दैनिक खर्च धान्नकै लागि विदेशिंदै !

वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा दैनिक उपभोगमै खर्च हुने गरेको तथ्यांकले देखाएका छ । सुरक्षित आप्रवास कार्यक्रम (सामी)ले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा ठूलो मात्रामा रेमिट्यान्स भित्रिने भएपछि त्यो बचत हुन नसकेको बताइएको थियो । नेपालको कुल विप्रेषण (रेमिट्यान्स)को ७२% भन्दा बढी उपभोगमा खर्च हुने गरेको छ, जबकी केवल १.२% मात्र पूँजी निर्माणमा लगानी हुन्छ ।

कार्यक्रममा बोल्दै सामीका बाँके कार्यक्रम संयोजक कमल सिंह नेपालीले राष्ट्रिय तथ्यांक कार्यालयको वैदेशिक रोजगार सम्बन्धी तथ्यांक प्रस्तुत गर्दै रेमिट्यान्सको १.२ प्रतिशत मात्रै बचत हुने गरेको बताएका हुन् । ‘रेमिट्यान्सको १५.८ प्रतिशत ऋण भुक्तानी, स्वदेशमा अध्ययनका लागि ४.६ प्रतिशत, विदेशमा अध्ययनका लागि ०.६ प्रतिशत, पूँजी निर्माणमा १.२ प्रतिशत, व्यवसायमा लगानी ०.४ प्रतिशत, घरजग्गा सम्पत्तिमा १.९ प्रतिशत खर्च हुने गरेको छ’, उनले भने । रेमिट्यान्सबाट भित्रिएको पैसा बचत तथा लगानी गर्न प्रेरित गरेमा त्यसले आर्थिक सशक्तिकरणमा मद्दत पुग्न सक्ने कार्यक्रमका सहभागीले बताएका थिए ।

रेमिट्यान्सको हिस्सा जिडिपिमा २५ प्रतिशत बढी
नेपालमा रेमिट्यान्सले गरिबी घटाउन, ग्रामीण जीवनस्तर सुधार गर्न, र देशको विदेशी मुद्रा सञ्चिति बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको हिस्सा प्रत्येक बर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ ।
सामीका जिल्ला कार्यक्रम संयोजक नेपालीले आर्थिक बर्ष २०८०÷८१ मा विप्रेषणबाट कुल १४ खर्ब ४५ अर्ब ३२ करोड रूपैयाँ भित्रिएको जुन कुल ग्राहस्थ उत्पादन (जिडिपी) को २५.३३ प्रतिशत रहेको बताए । त्यसअघिको आ.व.हरूमा विप्रेषणको हिस्सा कुल ग्राहस्थ उत्पादनमा आ.व. २०७९÷८० मा २२.६८ प्रतिशत, २०७८÷०७९ मा २०.४२ प्रतिशत, २०७७÷०७८ मा २२.०८ प्रतिशत र २०७६÷०७७ मा २२.६८ प्रतिशत थियो ।

लुम्बिनीमा १ लाख ३० हजारले लिए श्रम स्वीकृति

लुम्बिनीका १२ वटा जिल्लाबाट गत आ.व.मा १ लाख बढीले श्रम स्वीकृति लिएका छन् । सामीका जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीले लुम्बिनीबाट आ.व. २०८०÷०८१ मा कुल १ लाख ३० हजार ५ सय ८७ जनाले श्रम स्वीकृति लिएको बताएका छन् ।

लुम्बिनीमा सबैभन्दा बढी रूपन्देहीबाट २३ हजार ६ सय ६, दाङबाट १६ हजार ६४, कपिलवस्तुबाट १४ हजार ७ सय २२, गुल्मीबाट १० हजार ८ सय ९५, नवलपरासी सुस्ता पूर्वबाट १० हजार ४ सय ९४, बाँकेबाट १० हजार १ सय ८७, पाल्पाबाट १० हजार १ सय ८५, रोल्पाबाट ९ हजार २ सय ३४, अर्घाखाँचीबाट ८ हजार ८ सय ५५, बर्दियाबाट ८ हजार ६ सय १८, प्युठानबाट ५ हजार ६ सय ४९ र रुकुम पूर्वबाट २ हजार ७८ ले श्रम स्वीकृति लिएका हुन् । लुम्बिनीमा गत आ.व.मा श्रम स्वीकृति लिनेहरू मध्ये ९ हजार ४ सय ५२ जना महिला रहेका छन् । नेपालमा आ.ब. २०८०÷८१ मा श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) प्रदान गरिएको संख्या ७ लाख ४१ हजार २ सय ९७ जना रहेकामा महिलाको संख्या ८० हजार १ सय ७२ रहेको छ ।

नेपालमा पछिल्लो २९ बर्षमा ७८ लाख भन्दा बढी श्रम स्वीकृत जारी भएको छ । आर्थिक बर्ष २०६४÷०६५ देखि आर्थिक बर्ष २०८०÷०८१ सम्म श्रम स्वीकृति लिएको संख्या ७८ लाख ५२ हजार ३ सय ७ रहेको छ ।

वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १ सय ११ वटा देश खुला गरिएको छ भने व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १ सय ७८ देश जान पाइन्छ । यद्यपि, हालका लागि अफगानिस्तान, लिबिया, इराक, रसिया र युक्रेन जान भने रोक छ ।

७७ जिल्लामै ‘सामी’

वैदेशिक रोजगारमा जानेहरूका लागि प्रशिक्षण, क्षतिपूर्तिका लागि पहल तथा त्यस सम्बन्धी समस्यामा पहल गर्दै आएको नेपालमा सुरक्षित आप्रवास (सामी) कार्यक्रम देशका ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहका पुगेको छ ।
कार्यक्रम फेज आउट हुने चौथो चरणमा तीन तहकै सरकारले कार्यक्रमको महत्व बुझेर निरन्तरता दिन बजेट विनियोजन गरेका छन् भने स्वीस सरकारले बजेटको ३० प्रतिशत सहयोग गरिरहेको छ ।
सामीका बाँके कार्यक्रम संयोजक कमल सिंह नेपालीले सम्भवत फेज आउट चरणमा रहेको कार्यक्रमका लागि तीन तहकै सरकारले बजेट विनियोजन गरेका छन् । कार्यक्रमको चौथो चरण नोभेम्बर २०२४ मा सुरु भई जुलाई २०२८ मा समापन हुँदैछ ।

एक करोड ३५ लाख सहयोग
बाँकेमा बैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदार र कामदारका घरपरिवारलाई पछिल्लो एक बर्षमा १ करोड ३५ लाख ४३ हजार ५ सय रूपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । आर्थिक बर्ष २०८१÷०८२ मा आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका १०३ समस्या मध्ये ४२ वटा समाधान भएका छन् । ६१ वटा समस्या अझै प्रक्रियामा छन् । चालू आर्थिक बर्षमा बाँकेमा ४९ वटा ठगी, १८ जनाको मृत्यु, स्वास्थ्य समस्या भएका ३ जना, जेल २, हराएको १०, उद्धार १५, स्थानीय तहद्वारा रिफर २ र अन्य ४ गरी १०३ वटा समस्या आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका थिए ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन भए यता बाँकेमा हालसम्म ६ करोड ९७ लाख ६२ हजार २ सय ५८ रूपैयाँ आर्थिक सहायता प्रदान गरिएको सामीका बाँके जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीले जानकारी दिए । नेपालीका अनुसार हालसम्म आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका ४२५ समस्या मध्ये २५१ वटा समाधान भएका छन् । १७४ वटा समस्या अझै प्रक्रियामा छन् ।

Exit mobile version