स्वास्थ्यमन्त्रीमा डाक्टरकै खोजी

नेपालगन्जबाट पनि चर्चा र सिफारिस

अन्तरिम सरकारका तीन मन्त्री नियुक्त

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफरिसमा तीन मन्त्री नियुक्त भएका छन् । उनीहरुले पद तथा गोपनीयताको शपथ पनि सोमवार भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् ।

नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेको अवस्था छ । खनाल पूर्वअर्थ सचिव हुन्, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र काठमाडौंका मेयर बालेनका कानुनी सल्लाहकार अर्याल अधिवक्ता हुन् ।

जेनजी पुस्ताका तन्नेरीको आन्दोलनले शासनसत्ता उल्टाएपछिको परिस्थिति पृथक छ । प्रधानमन्त्रीलाई आन्दोलनरत युवाकै प्रस्तावमा छनोट भएकोजस्तो देखिन्छ भने अहिलेका मन्त्रीको छनोट विधि अपेक्षित पारदर्शी छैन । कतिपय आन्दोलनरत पक्षबाटनै असन्तुष्टिहरु सार्वजनिक गरिएका छन् ।

कारण हो, मन्त्री बन्ने विधि प्रक्रिया र पद्धतिको पारदर्शीता अभाव । यतिबेला बाँकी रहेका मन्त्रालयहरुमा को जाने ? सामाजिक सञ्जालमा बहस, विवाद र नाम सिफारिस गर्नेसम्मका लहर चलेका छन् । ठुलो मन्त्रीमण्डल नबनाउने भनिएपनि मन्त्री बन्न खोज्ने र बनाउन चाहनेहरुको आकांक्षा सामाजिक सञ्जालमै देख्न सकिन्छ ।

प्रश्न पद कसलाई दिने भन्ने मात्र होइन, दृष्टिकोण कसरी रोज्ने भन्ने हो । नेपालमा मन्त्री बन्ने कुरा प्रायः दलगत भागबण्डा र समीकरणले तय गर्ने अवस्था हो । तर, नयाँ पुस्ता—विशेष गरी जेनजी आन्दोलनले नेतृत्वलाई फरक तरिकाले मूल्याङ्कन गर्न थालेको सम्भावना देखा परिरहेको छ, उनीहरूले अब पद होइन, दृष्टिकोण र जिम्मेवारीलाई प्राथमिकता दिन थालेका छन् की अनुमान गर्न सकिन्छ ।

आन्दोलनको पृष्ठभूमिका नेपालगन्जले निकै ठुलो मानवीय र भौतिक क्षतिको सामना गर्नुपरेको छ । पहिलो दिननै राजधानी काठमाडौंमा भएको प्रदर्शनमा गोली लागेर नेपालगन्जका होनहार युवा शुलभराज श्रेष्ठ र आयुष थापाको ज्यान गयो । उनीहरुले सहादत प्राप्त गरे । दोस्रो दिनको आक्रोशमा नेपालगन्जका सबैजसो सरकारी कार्यालय ध्वस्थ भए, अर्बौैको सार्वजनिक सम्पत्ति नष्ट पारियो । नौबस्ता बाल सुधार गृहका ठुलो मानवीय क्षति पनि भएको छ ।

नेपालगन्ज स्वास्थ हब पनि हो । स्वास्थ्यमन्त्री को बनाउने ? यतिबेला खासगरि, चिकित्सकहरुबीच बहस चलिरहेको छ । नेपालगन्जको एउटा नाम मात्र होइन, यो बहसले देखाएको सोच नै महत्वपूर्ण हो—स्वास्थ्य नेतृत्वलाई अबको पुस्ताले नयाँ तरिकाले हेर्न थालेका छन् । नयाँ सरकार बनेसँगै मन्त्रालयमा योग्य व्यक्तिहरूको खोजीका चर्चा र बहस भइरहेको छ । स्वास्थ्य नेतृत्वलाई लिएर सामाजिक सञ्जालमा देखिएको बहस त्यसैको प्रमाण हो ।

