भारतले आफ्नो फराकिलो राजधानी नयाँदिल्लीमा क्लाउड सिडिङ अर्थात् कृत्रिम वर्षा प्रयोगमार्फत वायु प्रदूषण नियन्त्रण गर्न गरेको प्रयास असफल भएको देखिएको छ । वैज्ञानिक र वातावरणीय अभियानकर्मीहरूले यस कदमको प्रभावकारिता र औचित्यमाथि प्रश्न उठाएका छन् । क्लाउड सिडिङमा विमानबाट बादलमा सिल्भर आयोडाइड र नुनजस्ता कणहरू छर्काइन्छ, जसले वर्षा निम्त्याएर वायुमण्डलका प्रदूषकहरूलाई पखाल्ने अपेक्षा गरिन्छ । दिल्ली सरकारले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा गत हप्ता सहरका केही क्षेत्रमा सेस्ना विमान प्रयोग गरी परीक्षण सुरु गरेको थियो । तर पातलो बादलका कारण पहिलो परीक्षणबाट अपेक्षित परिणाम नआएपछि अत्यन्त न्यून मात्र वर्षा भएको जनाइएको छ । वातावरणीय अभियानकर्मी भावरीन कान्धारीका अनुसार यस्तो प्रविधि ‘भ्रमपूर्ण’ हो । उहाँले भन्नुभयो, “यसले कहिल्यै काम गर्दैन । जबसम्म हामी वायु प्रदूषणका वास्तविक स्रोतहरू हटाउँदैनौँ, तबसम्म समस्या समाधान हुँदैन ।” स्थानीय सञ्चारमाध्यमका अनुसार यस परीक्षणमा सरकारले करिब तीन लाख ६४ हजार अमेरिकी डलर खर्च गरेको छ । हरेक जाडोमा बाक्लो धुवाँले दिल्ली र यसका करिब तीन करोड बासिन्दालाई घेरिरहेको हुन्छ । चिसो मौसममा खेतमा आगो लगाउने, कारखानाबाट निस्किने धुवाँ र सवारीसाधनका उत्सर्जनले वायुमण्डललाई विषाक्त बनाउँछ । सवारीसाधनमा प्रतिबन्ध, धुवाँ सोस्ने टावर र कुहिरो छर्किने ट्रकजस्ता प्रयासहरूका बावजुद पनि दिल्लीको हावाको गुणस्तर विश्वका राजधानीहरूमध्ये सबैभन्दा खराब अवस्थामा रहेको छ । पछिल्लो परीक्षणको भोलिपल्ट मात्रै क्यान्सर उत्पन्न गर्ने सूक्ष्म कण एः २.५ को स्तर ३२३ पुगेको थियो । यो विश्व स्वास्थ्य सङ्गठनले तोकेको दैनिक सीमा भन्दा करिब २० गुणा बढी हो । विशेषज्ञहरूले यस अवस्थालाई आगामी दिनमा अझ बिग्रिने अनुमान गरेका छन् । सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको अध्ययन द ल्यान्सेट प्लानेटरी हेल्थ पत्रिकामा प्रकाशित छ । यसबीच, क्लाउड सिडिङमा प्रयोग गरिएका रसायनहरूको दीर्घकालीन प्रभावबारे पनि चिन्ता व्यक्त गरिएको छ । अमेरिकी वातावरणीय संरक्षण एजेन्सीका अनुसार सीमित अध्ययनले सिल्भर आयोडाइडले गम्भीर स्वास्थ्य जोखिम उत्पन्न नगरेको देखाए पनि यसको व्यापक प्रयोगका दीर्घकालीन असरहरू अझै अज्ञात छन् । वातावरणीय विज्ञहरूका अनुसार क्लाउड सिडिङले वर्षा गराउन सफल भए पनि यसको प्रभाव अत्यन्तै अल्पकालीन हुन्छ । कर्नेल विश्वविद्यालयका जलवायु वैज्ञानिक डेनियल भिजनीले भन्नुभयो, “यदि हावामा पर्याप्त आद्र्रता छैन भने यो प्रविधिले वर्षा उत्पन्न गर्न सक्दैन । यसले वर्षालाई एक ठाउँमा केन्द्रित गर्न सक्छ, तर प्रदूषण हटाउने स्थायी उपाय होइन ।” उहाँका अनुसार प्रदूषण घटाउने एकमात्र विवेकपूर्ण उपाय भनेको जीवाश्म इन्धनको दहन कम गर्नु हो । दिल्लीका सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का वीरेन्द्र सचदेवले भने यस प्रयासलाई असफल भनेर खारेज गर्न हतार नगर्न आग्रह गर्नुभयो । उहाँका अनुसार यो अनुसन्धान प्रक्रियाको हिस्सा हो । सफलता सधैँ पहिलो प्रयासमै पाइँदैन । तर आइआइटी दिल्लीका वायुमण्डलीय वैज्ञानिक शाहजाद गनी र कृष्ण अच्युतरावले भने क्लाउड सिडिङ योजनालाई ‘विज्ञानको गलत प्रयोग र नैतिकताको बेवास्ता गरिएको उदाहरण’ भन्नुभएको छ । दिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इन्भाइरनमेन्टका विज्ञ मोहन जर्जले पनि कृत्रिम वर्षा कुनै दीर्घकालीन समाधान नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा रोकिएपछि प्रदूषण फेरि उस्तै स्तरमा पुग्छ ।” सन् १९४० को दशकमा पहिलोपटक विकसित गरिएको क्लाउड सिडिङ प्रविधि विश्वका विभिन्न देशहरूमा वर्षा गराउन, कुहिरो हटाउन र खडेरी घटाउन प्रयोग गरिँदै आएको छ, तर परिणाम प्रायः मिश्रित नै देखिएका छन् । चीनले पनि सन् २००८ को बेइजिङ ओलम्पिकका क्रममा मौसम नियन्त्रणको प्रयासस्वरूप यस प्रविधिको प्रयोग गरेको थियो । गनी र अच्युतरावका अनुसार दिल्लीको प्रदूषणका कारणहरू अनियन्त्रित उत्सर्जन र मौसमी बाली जलाउने प्रमुख कारण हुन् भन्ने सबैलाई थाहा छ । समाधान पनि स्पष्ट छ—स्वच्छ इन्धनको प्रयोग, सशक्त फोहोर व्यवस्थापन र नियमको कडा कार्यान्वयन । तर उहाँहरू भन्नुहुन्छ, “यी प्राथमिकताहरूले बलियो बनाउनुको सट्टा वैज्ञानिक समुदायका केही भागहरू र संस्थाहरूले सङ्कटको मूल स्रोतलाई सम्बोधन नगरी थोरै मात्र काम गर्ने महँगो दृश्यलाई विश्वसनीयता दिइरहेका छन् ।” –––
दिल्लीको वायु प्रदूषण नियन्त्रणमा भारतको ‘महँगो प्रयोग’ असफल
- Dainik Nepalgunj

- Categories: World
Related Content
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु
by
Dainik Nepalgunj
February 17, 2026
ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना
by
Dainik Nepalgunj
February 15, 2026
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा
by
Dainik Nepalgunj
January 21, 2026
मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप
by
Dainik Nepalgunj
January 4, 2026
सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण सङ्कटमा
by
Dainik Nepalgunj
December 22, 2025