भुवर भवानी मन्दिर धार्मिक सांस्कृतिक र पर्यटनको केन्द्र

राप्ती सोनारी गाउँपालिका–३ बाँके जिल्लामा अवस्थित भुवर भवानी मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक स्थल हो । यो मन्दिर घना वनजंगलको बीचमा प्राकृतिक शान्त वातावरणमा अवस्थित रहेको छ । यस मन्दिरमा विशेषगरी भगवतीको स्वरूपमा भवानी माताको पूजा गरिन्छ । आसपासका गाउँ, शहर र भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरू यहाँ वर्षभरि पूजाआजा गर्न आउने गर्छन् । विशेष पर्व चाडपर्व र मेलाका दिनहरूमा त यहाँ भक्तजनहरूको भिड नै लाग्ने गर्दछ । दशै र माघिमा भारत र नेपालका विभिन्न ठाउँहरू बाट आई पुजा आजा गर्ने गरिन्छ । भुवर भवानी मन्दिरको वरिपरि पाइने जैविक विविधता यस क्षेत्रको प्राकृतिक सम्पदाको सुन्दर झल्को हो । मन्दिर परिसरको हरियाली वातावरणमा विविध प्रजातिका वनस्पति र जीवजन्तुहरू पाइन्छन् जसले यस स्थानलाई केवल धार्मिक महत्वको मात्र नभई जैविक दृष्टिकोणले पनि विशिष्ट बनाएको छ । मन्दिर वरपर सिसौ,
साल, खयर, पीपल, बेल, नीम, र वरजस्ता थुप्रै रुखहरू फस्टाएका छन् जसले हावा शुद्ध पार्न तापक्रम नियन्त्रण गर्न चराचुरुङ्गीहरूलाई बासस्थान प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

भुवर भवानी मन्दिरमा श्रद्धालुहरूद्वारा सुनाइने धेरै अनुभव र चमत्कारी कथाहरूले यस मन्दिरको आध्यात्मिक महत्वलाई अझ गहिरो बनाउँछ । बागेश्वरी माताको बहिनी को रूपमा पनि मातालाई भनिदो रहेछ । भक्तजनहरू बताउँछन् कि यहाँ साँचो मनले मागिएको वर माग्नासाथ पूरा हुने विश्वास रहिआएको छ । विशेष गरी भवानीको मूर्तिको दर्शनपछि धेरैलाई आश्चर्यजनक रूपमा कष्टहरूबाट मुक्ति मिलेको अनुभवहरू सुन्न पाईयो । कसैले गम्भीर बिरामी हुँदा यहाँ पूजा गरेर निको भएको त कसैले सन्तान प्राप्तिका लागि मन्नत गरेर सफल भएको कथाहरूलाई नियमित रूपमा सुन्न सकिन्छ । दुर्गा पक्ष तीज र दशैंजस्ता पर्वहरूमा मन्दिरमा हजारौं श्रद्धालुहरूको भीड लाग्ने गर्छ । जहाँ उनीहरू आफ्ना व्यक्तिगत पीडा र कामनाहरू लिएर आउँछन् । कुवा आसपासको जललाई पवित्र मानिन्छ र धेरैले त्यसलाई अनुहारमा छर्केर वा हातमा लिएर पूजा सम्पन्न गर्छन् जसले आत्मशुद्धि र मनको शान्ति दिने विश्वास छ । यस्ता अनगिन्ती अनुभवहरूले भुवर भवानी मन्दिरलाई मात्र एउटा धार्मिक स्थल होइन आस्थाको केन्द्र र जनविश्वासको प्रतकि बनेको रहेछ । भुवर भवानी मन्दिर प्राकृतिक रूपमा निकै रमणीय स्थलमा अवस्थित छ । यो ठाउँमा घना वनले ढाकिएको छ जहाँ आज पनि डर लाग्दो सर्प, बाघ, अन्य वन्यजन्तुहरू देखिने गर्छन् भनेर गाउलेहरूले भन्ने गछ्र्न । जंगलको डरबाट मुक्ति पाउन आफो आस्था प्रकट गर्न स्थानीयवासीहरूले देवीको स्थापना गरेर पूजा आरम्भ गरेका थिए भन्ने किबदन्ती रहेछ । जंगलको बीचमा शान्त र सुरम्य स्थलमा रहेको यो मन्दिर एक प्रकारले भक्तजनका लागि ध्यान, साधना र आत्मिक शान्तिको केन्द्र बनेको छ ।