सामाजिक सञ्जालमा देखिएको एउटा बहसले दैनिक नेपालगन्जको ध्यान खिच्यो । जहाँ भेरी अस्पतालका पूर्व प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. गुणराज अवस्थी देखि अहिलेपनि कार्यरत वरिष्ठ चिकित्सक डा. वद्री चापागाईंसम्मको नाम नेतृत्वका लागि चर्चामा ल्याइएका छन् । चिकित्सक समुदायमै सीमित भएको चर्चा होइन, सर्वसाधारण नागरिकले ट्विटर÷एक्समा उनीहरुलाई ‘योग्य स्वास्थ्य मन्त्री’ को सम्भावित विकल्पका रूपमा देखेर आ–आफ्ना तर्क राखिरहेका छन् ।

ऋाफ्नो नाम अघि सारिएपछि डा. चापागाईंको प्रतिक्रिया महत्वपूर्ण छ, उनले पदप्राप्तिलाई प्राथमिकता नभई, जिम्मेवारी आइपरेमा प्रणालीगत सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत सम्मानलाई भन्दा प्रणाली निर्माणलाई अगाडि राख्ने यस्तो दृष्टिकोण दुर्लभ पनि छ ।

त्यसो त, डा. अवस्थी पनि ‘टी वर्क र चेन अफ कमाण्डबाट सुधारको सम्भवाना रहेको’ औल्याउँदै आफु मन्त्री बन्ने दौडमै नरहेको प्रतिक्रिया दिन्छन् ।

सामान्यतया, नेपालमा स्वास्थ्य क्षेत्र ‘भीड व्यवस्थापन’ र ‘संरचनागत कमी’को कथा मात्र बन्छ । तर, डा.चापागाईंजस्ता चिकित्सकले प्रस्तुत गर्ने समाधान भने अस्पतालको पर्खालपारि पुगेको छ —डिजिटल प्रविधि, नीति–सुधार, बीमा, मानव संसाधन व्यवस्थापनदेखि नयाँ पुस्तालाई आत्मसात गर्ने दृष्टि । उनी भेरीको नेतृत्वमा रहँदा उदाहरणीय काम गरेकै कारणले यो बहसमा नाम पुगेको अनुमान गर्न गा¥हो छैन ।

यो बहसले एउटा गहिरो प्रश्न खडा गर्छ—के हामी अझै पनि स्वास्थ्य नेतृत्वलाई दलगत भागबण्डाको विषयमा मात्र सीमित गर्ने हो ? वा हामीले यस्ता व्यावसायिक पात्रलाई अगाडि ल्याउने साहस गर्ने हो, जसले पदलाई हैसियत होइन, जिम्मेवारीको आत्मा ठान्छन् ?

योबेला सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले मुलुकलाई नयाँ बाटो देखाउने अपेक्षा छ । अर्थ र ऊर्जा जस्ता क्षेत्रमा विज्ञलाई जिम्मेवारी दिइएझैँ, स्वास्थ्यमा पनि त्यस्तै कदम चालेको भए अझै सन्देश बलियो हुने थियो । त्यो आशा स्वाभाविक पनि जिवीत छ । ‘म भन्दा पनि धेरै स्वास्थ्य प्रणाली बुझेका अनुभवी र विद्वान व्यक्तिहरु स्वास्थ्यमन्त्री बन्न योग्य देश भित्र धेरै छन्,’ डा. अवस्थी लेख्छन् ।

यतिबेला ‘डाक्टर सोसाइटी अफ नेपाल’ नामक फेसबुक पेजदेखि एक्ससम्म उम्दा चिकित्सकहरु, स्वास्थ्य क्षेत्रका कुशल व्यवस्थापकहरुका नाम चर्चामा छन्, बहस गरिएका छन् । प्रा. डा. सन्दु रुइत, प्रा.डा. जगदीश अग्रवाल, डा. पुकारचन्द्र श्रेष्ठ, डा. भोला रिजाल, डा. भगवान कोइराला, मेडिकल काउन्सिलका सदस्य डा. कुन्जङ शेर्पालगायतका नामहरुमा चर्चा गरिएका छन् ।

‘जय मेरिटोक्रेसी,’ भेरी अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक डा. राजन पाण्डे योग्याता, क्षमता र परिश्रमका आधारमा व्यक्ति छनोट गरेर जिम्मेवारी सुम्पनुपर्ने तर्कसहित उक्त बहसमा लेख्छन्, ‘सबै पद र जिम्मेवारीहरु अब मेरिटबेस हुनुपर्छ ।’

Exit mobile version