लुम्बिनीमा आत्महत्या र ज्यान सम्बन्धी मुद्दा उच्च

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पछिल्ला तीन वर्षको आपराधिक गतिविधिको तथ्यांक अनुसार, आत्महत्या र हत्या सम्बन्धी अपराधिक घटना उच्च रहेको छ । लुम्बिनी प्रदेशअन्तर्गतका १२ जिल्लामा सामाजिक अपराध उच्च दरमा दर्ता भइरहेका छन् भने आर्थिक अपराधका घटनामा एक वर्षमै उल्लेख्य वृद्धि देखिएको छ ।
प्रहरीको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९÷८० देखि २०८१÷८२ सम्म सामाजिक अपराध, आत्महत्या, ज्यानसम्बन्धी, महिला तथा बालबालिका सम्बन्धी, चोरी, सवारी र संगठित अपराधसमेतका हजारौँ मुद्दा दर्ता भएका छन् ।

आत्महत्या र ज्यानसम्बन्धी अपराध सबैभन्दा धेरै
लुम्बिनीका १२ जिल्लामा पछिल्ला तीनै वर्षमा सामाजिक अपराधको दर सबैभन्दा उच्च रहँदै आएको छ । तथ्यांकले आत्महत्याका घटनाहरू पनि स्थिर दरमै रहेको देखिन्छ । पछिल्लो समय मानसिक स्वास्थ्यको विषयलाई प्रदेश सरकारले महत्व दिंदै आगडि बढाएपनि त्यस्ता घटनामा कमी आउन नसकेको प्रहरीको तथ्यांकले देखाएको छ । लुम्बिनी प्रदेशमा २०७९÷८० मा आत्महत्याका घटना १ हजार ३ सय ६, २०८०÷८१ मा १ हजार ३ सय २१ र २०८१÷८२ मा १ हजार ३ सय २६ वटा मुद्दा दर्ता भएका छन् ।

त्यस्तै, ज्यानसम्बन्धी अपराधमा पनि बर्सेनि वृद्धि हुँदै गएको देखिएको छ । आर्थिक बर्ष २०७९÷८० मा १ हजार ३ सय ९, २०८०÷८१ मा १ हजार ३ सय ९० र २०८१÷८२ मा १ हजार ४ सय १४ मुद्दा दर्ता भएका छन् ।

लुम्बिनीमा सामाजिक अपराधका मुद्दा आर्थिक बर्ष २०७९÷८० मा १ हजार १ सय ८९, २०८०÷८१ मा १ हजार ९० र ०८१÷०८२ मा १ हजार ८ दर्ता भएका छन् । त्यस्तै, महिला तथा बालबालिका सम्बन्धी मुद्दा उक्त आ.व.हरूमा क्रमशः ६ सय ७५, ७ सय २९ र ६ सय १४ रहेका छन् ।

आर्थिक अपराधमा तीव्र वृद्धि
पछिल्लो आ.व. २०८१÷०८२ मा संगठित तथा आर्थिक अपराधका घटना लुम्बिनीमा ह्वात्तै वृद्धि भएको छ ।
आर्थिक बर्ष २०७९÷८० मा ६ सय ७३ मुद्दा दर्ता भएका आर्थिक अपराध २०८०÷८१ मा ७ सय ४८ पुगेका थिए भने २०८१÷८२ मा १ हजार २१ मा पुगेका छन् ।

चोरी र सवारीसम्बन्धी मुद्दा स्थिर
चोरीसँग सम्बन्धित मुद्दा पनि स्थिर देखिएको छ २०७९÷०८० मा ५ सय ७, २०८०÷८१ मा ५ सय ९९ र २०८१÷८२ मा ५ सय २४ मुद्दा दर्ता भएका छन् । सवारीसम्बन्धी मुद्दा पनि झण्डै उस्तै छन्, तीन वर्षमा क्रमशः ४ सय ७४, ४ सय ९४ र ५ सय ४४ रहेका छन् ।

यसमा सम्पादकीय

Exit mobile version