नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसीप : प्रशिक्षक तयार गर्दै क्लब

नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा अहिले असाध्यै चहलपहल बढेको छ । कारण हो — आउँदो कात्तिक १४ र १५ गते हुने दोस्रो राष्ट्रिय खुला पौडी च्याम्पियनसीप । आयोजक नेपालगन्ज स्वीमिङ क्लबले प्रतियोगिताको तयारीलाई तीव्रगतिमा अगाडि बढाइरहेको जनाएको छ ।

क्लबका अध्यक्ष केशव न्यौपानेका अनुसार, सोमवारदेखि पोखरीको सरसफाइमा आठ जना कामदार अहोरात्र खटिएका छन् । “पानी सफा गर्नेदेखि सुरक्षाको व्यवस्था मिलाउनेसम्म सबै तयारी क्लबकै टोलीले गरिरहेको छ,” उनले दैनिक नेपालगन्जसँग भने । प्रतियोगिताको गुणस्तर सुनिश्चित गर्न काठमाडौंबाट प्राविधिक टोली नेपालगन्ज रंगशाला पुगेर सोमवारनै निरीक्षण समेत गरेको छ ।

नेपाल पौडी संघका प्राविधिक प्रतिनिधि विष्णु खड्का, अनिष महर्जन र दीपक सागर सिंह सहितको टोलीले पौडी पोखरीको अनुगमन गरेर खेलको प्राविधिक पक्षबारे सुझाव दिए ।

सोमवार साँझसम्म यो संस्करणमा देशभरका एक सयभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका छन् । क्लब अध्यक्ष न्यौपानेका अनुसार, प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र खुला समूह गरी विभिन्न उमेरका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । यु–८ समूहले २५ मिटर, यु–१० ले ५० मिटर, यु–१२ र यु–१४ ले ५० तथा १०० मिटर, र खुला समूहले २०० र ४०० मिटरको दूरीमा प्रतिस्पर्धा गर्नेछन् ।

कुल ५६ वटा इभेन्ट्स समावेश गरिएको प्रतियोगिताको व्यवस्थापनबारे क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीले जानकारी दिए । उनका अनुसार, यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने पुरुष र महिला खेलाडीका लागि विशेष पुरस्कारको व्यवस्था पनि गरिएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषदका पदाधिकारीहरू, तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहनेछ । लुम्बिनीका मुख्यमन्त्रीलाई उद्घाटन समारोहका लागि आमन्त्रण पनि गरिसकिएको छ, अध्यक्ष न्यौपानेले भने ।

नेपालगन्जमा पौडी खेललाई लोकप्रिय बनाउन योगदान दिँदै आएको स्वीमिङ क्लबले यस पटक पनि नेपाल पौडी संघसँग सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपाल सरकारका विभिन्न निकायसँगै निजी क्षेत्रका संस्थाहरूले सहयोग साझेदारी गरिरहेको वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए ।

अध्यक्ष न्यौपाने भन्छन् — “यो प्रतियोगिताले न केवल पौडी खेलाडीको संख्या बढाउँछ, बरु नेपालगन्जलाई राष्ट्रिय स्तरको पौडी केन्द्रका रूपमा स्थापित गर्ने दिशा तिर पनि अग्रसर बनाउँछ ।” नेपालगन्जको पौडी पोखरीमा तैरिँदै मात्र होइन, अब इतिहास र नयाँ उत्साह पनि जन्मिँदै छ, वरिष्ठ उपाध्यक्ष अधिकारीको दावी छ ।

त्यसका लागि नेपालगन्ज स्वीमिङ क्लबले नेपालगन्जबाट कम्तिमा २५ जना प्रशिक्षक तयार गर्ने पनि भएको छ । अघिल्ला दुई दिन स्वीमिङ प्रशिक्षक प्रशिक्षण आयोजना गरिंदैछ, अध्यक्ष न्यौपानेले भने, मिडिया अभिमुखिकरणबारे पनि योजना बनाइएको छ ।

Exit mobile version