खजुरामा झण्डै एक करोडको ‘कोसेली मार्ट’

बाँकेको पुरानो र चलायमान बजार खजुरामा नयाँ ‘कोसेली मार्ट’ सञ्चालनमा आउने भएको छ । व्यवसायी तथा राजनीतिकर्मी किस्मतकुमार कक्षपतिले करिब एक करोड रुपैयाँको लगानीमा मार्ट सञ्चालनमा ल्याउने भएका हुन् ।

सञ्चालक कक्षपतिका अनुसार, आज आइतवार मार्टको औपचारिक शुभारम्भ गरिंदैछ । लामो समयदेखि किसानसँग जोडिएर कक्षपति राइस मिलमार्फत व्यवसाय सञ्चालन गर्दै आएका कक्षपति खजुरा गाउँपालिकाका संस्थापक अध्यक्ष र हाल नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत हुन् ।

राजनीतिको मूल उद्देश्य सेवा भएको बताउने कक्षपतिले आर्थिक उपार्जन र स्थानीय बजार विस्तारका लागि मार्टलाई नयाँ व्यवसायिक यात्रा बनाउन लागेको बताएका छन् ।

सञ्चालक कक्षपतिका अनुसार, ‘कोसेली मार्ट’ले दैनिक आवश्यक पर्ने सबै घरायसी सामान सहज र सुलभ मूल्यमा उपलब्ध गराउनेछ । ‘खजुराजस्तो विकासोन्मूख बजारमा आधुनिक र संगठित खुद्रा पसलको सुरुवातले स्थानीय उपभोक्तालाई सुविधा दिनुका साथै बजार विस्तार र विकासको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ,’ स्थानीयवासीले भने ।

Exit mobile version