आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

कार्तिक १४ र १५ गते नेपालगन्ज रंगशाला परिसर स्थित पौडी पोखरीमा आयोजना हुने नेपालगन्ज नेशनल स्वीमिङ्ग च्याम्पियनशीपको दोस्रो संस्करणको तयारीसँगै नेपालगन्ज स्वीमिङ्ग क्लबले आज र भोलि दुई दिने स्वीमिङ्ग प्रशिक्षक प्रशिक्षण आयोजना गर्दैछ । ‘च्याम्पियनशीपसँग पौडीका गतिविधि बढाउन विद्यालयका खेल शिक्षकहरू समेतलाई सहभागिता जनाउने गरी प्रशिक्षण आयोजना गरिएको हो’, क्लब अध्यक्ष केशव न्यौपानेले भने, ‘बुधबार र बिहीबार नेपाल पौडी संघका प्राविधिक प्रतिनिधिहरूले प्रशिक्षण दिनुहुनेछ ।’ त्यसका लागि प्रशिक्षक विष्णु खड्का, अनिश महर्जन र दिपक सागर सिंह सहितको टोली नेपालगन्ज आइसकेको छ ।

निकै कम पौडीका गतिविधि हुने गरेको नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरी बनाइएको छ । ‘यसलाई बर्षैभरी उपयोग हुने गरी नीतिगत व्यवस्था गरियोस् भन्नेमा पहल पनि गरिरहेका छौं’, क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले कार्यविधि बनाओस् भन्ने हाम्रो जोड छ । बाँकेमा चन्दुराम चौधरी, दिपक परियार लगायतका सीमित प्रशिक्षकले निजी क्षेत्रबाट तारे होटलमा बनेका पौडी पोखरी र विभिन्न संस्थागत विद्यालयले सञ्चालनमा ल्याएका पौडी पोखरीहरूमा प्रशिक्षण दिएर पौडीको प्रतियोगितात्मक गतिविधिलाई अगाडि बढाइरहेका छन् ।

‘राखेपका स्वीमिङ्ग प्रशिक्षक मार्फत नै हामी विद्यार्थीहरूलाई स्वीमिङ्ग खेलमा प्रशिक्षित गराउन चाहन्छौं’, खेलकुद विकास समितिका प्रमुख महेश चन्द भन्छन्, ‘अहिलेसम्मको अभ्यासबाट नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा आकर्षण कायम हुन नसकेकाले कार्यविधि नै बनाएर निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न आवश्यक देखिएको छ ।’ सिजन रहँदै दुई महिना अघि देखि नै नेपालगन्ज रंगशालाको पौडी पोखरी बन्द अवस्थामा छ । जसले गर्दा कार्तिक १४ र १५ गते आयोजना हुने राष्ट्रिय प्रतियोगिताका लागि आयोजक नेपालगन्ज स्वीमिङ्ग क्लबले नै पोखरी सरसफाईको दायित्व निर्वाह गर्नुपरिरहेको वरिष्ठ उपाध्यक्ष अधिकारीको भनाइ छ ।

प्रतियोगिता अन्तिम तयारीको जानकारी दिन आज बुधबार पत्रकार सम्मेलन गर्न लागेको क्लबले सहभागी पत्रकारहरूलाई स्वीमिङ्ग खेल रिपोटिङ्ग सम्बन्धी अभिमूखिकरण पनि गर्ने क्लब सदस्य कृष्ण अधिकारीले जानकारी दिए । प्रतियोगिताका लागि देशभरबाट झण्डै दुई सय खेलाडी सहभागी हुने अपेक्षा र सोही अनुसारको तयारी आयोजकले गरिरहेको अधिकारीको भनाइ छ ।

Exit mobile version