भुवर भवानी मन्दिरको इतिहास प्राचीनकालदेखि जनविश्वासमा आधारित छ । यद्यपि यस मन्दिरको स्थापना वि.सं. २०१३ सालतिर भएको मानिन्छ यसको धार्मिक परम्परा र आस्थाले धेरै अघिदेखि नै रहेको देखिन्छ । मन्दिर अवस्थित क्षेत्रमा पहिले नागको बास थियो । मानिसहरू यहाँ आउँदा सर्प देखा पर्ने डर लाग्ने अवस्था रहन्थ्यो । पछि नागलाई देवीको स्वरूप मानेर पूजा गर्न थालियो, जसपछि यहाँ भवानीको मूर्ति स्थापना गरियो । अहिले पनि यहाँ नाग पूजा गरिन्छ र भवानीसँगै नाग देवताको दर्शन गर्ने चलन छ । आज भोलि पनि नाग देवता धेरै बर्ष देखि मन्दिर ओरोपरी देखिने तर आज सम्म कसैलाई नबिराएको मन्दिरका पुजारी ले बताउनु भयो । यस स्थानमा विशेष गरी थारु, हिन्दू, र अन्य आदिवासी समुदायको विशेष श्रद्धा रहेको पाइन्छ । भुवर भवानी मन्दिरमा भक्तजनहरू आफ्नो मनोकामना लिएर आउने गर्छन् । विशेषत विगत २५ वर्षदेखि यहाँ भक्तहरूले त्रिशूल, नरिवल , घण्टा, र फलफूल चढाउने परम्परा रहेछ । यहाँको धार्मिक वातावरण अत्यन्तै शक्तिशाली मानिन्छ । केही भक्तजनहरूको भनाइ अनुसार, यहाँ पुगेर देवीसँग मागेको वरदान अवश्य पूरा हुन्छ । बच्चा बच्ची नभएका दम्पतिले श्रद्धापूर्वक आरधना पुजा पाठ गरे सन्तान प्राप्त हुने बिश्वास र कयौले भगवतीको आशीर्वाद पाएको गुरु ले भन्नू भयो । यही आस्थाले गर्दा यहाँ वर्षको कुनै न कुनै दिन मेला जस्तै माहोल देख्न पाइन्छ । दशैं, चैते दशैं, माघी, तीज, र एकादशीका दिनहरूमा त यहाँ हजारौं भक्तजनहरू उपस्थित हुने गर्छन् ।

विशेषगरी थारु समुदायको महान चाड माघी पर्वमा यहाँ भव्य मेला लाग्ने गर्दछ । माघ महिनाको सुरुवातमा मेला लाग्दो रहेछ । यो मेलामा बाँके, बर्दिया, दाङ, कैलालीदेखि लिएर भारतको बहराईच र श्रावस्ती क्षेत्रका भक्तजनहरू समेत सहभागी हुने गर्दछन् । मेलामा थारु परम्परागत नाच गान, सांस्कृतिक कार्यक्रम, तथा थारु परिकारहरू पाईदो रहेछ । भुवर भवानी मन्दिरको विशेषता भनेकै यसको माघी मेला हो । यो मेला केवल धार्मिक चाड मात्र होइन, सामाजिक र सांस्कृतिक रूपमा समेत ठूलो महत्व राख्छ । मेलामा विभिन्न स्टलहरू लाग्ने गर्छन् जसमा परम्परागत खानेकुरा, झूला, खेल, तथा स्थानीय उत्पादनहरू बिक्री गरिन्छन् । थारु संस्कृति झल्किने नाच, गीत, र नाटकले मेलालाई रंगीन बनाउँछ । यस्ता गतिविधिहरूले स्थानीय पर्यटन र हस्तकला प्रवद्र्धन गर्न ठूलो योगदान पु¥याउँछ । हालसालै स्थानीय सरकार गाउँपालिका र संघीय सांसदहरूको समन्वयमा भुवर भवानी मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने योजना अघि सारिएको छ । यस अन्तर्गत सडक विस्तार, मन्दिर परिसरको सौन्दर्यीकरण, शौचालय, खानेपानी तथा यात्रु विश्रामगृह जस्ता सुविधाहरूको विकास भइरहेको छ । मन्दिर परिसरभित्र शिव मन्दिरसमेत निर्माण गरिसकिएको जसले धार्मिक विविधतालाई समेटेको छ । यस्तो प्रयासले नजिकको नेपालगञ्ज शहरबाट समेत धेरै पर्यटकहरू आउन सक्छन् ।

