लुम्बिनी प्रदेशमा गत आर्थिक बर्ष भएको विभिन्न विपद्का घटनामा ठूलो मात्रामा जनधनको क्षति भएको छ । लुम्बिनीमा भएको विपद्का घटनामा २ सय ८४ जनाको ज्यान गएको छ ।
लुम्बिनी प्रदेशको आपतकालीन सञ्चालन केन्द्रका अनुसार, गत आर्थिक बर्ष २०८१÷०८२ मा लुम्बिनीका १२ जिल्लामा भएको १ हजार ६ सय २४ वटा विभिन्न घटनामा २ सय ८४ जनाको ज्यान गएको हो ।
गत आर्थिक बर्षमा बाँकेमा विपद्का १ सय ९८ घटनामा २९ महिला र ६ पुरुष गरी ३५ जनाको मृत्यु भएको थियो । घटनामा ९२ जना घाइते भएका थिए । त्यस्तै, अर्घाखाँचीमा १०, कपिलवस्तुमा ४६, गुल्मीमा १४, दाङ्गमा ४४, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १६, पाल्पामा १०, प्युठानमा ८, बर्दियामा ४०, रुकुम पूर्वमा ४, रूपन्देहीमा ४४ र रोल्पामा ८ जनाको मृत्यु विपद्जन्य घटनामा भएका थिए ।
लुम्बिनी प्रदेशको आपतकालीन सञ्चालन केन्द्रका अनुसार, विपद् जन्य घटनामा १ सय ९६ पुरुष र ८८ महिलाको ज्यान गएको हो । गत आ.व.मा विपद्जन्य घटनामा ७ सय ५३ जना घाइते भएका थिए भने १७ जना बेपत्ता भएका थिए । लुम्बिनी प्रदेशको आपतकालीन सञ्चालन केन्द्रका अनुसार, विपद्का घटनामा २० करोड ८ लाख २ लाख ६६ हजार ८ सय ७५ रूपैयाँ क्षति भएको अनुमान गरिएको छ । गत आर्थिक बर्ष विपद्का घटनामा व्यक्तिगत घर २ सय ७३ घर पूर्ण रूपमा क्षति, ६ सय ४६ वटा घर आंशिक क्षति, सरकारी ७ वटा भवन पूर्ण क्षति, सरकारी २७ वटा भवन पूर्ण क्षति भएका थिए ।
विपद्का घटनामा पशुवस्तुमा पनि ठूलो क्षति पुगेको छ । लुम्बिनीका गत आर्थिक बर्षमा ४ सय ६३ वटा पशु क्षति भएको थियो भने २ सय ४३ वटा गोठमा क्षति पुगेको थियो ।
चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु
यस बर्षको चार महिना (गएको वैशाख १ देखि भदौ १ गतेसम्म) देशभर दुई हजार ८८१ विपद्जन्य घटनामा परेर १ सय ३० जनाको मृत्यु छ । ती घटनामा परेर चार महिनामा २२ जना बेपत्ता, ५ सय ९७ जना घाइते तथा पाँच हजार १४१ परिवार प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थाप प्राधिकरणका प्रवक्ता, उपसचिव शान्ति महतका अनुसार मुख्यगरी आगलागीका बढी घटना भएका छन् भने चट्याङका कारण पनि धेरैको ज्यान गएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणमा बाढीका २२३ घटनामा २१ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् ।
पहिरोका ३ सय १८ घटनामा १६ जनाको मृत्यु, भारी वर्षाका २ सय ८७ घटनामा चार र चट्याङका २ सय ४८ घटनामा २९ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यसैगरी, सर्पदंशका ७७ घटनामा ११, आगलागीका एक हजार १२३ घटनामा १५, हावाहुरीका २ सय ७७ घटनामा आठ, जनावर आक्रमणका १ सय ७४ घटनामा १४ र लेक लागेका ४६ घटनामा १२ जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ ।
प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै ४४ विपद्का घटना भएकामा तीन जनाको मृत्यु भएको जनाएको छ । ती घटनामा १२ जना घाइते भएका छन् ।
पानीमा डुबेर १ सय ७० को मृत्यु
लुम्बिनी प्रदेशमा विपद्का घटनामा मृत्यु सबैभन्दा बढी उच्च पानीमा डुबेर भएको छ । लुम्बिनी प्रदेशको आपतकालीन सञ्चालन केन्द्रको तथ्यांक अनुसार, गत आर्थिक बर्ष २०८१÷०८२ मा १ सय ७० को पानीमा डुबेर मृत्यु भएको हो ।
त्यस्तै, प्रदेशका १२ जिल्लामा बाढीबाट १२ जना, आगलागीमा २२ जना, विषाक्त खाना सेवन गर्दा २ जना, पहिरोमा ११ जना, सर्पदंशमा १३ जना, जनावर आक्रमण १५ जना, चट्याङबाट ११ जना, लु बाट १ जना, हावाहुरीबाट ४ जना, माटोको डिस्कोले पुरिएर ६ जना र अन्य घटनामा ७ जनाको मृत्यु भएको छ ।
