वेष्टर्न बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं बार्षिक साधारणसभा शुक्रबार आयोजना गर्यो । संस्थाका अध्यक्ष सञ्जय थापाको अध्यक्षमा भएको साधारणसभा उपाध्यक्ष अजय कुमार शर्मा, कानुनी सल्लाहकार प्रल्हाद बहादुर कार्की, सल्लाहकार श्याम बहादुर केसी, इश्वरी प्रसाद ज्ञवाली लगायतले संस्थागत विकासका विविध पक्षबारे सुझाव दिए ।
संस्थाका सचिव राजिवराज शर्माले सञ्चालन गरेको साधारणसभाका उद्घाटन तथा बन्द सत्रमा संस्थाका प्रगतिदेखि समीक्षा सम्मका विषयवस्तुमाथि धारणा व्यक्त गरिएका थिए ।
बन्दसत्रमा लेखा सुपरिवेक्षण समितिका संयोजक जयदेव अवस्थी, ऋण उपसमितिका संयोजक हरिलाल न्यौपाने लगायतले आर्थिक कारोबारबारे आफ्नो सुझाव प्रस्तुत गरे ।
साधारणसभाले लगानीका प्राथमिकता निर्धारण गर्दै लामो समयदेखि निरन्तर रूपमा बचत गर्ने सदस्यहरूबाट प्राप्त निवेदनका आधारमा लगानी प्राथमिकीकरण गर्ने निर्णय गरेको छ ।
‘संस्थाको आर्थिक धरातललाई थप बलियो बनाउने गरी लगानीका प्राथमिकता निर्धारण गरिएका छन्’, अध्यक्ष थापाले संस्थागत सुशासनलाई सुदृढ गर्दै सदस्य केन्द्रित सेवाहरू समेतको व्यवस्था गरिएको जानकारी दिंदै भने, ‘संस्थालाई विगतमा भएका बेथितिबाट मुक्त गर्दै देशमै उत्कृष्ट सहकारीका रूपमा स्थापित गर्ने लक्ष्यमा अगाडि बढेका छौं ।’
संस्थाका प्रबन्धक थानिश्वर पाण्डेयका अनुसार, कुल चुक्ता शेयरपूँजी १० करोड ५९ लाख ३३ हजार बढी रहेको वेष्टर्नमा ४६ करोड ९७ लाख ८८ हजार बढी बचत संकलन गरी ४५ करोड ३८ लाख ५० हजार बढी रकम ऋण लगानी गरिएको छ । ६२ करोड ६६ लाख ८४ हजार बढी कुल सम्पत्ति रहेको वेष्टर्नले २ करोड ८३ लाख ५९ हजार बढी जगेडा कोष समेत स्थापना गरी व्यापार कर्जा, घर कर्जा, विशेषक र्जा, कृषि कर्जा, शैक्षिक कर्जा लगायतका ऋण लगानीका प्रमुख क्षेत्र निर्धारण गरेको प्रबन्धक पाण्डेयले जानकारी दिए ।