राप्ती सोनारी गाउँपालिकाले मन्दिर विकासका लागि मास्टर प्लान तयार पार्ने र प्रदेश तथा संघ सरकारसँग समन्वय गर्दै बजेट व्यवस्थापनको काम अघि बढाइसकेको उल्लेख गरिएको छ भनेर त्यहा एक जनाले भन्नू भयो भविष्यमा यो स्थल हिन्दूहरूको ठूलो धार्मिक पर्यटकहरूका लागि प्रमुख गन्तव्य बन्न सक्ने प्रबल सम्भावना छ । भुवर भवानी मन्दिरको संरक्षण र विकासमा स्थानीय जनप्रतिनिधिहरू, युवा क्लब, महिला समूह, र समाजसेवीहरूको सक्रियता देखिन्छ । मन्दिरमा आउने भक्तजनहरूका लागि शुद्ध पानी, फोहर व्यवस्थापन गरिएको रहेछ । जंगल संरक्षण र वातावरणको सन्तुलन कायम राख्न वृक्षारोपणजस्ता अभियानसमेत सञ्चालन गरिएका रहेछन् ।

भुवर भुवानी मन्दिर परिसरमा रहेको ऐतिहासिक इनार ले धार्मिक सांस्कृतिक र सामाजिक दृष्टिले विशेष महत्त्व बोकेको छ । स्थानीय जनविश्वास अनुसार यो कुवा देवी भुवानीको कृपाबाट उत्पन्न भएको पवित्र जलस्रोत हो, जसको पानी सेवन गर्दा रोग नाश हुने र शुद्धि प्राप्त हुने मानिन्छ । प्रत्येक वर्ष चैत पूर्णिमाका मेलामा भक्तजनहरू यही कुवाको जल लिएर स्नान तथा पूजाआजा गर्ने गर्दछन् । यस इनारको पानी कहिल्यै सुक्दैन भन्ने विश्वासले गर्दा यसलाई चमत्कारीक मानिएको छ । धार्मिक पर्यटकहरूको आकर्षण बनेको यो इनार पुरातात्त्विक महत्वको साथै समुदायको जलसंरक्षण संस्कृति झल्काउने अमूल्य सम्पदा पनि हो यो ईनारको शक्ति सम्बन्धि थुप्रै भनाईहरू रहेछ्न । यस्तो जनसहभागिताबाट प्रेरित संरक्षण कार्यहरूले मन्दिरको पवित्रता मात्र होइन, यसको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । साथै स्थानीय युवाहरू मेला र पर्यटनसँग सम्बन्धित उद्यमशिलता र सीप विकासतर्फ समेत आकर्षित भएको देखिन्छ र निकै ठूलो सम्भावना पनि छ । भुवर भवानी मन्दिर केवल धार्मिक स्थल मात्र होइन यो स्थानीय समुदायको आस्था पहिचान र संस्कृतिको केन्द्र हो । यहाँको वातावरण ऐतिहासिक प्रमाणहरू भक्तजनको विश्वास र माघी मेलाले यसलाई बाँकेको गौरवशाली तीर्थस्थल बनाएको छ । अबको आवश्यकता भनेको यसको समुचित व्यवस्थापन, धार्मिक पर्यटनको प्रवद्र्धन र ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हो । यदि स्थानीय सरकार संघीय तह र जनस्तरको समन्वय अझ मजबुत बनाइयो भने भुवर भवानी मन्दिर निकट भविष्यमै नेपालकै महत्त्वपूर्ण धार्मिक पर्यटन केन्द्र बन्न सक्छ । यसको विकासले थारु संस्कृति संरक्षण, स्थानीय रोजगार सिर्जना, तथा क्षेत्रीय पहिचान मजबुत पार्न ठूलो भूमिका खेल्नेछ । यो केवल मन्दिर होइन एक ईतिहास र आन्तरिक पर्यटनको सम्भावना बोकेको एक प्रचुर संभावना भित्रको पनि संभावना हो सबै मिलेर मन्दिर को प्रचार प्रसार र संरक्षण गर्न निकै जरुरी ।

Exit mobile version