भनेपछि तपाईप्रति कत्रो आशा छ , तपाईहरु कहाँ अल्मलिनुभयो ? किन यस्तो भयो ?
महामन्त्री थापाले अनुभवी नेतृ किरण कोइरालाका यी प्रश्नहरुको उत्तर मनमनै खोजे होलान् तर कुटनैतिक ढंगले प्रस्तुत भए र भने -` हजुरको आशिर्वादले हामी राम्रो गर्न सकौं!´
यसैवीच नेता कार्यकर्तासँगै महामन्त्रीलाई मिठाई र मोही खान दिईयो।
कोइराला निवाशको उक्त बैठक कोठाको उत्तर तर्फको भित्तामा नेपाली कांग्रेसका संस्थापक नेता जननायक बीपी कोइराला , पूर्व प्रधानमन्त्री सुशील कोइराला र नेपाली कांग्रेसबाँकेका पूर्व सभापति डा.अरुण कोइरालाको तस्वीर थियो। संभवत: यो सवै नियालेका गगनले कांग्रेस बाँकेका सचिव समेत रहेका नेतृ किरण पुत्र सुधांसुलाई सोधे – पहिले डा.साव् को पालामा पनि यही घर हो ?
सुधासुले हो ´ भने। अनि त्यहाँ उपस्थितले महत्त्वपूर्ण राजनीतिक भेटघाट उक्त बैठकमा भएको उल्लेख गरे। उनीहरुले सुशील´दा प्रधानमन्त्री भएपछि बाँके आउँदा पहिलो पत्रकार भेटघाट यही भएको र शेरबहादुर दाई ( सभापति) को पनि यहाँ पत्रकार भेटघाट भएको थियो भनेपछि महामन्त्री गगन थापाले हाँस्दै भने -अब भोलि हामी आएर पत्रकार भेटघाट गर्ने पनि यही हो ! ´ अनि सवै हाँसे।
कोइरालासँग आशिर्वाद मागेर महामन्त्री थापा उद्योगीव्यवसायीको कार्यक्रम स्थल तर्फ लागे ।
कुनै समय बनारसमा नेता बीपी कोइरालासँग नजिक रहेर काम गरेकी नेतृ किरण पति डा अरुण कोइराला पछि बाँके कांग्रेसको सभापति निर्वाचित भईन्। सरल तर जुझारु स्वभावकी कोइराला पटकपटक सांसद को समानुपातिक सुचीमा राखिएपनि कुनै पनि खेमाको अन्तिम सुचीमा नाम अटाएन। वीचमा अस्वस्थ भएपछि सार्वजनिक कार्यक्रममा खासै सहभागी नभएकी नेतृ किरणले महामन्त्री थापासँग खुलेर देशको अवस्था वारे चिन्ता मात्र प्रकट गरिनन् , जनताको भरोशा र विश्वास जोगाउन ध्यानाकर्षण पनि गराईन्।
उसो त नेपालगन्जको कोइराला निवाश ( डा अरुण र विजय ) नेपाली राजनीतिको उतारचढावको जिवन्त साक्षी हो। सत्ता , शक्ति , विजय , पराजय सवै बेहोरेको यो `पटाङ्गिनी´मा सयौ कार्यकर्ता मात्रै होईन चरम अवसरवादीहरुको भिंडदेखि २०६० माघ २० गते विहानको कठ्याङ्ग्रिदो चिसोमा पारिवारिक सदस्य र २-४ जना शुभचिन्तक वीच नेपाली कांग्रेसका तत्कालीन कार्यबाहक सभापति सुशील कोइरालाको गिरफ्तारी समेत नियालेको छ।
त्यतिमात्र होईन बाँकेले पहिलो पटक देशको प्रधानमन्त्री पाउँदा प्रशासन , सुरक्षा र सेनाले दिएका विकल्प ( होटेल या राष्ट्रबैक गेष्टहाउस ) मा बस्न तत्कालीन प्रम सुशील कोइरालाले अस्वीकार गरिदिएपछि केही दिन यो निवाश ` प्रधानमन्त्री निवाश ´ पनि वनेको थियो।
